गोरखामा प्रत्येक वर्ष विभिन्न किसिमका महामारी जस्तै- बाढी, पहिरो, सिजनल फ्लु, कोभिड-१९, डेंगु, मलेरिया जस्ता विपद्हरूबाट व्यापक रूपमा जनधनको क्षति हुँदै आएको छ। यी घटनाहरूबाट धेरैको अकालमा ज्यान जानुका साथै ठूलो मात्रामा भौतिक एवं प्राकृतिक क्षति हुने गरेको छ।
बदलिँदो जीवनशैली, असन्तुलित आहार र शारीरिक निष्क्रियतासँग जोडिएका उच्च रक्तचाप, मधुमेह, मुटुरोग तथा मानसिक समस्या बढ्दै गएको कुरा गोरखा जिल्लामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरिएको मधुमेह, उच्च रक्तचाप, रक्तअल्पता, मानसिक समस्या तथा अन्य नसर्ने रोगको स्क्रिनिङ कार्यक्रमपश्चात् गरिएको तथ्यांक विश्लेषणले देखाएको छ। यसबाट नसर्ने रोग तथा मानसिक रोगको अवस्था गम्भीर बन्दै गएको प्रस्ट हुन्छ।
प्रदेश जनस्वास्थ्य कार्यालय, गोरखाको नेतृत्वमा प्रदेश अस्पताल, आँपपिपल अस्पताल, प्रदेश आयुर्वेद चिकित्सालय तथा गोरखाका स्थानीय तहहरूको सहकार्यमा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका स्थानहरूको छनोट गरी सो कार्यक्रम सञ्चालन गरिएको थियो। गोरखा जिल्लाको एउटा कारागारदेखि दुर्गम हिमाली गाउँ, कृषिप्रधान बस्ती हुँदै सहरनजिकको बजार क्षेत्रसम्म- यी सबैलाई अन्ततः एउटै धागोले जोडेको छ, त्यो हो नसर्ने रोगको मौन तर तीव्र फैलिँदो चुनौती।
यस कार्यक्रममा धार्चे गाउँपालिका-३ उहियामा ३६१ जना, गोरखा नगरपालिका-६ कारागारमा १०४ जना, बारपाक सुलिकोट गाउँपालिका-४ रन्चोकमा ३४५ जना, आरुघाट गाउँपालिका-६ अलैचेमा ५२७ जना तथा पालुङटार नगरपालिका-१ खोप्लाङमा २४७ जना गरी जम्मा १,५८४ जनामा स्क्रिनिङ गरिएको थियो। यस कार्यक्रममा रक्त नमुना सङ्कलन गरी सिबिसी, ब्लड सुगर, क्रियटिनन्, एसजिपिटी, एसजिओटी, लिपिड प्रोफाइल, युरिन परीक्षण गरिनुका साथै रक्तचाप, तौल-उचाइ जस्ता क्लिनिकल परीक्षण गरिएका थिए। यसका साथै प्रश्नपत्र तयार गरी मनोसामाजिक परामर्शकर्तामार्फत धूम्रपान, मद्यपान, शारीरिक गतिविधि, आहार बानी, योग तथा ध्यान अभ्यास र स्वास्थ्य बिमाको पहुँचसम्बन्धी जानकारी तथा चिन्ता (एन्जाइटी) र डिप्रेसनको लक्षण पहिचान गरिएको थियो।
हरेक चार-पाँचमध्ये एक जना उच्च रक्तचापबाट प्रभावित
कार्यक्रममा सहभागीमध्ये १,३२९ जनाको रक्तचाप परीक्षण गरिएको थियो। अध्ययनको सबैभन्दा महत्त्वपूर्ण निष्कर्ष भनेको २३.७% (३१५ जना) मा उच्च रक्तचाप भेटिनु हो। यसमा चिन्ताको विषय के छ भने धेरैलाई आफूलाई उच्च रक्तचाप भएको जानकारीसमेत थिएन। नियमित स्वास्थ्य परीक्षण नगर्ने प्रवृत्तिका कारण धेरै मानिसहरू रोग बढेपछि मात्रै अस्पताल पुग्ने अवस्था रहेको देखिन्छ। यो समस्या गोरखा कारागारमा रहेका बन्दीहरूमा उच्च रहेको पाइयो।
हरेक तीनमध्ये एक जना मधुमेहको जोखिममा
मधुमेह परीक्षणले पनि गम्भीर अवस्था देखाएको छ। कार्यक्रममा सहभागीमध्ये १,५१९ जनाको मधुमेह परीक्षण गरिएकोमा १००-१२५ mg/dl भित्रका प्रिडाइबेटिज २५.४७% (३८७ जना) र >१२५ mg/dl रहेका डाइबेटिज ८.१६% (१२४ जना) देखिएका छन्। आरुघाट गाउँपालिकाको अलैचेमा प्रिडाइबेटिज र डाइबेटिजको अवस्था सबैभन्दा बढी देखिएको छ। बदलिँदो खानपान तथा जीवनशैली यसको मुख्य कारण मान्न सकिन्छ।
बढ्दो मोटोपनको समस्या
तौल बढ्नु केवल शारीरिक बनावटको विषय मात्र होइन, यसले उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल वृद्धि, मुटुरोग तथा क्यान्सरको जोखिमसमेत बढाउने गर्दछ। कार्यक्रममा सहभागीमध्ये १,३३४ जनाको बिएमआई परीक्षणमा ३२.२३% (४३० जना) मा बढी तौल देखिएको थियो, जसमध्ये ६.४४% (८६ जना) मा मोटोपन नै रहेको पाइयो।

प्रत्येक क्षेत्रको समस्या फरक
कार्यक्रमको एउटा विशेष उपलब्धि भनेको प्रत्येक क्षेत्रको स्वास्थ्य अवस्था फरक-फरक रहेको पुष्टि गर्नु हो। प्रत्येक ठाउँले आफ्नै किसिमको स्वास्थ्य चुनौती बोकेको देखिन्छ, जसले "एकल समाधान सबैलाई लागू हुँदैन" भन्ने पाठ सिकाउँछ।
कारागार: गोरखा नगरपालिकास्थित कारागारमा गरिएको स्क्रिनिङले नसर्ने रोगको सबैभन्दा उच्च जोखिम र सबैभन्दा चिन्ताजनक अवस्था देखायो। विशेषगरी अधिकांश बन्दीलाई आफूलाई उच्च रक्तचाप भएको जानकारीसमेत नभएको पाइयो, जसले "मौन रोगी"हरूको ठूलो सङ्ख्या रहेको संकेत गर्छ। कारागार चलान हुनुअघि नै धूम्रपान, मद्यपान र मानसिक तनावको जोखिममा रहेका व्यक्तिहरू बन्द वातावरण, स्वतन्त्रताको अभाव, सीमित शारीरिक गतिविधि तथा नियमित स्वास्थ्य परीक्षण र सेवाको अपर्याप्त पहुँचका कारण झन् बढी जोखिममा परेको देखिन्छ। यसले कारागारमा नियमित नसर्ने रोग स्क्रिनिङ, मानसिक स्वास्थ्य सेवा, स्वास्थ्य परामर्श तथा स्वस्थ जीवनशैली प्रवर्द्धनका कार्यक्रमलाई उच्च प्राथमिकताका साथ सञ्चालन गर्नुपर्ने आवश्यकता स्पष्ट रूपमा देखाउँछ।
अलैचे: आरुघाट गाउँपालिकाको अलैचेमा गरिएको स्क्रिनिङले भने फरक चुनौती देखायो। यहाँका सहभागीहरूको औसत उमेर सबैभन्दा बढी रहेको र अधिकांश कृषि पेसामा आबद्ध रहेको देखियो। अध्ययनमा झन्डै आधा सहभागी प्रिडाइबेटिज वा डाइबेटिजको दायरामा परेकाले मधुमेहको जोखिम सबैभन्दा गम्भीर देखिएको छ, जसको सम्भावित कारण उमेर वृद्धि र कार्बोहाइड्रेटयुक्त परम्परागत आहार हुन सक्छ। तर, शारीरिक स्वास्थ्यमा यस्तो चुनौती देखिए पनि यहाँ मानसिक स्वास्थ्य भने सबैभन्दा राम्रो पाइयो; जसले ग्रामीण समुदायको बलियो पारिवारिक तथा सामाजिक सम्बन्धले मानसिक स्वास्थ्य संरक्षणमा सकारात्मक भूमिका खेल्न सक्ने सम्भावनालाई संकेत गर्दछ।
रन्चोक: बारपाक सुलिकोट गाउँपालिकाको रन्चोकमा गरिएको स्क्रिनिङले श्वासप्रश्वाससम्बन्धी रोग (सिओपिडी/दम) को समस्या सबैभन्दा बढी रहेको देखायो। यहाँ शारीरिक व्यायाम कहिल्यै नगर्ने व्यक्तिको अनुपात पनि सबैभन्दा उच्च थियो। परम्परागत चुलोबाट निस्कने धुवाँ, घरभित्रको वायु प्रदूषण, शारीरिक निष्क्रियता तथा ग्रामीण जीवनशैलीका कारण सिओपिडी/दमको जोखिम बढेको हुन सक्ने देखिन्छ। यसले ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको पहुँच विस्तार, धुवाँरहित चुलोको प्रयोग र नियमित शारीरिक गतिविधि प्रवर्द्धन गर्नुपर्ने आवश्यकतालाई स्पष्ट रूपमा उजागर गर्दछ।
उहिया: हिमाली धार्चे गाउँपालिकाको उहियामा गरिएको स्क्रिनिङले नसर्ने रोगको दर तुलनात्मक रूपमा कम देखाए पनि कम तौलको समस्या भने बढी रहेको देखायो। उच्च उचाइ, चिसो हावापानी तथा सन्तुलित पोषणको सीमित पहुँचका कारण यस्तो अवस्था देखिएको हुन सक्ने अनुमान गर्न सकिन्छ। यसले हिमाली क्षेत्रमा नसर्ने रोगसँगै कुपोषणको समस्यालाई पनि समान प्राथमिकताका साथ सम्बोधन गर्ने पोषण सुधार कार्यक्रमको आवश्यकता औँल्याउँछ।
खोप्लाङ: पालुङटार नगरपालिकाको खोप्लाङमा गरिएको स्क्रिनिङले कोलेस्ट्रोलको समस्या र जंक फुडको सेवन तुलनात्मक रूपमा बढी रहेको देखायो। सहरनजिकको जीवनशैली र प्रशोधित खाद्य पदार्थको बढ्दो उपभोगले भविष्यमा हृदय तथा रक्तनलीसम्बन्धी रोगको जोखिम बढाउन सक्ने संकेत गरेको छ। यद्यपि, यस क्षेत्रमा स्वास्थ्य बिमाको पहुँच भने राम्रो देखिएको छ।
यी क्षेत्रगत भिन्नताले गोरखामा नसर्ने रोगको समस्या एउटै प्रकृतिको नभई स्थानअनुसार फरक-फरक रहेको स्पष्ट पार्छन्। कारागारमा उच्च रक्तचाप र मानसिक स्वास्थ्य, अलैचेमा मधुमेह, रन्चोकमा श्वासप्रश्वाससम्बन्धी रोग, उहियामा कुपोषण तथा कम रक्तचाप, र खोप्लाङमा कोलेस्ट्रोल तथा अस्वस्थ आहार मुख्य चुनौतीका रूपमा देखिएका छन्। त्यसैले गोरखामा नसर्ने रोगको प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि सबै क्षेत्रमा एउटै कार्यक्रम लागू गर्नुको सट्टा स्थानीय आवश्यकता र जोखिमअनुसार रणनीति अवलम्बन गरी कार्यक्रम सञ्चालन गर्न सकेमा प्रभावकारी हुने देखिन्छ।
सामाजिक अवस्थाको विश्लेषण
नसर्ने रोगका जोखिमहरू जनसांख्यिक तथा सामाजिक अवस्थाअनुसार फरक-फरक रहेको देखिएको छ। पुरुषमा धूम्रपान, मद्यपान र उच्च रक्तचापको समस्या उल्लेख्य रूपमा बढी देखिए भने महिलामा मोटोपनको दर बढी पाइयो। अशिक्षाको दर बढी भएका समुदायमा जोखिम कारक र नसर्ने रोगको व्यापकता पनि उच्च देखिएकाले स्वास्थ्य साक्षरता नै रोग रोकथाम र नियन्त्रणको प्रमुख आधार रहेको स्पष्ट हुन्छ। त्यसैगरी, उमेर बढ्दै जाँदा रक्तचाप र मधुमेहको समस्या बढ्ने प्रवृत्ति देखिएको छ; विशेषगरी वृद्ध जनसंख्या बढी रहेको क्षेत्रमा यो जोखिम अझ स्पष्ट रूपमा देखा परेको छ।
मानसिक स्वास्थ्य र नसर्ने रोग बीचको सम्बन्ध
यी दुई समस्या एकअर्कासँग नजिकबाट सम्बन्धित रहेको पाइएको छ। मध्यमदेखि गम्भीर चिन्ता र डिप्रेसनका लक्षण विशेषगरी कारागार र रन्चोक क्षेत्रमा बढी देखिए, जहाँ धूम्रपान, मद्यपान तथा शारीरिक निष्क्रियताजस्ता जोखिम कारक पनि उच्च थिए। यसले मानसिक स्वास्थ्य समस्या र नसर्ने रोगले एकअर्कालाई थप जटिल बनाउने संकेत गर्दछ।
विपरीत रूपमा, अलैचेमा शारीरिक स्वास्थ्य जोखिम उच्च भए पनि मानसिक स्वास्थ्य तुलनात्मक रूपमा राम्रो देखिएकाले पारिवारिक तथा सामुदायिक सहयोगले मानसिक स्वास्थ्य संरक्षणमा सकारात्मक भूमिका खेल्न सक्ने सम्भावना देखिएको छ। यस अध्ययनले नसर्ने रोगको प्रभावकारी रोकथाम र व्यवस्थापनका लागि शारीरिक र मानसिक स्वास्थ्य सेवालाई एकीकृत रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएको छ।
जीवनशैली, स्वास्थ्य प्रणाली र अवसर
अध्ययनले धूम्रपान, मद्यपान, अस्वस्थ खानपान, व्यायामको कमी र स्वास्थ्यसम्बन्धी जानकारीको अभावले नसर्ने रोग बढाइरहेको देखाएको छ। नियमित स्वास्थ्य परीक्षण, स्वास्थ्य बिमाको पहुँच र उपचार सेवामा अझ सुधार गर्न आवश्यक छ।
सकारात्मक पक्षका रूपमा स्थानीय तहमा सञ्चालन भएका स्वास्थ्य शिविर, स्वास्थ्य शिक्षा र समयमै रोग पहिचान गर्ने प्रयास प्रभावकारी देखिएका छन्। यी अभ्यासलाई निरन्तरता दिँदै स्वस्थ जीवनशैली अपनाउन र नियमित स्वास्थ्य परीक्षणलाई प्रोत्साहन गर्न सके नसर्ने रोगको भार घटाउन मद्दत पुग्नेछ।
गोरखामा नसर्ने रोग सहरमा मात्र सीमित नभई गाउँ, हिमाल र विशेष समुदायसम्म फैलिएको तथा प्रत्येक क्षेत्रका स्वास्थ्य चुनौती फरक-फरक रहेको स्पष्ट देखिएको छ। त्यसैले प्रभावकारी नियन्त्रणका लागि स्थानीय आवश्यकतानुसार योजना, नियमित स्क्रिनिङ, समयमै उपचार र दीर्घकालीन फलो-अप प्रणालीलाई सुदृढ बनाउन आवश्यक छ। साथै, मानसिक स्वास्थ्य सेवालाई प्राथमिक स्वास्थ्य सेवासँग एकीकृत गर्ने, स्वास्थ्य बिमाको पहुँच विस्तार गर्ने, स्वास्थ्य साक्षरता अभिवृद्धि गर्ने र स्वस्थ जीवनशैली प्रवर्द्धनलाई प्राथमिकतामा राख्ने नीतिगत सुधार अपरिहार्य छन्। समयमै यस्ता उपाय कार्यान्वयन गर्न सके नसर्ने रोगको भार उल्लेख्य रूपमा घटाई स्वस्थ समुदाय निर्माण गर्न सकिन्छ।
सन्तुलित आहार, नियमित शारीरिक व्यायाम, धूम्रपान र मद्यपानबाट टाढा रहने, तनाव व्यवस्थापन गर्ने तथा नियमित रूपमा रक्तचाप र मधुमेह जाँच गर्ने बानीले अधिकांश नसर्ने रोगबाट बच्न सकिन्छ। आजको स्वस्थ बानी नै भोलिको स्वस्थ जीवनको आधार हो।
-(नारायणबाबु अर्याल प्रदेश जनस्वास्थ्य कार्यालय, गोरखाका नसर्ने रोग कार्यक्रम संयोजक हुन्।)