कहिलेकाहीँ सन्तुलित खानेकुरा खाँदाखाँदै पनि पोषण नपुगेको जस्तो महसुस हुन सक्छ। लगातार नै पोषण नपुगेको जस्तो, शरीरमा ऊर्जा नभएको वा शरीर भारी भएको जस्तो भएमा स्वास्थ्यमा सजगता अपनाउन आवश्यक छ।
आहारविद् एवं जीवनशैली तथा योग प्रशिक्षक डा. राजु अधिकारीका अनुसार खाना खानेबित्तिकै मानिसबाट धेरै खालका गल्ती हुन सक्छन्, जसले फाइदा पुर्याउनुको साटो शरीरलाई हानि गरिरहेका हुन्छन्।
खानालगत्तै धेरै पानी पिउने, फलफूल खाइहाल्ने, धूम्रपान गर्ने, नुहाउने, कडा शारीरिक गतिविधि गर्ने तथा सुत्ने बानीले हाम्रो शरीरमा नकारात्मक असर गरिरहेको हुन्छ।
खानालगत्तै गरिने यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर:
सुत्ने वा ढल्किने: खाना खाएलगत्तै सुत्दा खाना राम्ररी पच्दैन; अमिलो डकार आउने र छाती पोल्ने समस्या हुन्छ।
चिया वा कफी पिउने: यसमा हुने तत्त्वले खानाबाट शरीरले सोस्नुपर्ने फलाम (आइरन) तत्त्वलाई नष्ट गर्छ।
फलफूल खाने: खानासँगै वा लगत्तै फलफूल खाँदा पेटमा ग्यास बन्ने र अपच हुने समस्या देखा पर्छ।
धेरै पानी पिउने: खाना खानेबित्तिकै धेरै पानी पिउँदा पाचन रस (डाइजेक्टिभ जुस) पातलिन्छ र खाना पच्न गाह्रो हुन्छ।
नुहाउने: खाना खाएलगत्तै नुहाउँदा शरीरको रक्तसञ्चार छालातिर केन्द्रित हुन्छ, जसले पेटको पाचन क्रियालाई ढिलो बनाउँछ।
चुरोट वा मदिरा सेवन गर्ने: यसले कलेजो र सम्पूर्ण पाचन प्रणालीमा अत्यन्तै नराम्रो असर पुर्याउँछ।