काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिव पदका आवेदक डा. प्रमोद जोशीले आफ्नो अनुसन्धानका विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका समाचारहरूको खण्डन गर्दै स्पष्टीकरण दिएका छन्।
आफूले परिषद्को इथिकल स्वीकृति नलिई अनुसन्धान गरेको भन्ने दाबी तथ्यहीन र भ्रामक भएको बताउँदै डा. जोशीले 'Hospital Stay of Orthopedic cases in a Tertiary Care Hospital: A Descriptive Cross-sectional study' शीर्षकको अनुसन्धान परिषद्को इथिकल रिभ्यु बोर्डबाट २२ डिसेम्बर २०२० मा स्वीकृति लिएर मात्र सञ्चालन गरिएको जानकारी दिएका छन्।
उनले आधिकारिक अभिलेख अध्ययन नगरी र सम्बन्धित पक्षसँग तथ्य नजानी प्रकाशित भएका समाचारले आफ्नो व्यावसायिक प्रतिष्ठामा आघात पुर्याएको भन्दै आपत्ति जनाएका छन्। सत्य, तथ्य र प्रमाणमा आधारित भई समाचार सम्प्रेषण गर्न समेत उनले सरोकारवाला तथा सञ्चारमाध्यमहरूलाई आग्रह गरेका छन्।
डा. प्रमोद जोशीद्वारा जारी तथ्यगत स्पष्टीकरणको पूर्ण पाठ:
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को इथिकल स्वीकृतिसम्बन्धी तथ्यगत स्पष्टिकरण
हाल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिव पदका लागि मेरो आवेदनसँग सम्बन्धित विषयमा एक अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित/प्रसारित सामग्रीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। सार्वजनिक भएका केही समाचारमा तथ्यपरक पुष्टि नगरी मेरो अनुसन्धानसँग सम्बन्धित भ्रामक तथा अपुष्ट दाबी गरिएको देखिएकाले निम्न तथ्यहरू स्पष्ट गर्न चाहन्छु।
१. मैले Hospital Stay of Orthopedic cases in a Tertiary Care Hospital: A Descriptive Cross-sectional study शीर्षकको अनुसन्धान नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को इथिकल रिभ्यु बोर्डबाट २२ डिसेम्बर २०२० मा विधिवत् इथिकल स्वीकृति (Ethical Approval) प्राप्त गरेपछि मात्र सञ्चालन गरेको हुँ।
२. उक्त इथिकल स्वीकृतिको आधिकारिक अभिलेख नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सुरक्षित रहेको छ र आवश्यक परे सम्बन्धित निकायबाट पुष्टि गर्न सकिन्छ।
३. मैले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को इथिकल स्वीकृतिबिना अनुसन्धान गरेको वा सेती अस्पतालबाट मात्र स्वीकृति लिएर अनुसन्धान सम्पन्न गरेको भन्ने दाबी तथ्यहीन, भ्रामक तथा सार्वजनिक अभिलेखसँग मेल नखाने विषय हो।
४. नेपाल स्वास्थ्य अनुसन्धान परिषद् नेपालमा स्वास्थ्य अनुसन्धानको नियामक निकाय हो। स्वास्थ्य अनुसन्धानसम्बन्धी स्थापित कानुनी तथा नैतिक मापदण्डको पूर्ण पालना गर्दै नै मेरो अनुसन्धान सम्पन्न भएको हो।
५. तथ्य परीक्षण नगरी वा सम्बन्धित पक्षसँग कुनै जानकारी नलिई प्रकाशित/प्रसारित भएका समाचारले मेरो व्यावसायिक प्रतिष्ठा र व्यक्तिगत चरित्रमाथि अनावश्यक प्रश्न उठाउने प्रयास गरेको महसुस गरेको छु।
६. त्यसैले सम्बन्धित सञ्चारमाध्यम तथा सरोकारवाला सबैलाई कुनै पनि सूचना वा आरोप सार्वजनिक गर्नुअघि आधिकारिक अभिलेख र प्रमाणको अध्ययन गरी तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न हार्दिक अनुरोध गर्दछु।
७. मेरो अनुसन्धानसम्बन्धी कुनै जिज्ञासा वा शंका भए नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आधिकारिक अभिलेखबाट सत्यतथ्य पुष्टि गर्न सकिनेछ।
सत्य, तथ्य र प्रमाणमा आधारित पत्रकारिताले मात्र नागरिकको सूचना पाउने अधिकारको सम्मान गर्ने विश्वासका साथ यो स्पष्टिकरण सार्वजनिक गरेको छु।
डा. प्रमोद जोशी