काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतका विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपतिहरु नियुक्त भएका छन्।
प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले स्वास्थ्यका ६ वटा प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पदमा सिफारिस समितिले गरेको सिफारिस अनुसार उपकुलपति नियुक्त गरेका हुन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा डा. विवेक आचार्य नियुक्त भएका छन्। डा आचार्य वीर अस्पतालमा कार्यरत क्यान्सर रोग विशेषज्ञ हुन्।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. नवीसमान सिंह प्रधान नियुक्त भएका छन्। डा प्रधान पाटन अस्पतालमा नै कार्यरत अर्थोपेडिक्स सर्जन हुन्।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. स्मृति कार्की नियुक्त भएका छन्। डा कार्की प्रतिष्ठानमा कार्यरत प्याथोलोजिष्ट हुन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. नारायणसिंह गुरुङ नियुक्त भएका छन्। डा गुरुङ प्रतिष्ठानको जनरल प्राक्टिस तथा इमर्जेन्सी विभागमा कार्यरत थिए।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलतिमा डा. सूर्यमान म्याहाङम्बो नियुक्त भएका छन्। जनर्ल सर्जन डा सूर्यमान लामो समय प्रतिष्ठानमा काम गरेर डेढ वर्ष अघि राप्ती प्रतिष्ठान गएका थिए।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. अजयकुमार मिश्र नियुक्त भएका छन्। डा मिश्र मुटुरोग विशेषज्ञ हुन्।
उपकुलपति नियुक्तिका लागि सरकारले 'छनोट तथा सिफारिस समिति'ले गठन गरेको थियो। समितिले 'स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३' बनाएर आवश्यक प्रक्रिया अगाडि बढाएको थियो।
समितिले उपकुलतिका लागि जेठ ४ गते सूचना प्रकाशन गर्दै आवेदन माग गरेको थियो। उपकुलपतिका लागि ११३ जनाले आवेदन दिएका थिए। आवेदन दिएकाहरुको दरखास्तहरूको मूल्यांकन गरी अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि समितिले प्रत्येक प्रतिष्ठानमा ७ जनाको दरले ४२ जनाको प्रारम्भीक सूची सार्वजनिक गरेको थियो।