च्याउ जति स्वादिलो हुन्छ, यो स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक हुन्छ। च्याउको सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रा सन्तुलित बनाउनेदेखि लिएर स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सरको जोखिम कम गर्ने र मधुमेहको खतरालाई घटाउने विभिन्न अध्ययनहरूले देखाएका छन्।
मोटोपन घटाउनदेखि लिएर शरीरको रोग प्रतिरोधी क्षमता बढाउनमा पनि च्याउ सहयोगी हुने पोषणविद् केपी लम्साल बताउँछन्।
उनका अनुसार च्याउ स्वास्थ्यका लागि अत्यन्तै लाभदायक र पोषक तत्त्वले भरिपूर्ण खानेकुरा हो। यसमा पर्याप्त मात्रामा भिटामिन 'बी', फाइबर, पोटासियम र एन्टिअक्सिडेन्टहरू पाइन्छन्, जसले शरीरलाई विभिन्न रोगहरूबाट जोगाउन मद्दत गर्छन्।
स्वास्थ्यका लागि च्याउका मुख्य फाइदाहरू:
रोग प्रतिरोधात्मक क्षमता बढाउने: च्याउमा एर्गोथियोनाइन जस्ता शक्तिशाली एन्टिअक्सिडेन्ट र प्राकृतिक एन्टिबायोटिक गुण हुन्छन्, जसले शरीरको प्रतिरोधी क्षमता (इम्युनिटी) बढाउन मद्दत गर्छन्।
रक्तचाप नियन्त्रण गर्ने: यसमा पोटासियम बढी र सोडियम कम हुने भएकाले यसले रक्तचाप नियन्त्रण गर्न र मुटुलाई स्वस्थ राख्न सहयोग पुर्याउँछ।
तौल घटाउन सहयोगी: च्याउमा उच्च प्रोटिन, प्रशस्त फाइबर र कम क्यालोरी/कोलेस्ट्रोल हुन्छ। यसले धेरै समयसम्म पेट भरिएको महसुस गराई मोटोपन नियन्त्रण गर्न मद्दत गर्छ।
रक्तअल्पताबाट बचाउने: च्याउमा पाइने आइरन र कपरले शरीरमा रगतको कमी हुन दिँदैन। तसर्थ, रक्तअल्पता (एनिमिया) का बिरामीका लागि यो निकै उपयोगी छ।
क्यान्सरको जोखिम कम गर्ने: विभिन्न अनुसन्धानका अनुसार च्याउको नियमित सेवनले क्यान्सर जस्ता प्राणघातक रोगको जोखिमलाई न्यूनीकरण गर्न सघाउँछ।
ऊर्जा र मानसिक स्वास्थ्य: यसमा पाइने भिटामिन 'बी' ले खानालाई ऊर्जामा बदल्न र स्नायु प्रणालीलाई स्वस्थ राख्न महत्त्वपूर्ण भूमिका खेल्छ।