२०८३ जेठ ११ गते सौगात एकेडेमीको बसबाट खसेर उदयपुर कटारीका सहचालक उत्तम थापाको मृत्यु भएपछि करिब बिहान ९:०० बजे मृतकलाई कटारी अस्पताल ल्याइएको थियो।
चिकित्सकले मृत घोषणा गरेपश्चात शवलाई बिहान १०:३० बजे पोस्टमार्टम कोठामा लगियो। अस्पतालका प्राविधिक विनोद कुँवरले नयाँ जडान गरिएको मर्चुरी फ्रिजमा शव राखेर मेसिन अन गर्दा फ्रिजबाट आवाज आई आगो बलेपछि फ्रिज चल्न सकेन। लगत्तै प्राविधिकले फ्रिज मर्मत गर्न सुरु गरे।
मृतकका केही आफन्त तथा व्यक्तिहरूले फ्रिज बिग्रिएको भन्दै प्रशासनमा गुनासोसमेत गरेका थिए। अस्पताल प्रशासन प्रमुख नवीन बस्नेतले प्राविधिकसँग बुझि फ्रिज बन्दै गरेको जानकारी आफन्तहरूलाई गराएका थिए।
तर, बाहिर भने 'फ्रिज बिग्रिएको अवस्थामा राखिएको, ३–४ घण्टामै शव गनाएर बस्न नसक्ने स्थिति भएको, प्रशासनले बेवास्ता गरेको तथा मेसु डा. गौरव साहले गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको' जस्ता तथ्यहीन हल्लाहरू फैलाइए। जबकि, त्यतिबेलासम्म मेसु (म) अस्पताल आइपुगेकै थिएन।
सामाजिक सञ्जालको एउटा पोस्ट र भ्रमको सुरुवात
मुख्य समस्या एउटा सामाजिक सञ्जालको पोस्टले निम्त्यायो। एक स्थानीय व्यक्तिले अस्पतालको व्यवस्थापकीय कमजोरी देखाउँदै दिउँसो १:३३ बजे सामाजिक सञ्जालमा पोस्ट गरे। उक्त पोस्टलाई स्थानीय समावेशी एफएमले अस्पतालसँग कुनै सोधपुछ र पुष्टि (Verification) नगरि 'अस्पतालको चरम लापरवाही' भन्दै समाचार बनाएर प्रसारण गरेपछि अस्पतालमा भीड बढ्न थाल्यो।
शवलाई पोस्टमार्टम कोठाबाट इमर्जेन्सीको गेटमा सारियो
केही व्यक्तिहरूद्वारा शवलाई प्रहरीको अनुमतिबिना नै पोस्टमार्टम कोठाबाट निकालेर आकस्मिक कक्ष (इमर्जेन्सी) को गेटमा सारियो। म (मेसु) अस्पताल आइपुग्दा आकस्मिक कक्षको अगाडि शव राखिएको देखेँ। भीडलाई सम्झाउन जाँदा त्यहाँ उपस्थित भीड पहिले नै आक्रोशित बनाइइसकेको रहेछ।
मैले 'मृतकको आफन्त को हुनुहुन्छ?' भनी सोध्दा राजकुमार थापा भन्ने व्यक्तिले आफू भएको बताए। मैले उहाँसँग एक्लै कुरा गर्न खोज्दा उनले मानेनन् र शवलाई 'यहीँ राखिदिऊँ' भन्ने अभिव्यक्ति दिए। त्यसपछि मैले 'यहाँ शव राख्न मिल्दैन, आकस्मिक कक्ष अगाडि राख्नुभयो भने अस्पतालको दैनिक काममा अप्ठ्यारो हुन्छ' भनेँ। उनीहरूले 'कहाँ राख्ने त?' भनी सोध्दा मैले 'प्रहरीलाई सोध्नुस्, अनि सबै शवको पोस्टमार्टम यहीँ हुनुपर्छ भन्ने छैन, शङ्का लागेमा बाहिर पनि रिफर गर्नुपर्ने हुन सक्छ' भनेको थिएँ, जुन कुरा भिडियोहरूमा पनि प्रष्ट सुनिन्छ। तर, यी सबै कुरालाई बङ्ग्याएर फरक ढङ्गले हल्ला फिँजाउँदै भीडलाई झन् आक्रोशित बनाउने प्रयास गरियो।
मेसुमाथि आक्रमणको प्रयास
त्यतिबेला केही व्यक्तिहरूले 'अस्पतालमा शव राख्न मिल्दैन तैँले भनेको हो? तैँले बनाएको अस्पताल हो? तेरो बाउको अस्पताल हो?' जस्ता गालीगलौजका शब्दहरू प्रयोग गरे। आक्रोशित रूपमा आएका उनीहरूलाई मैले 'आकस्मिक कक्षमा शव राख्न मिल्दैन मात्र भनेको हो' भन्दै सम्झाउन खोजेँ। त्यति हुँदा पनि म एकदमै संयमित थिएँ, किनकि मैले यो उचालिएको भीड हो भन्ने थाहा पाइसकेको थिएँ।
त्यसपछि म पोस्टमार्टम कक्षमा गएँ। केही व्यक्तिहरू कराउँदै त्यहाँसम्म पनि आइपुगे। त्यतिबेला आक्रोशित भीडलाई साम्य पार्न मैले 'पिटेर समस्या समाधान हुने भए मलाई पिट, बन्दुक हान' सम्म भनेको थिएँ। प्रहरीले भीडलाई नियन्त्रण गर्न बाहिर निकाल्न खोज्दा 'राजीनामा दे!, यसलाई बाहिर निकाल, अस्पतालमा आगो लगा, मुर्दाबाद' जस्ता नाराबाजी सुरु भयो।
भीड आक्रोशित भएपछि पर्खाल नाघेर भागेँ
अवस्था झनै जटिल भएपछि म पोस्टमार्टम कोठाकै पछाडिको ढोका र पर्खालबाट हाम फालेर बाहिर निस्किएँ र इलाका प्रहरी कार्यालयतिर लागेँ। अस्पतालका केही कर्मचारीले फोन गरेर 'मेसु सर, अहिले अस्पताल नआउनुस्, बाहिरै बस्नुस्' भनेपछि म दुधौली, भिमान हुँदै सिराहातिर लागेँ। उता आन्दोलनकारीहरूले नगरपालिका र इलाका प्रहरी कार्यालय पुगेर 'मेसुलाई नबोलाएसम्म पोस्टमार्टम गर्न नदिने' अडान राखे र त्यस दिन पोस्टमार्टम गर्न दिएनन्।
देशभरि घटना भाइरल
म (डा. गौरव) सँगको चर्काचर्कीको भिडियो देशभरि भाइरल भइसकेको थियो। तिनै व्यक्तिहरूले पटक–पटक मेरो मानहानि हुने गरी सामाजिक सञ्जालमा पोस्टहरू सेयर गरिरहेका थिए। रातको करिब १२:०० बजे मैले सामाजिक सञ्जालमार्फत नै 'अस्पताल नफर्किने' घोषणा गर्दै पोस्ट लेखेँ। यो घटना पूर्वयोजनाबद्ध र सुनियोजित भएको थाहा पाएपछि मैले त्यसको जानकारी फेसबुकमार्फत गराएको थिएँ। घटनालाई अतिरञ्जित बनाउने ३ जनाको फोटो तेस्रो दिन सार्वजनिक गर्दै मैले उनीहरूसँग जवाफसमेत मागेको थिएँ।
सर्वदलीय र सर्वपक्षीय बैठक
२०८३ जेठ २० गते अस्पताल विकास समितिले नेपाल चिकित्सक सङ्घका प्रतिनिधि, मन्त्रालयका प्रतिनिधि र पीडित परिवारसहित सर्वदलीय बैठक बस्ने निर्णय गर्यो। चिकित्सक सङ्घका तर्फबाट उपाध्यक्ष तथा कोशी प्रदेश संयोजक डा. रोशन खड्का आउनुभएको थियो। उहाँले चिकित्सकको सुरक्षा र ढुक्कसँग काम गर्ने वातावरण बनाउने विषयमा स्पष्ट धारणा राख्नुभयो।
उक्त छलफलमा मलाई पनि बोलाइएको थियो र म जेठ २० गते नै अस्पताल गएँ। छलफलमा सहभागी भएर मैले यथार्थ जानकारी गराएँ। त्यतिबेला पनि म (मेसु) ले बोल्दा तिनै व्यक्तिहरूले अवरोध गर्ने प्रयास गरेका थिए।
सर्वदलीय बैठकमा सङ्घीय सांसददेखि जनप्रतिनिधि, स्थानीय नेताहरू, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, स्थानीय बुद्धिजीवी र सरोकारवालाहरू सहभागी थिए। घटनाका विषयमा मैले सबै यथार्थ कुरा राखेपछि घटनालाई कसरी अतिरञ्जित गरिएको रहेछ भन्ने कुरा स्पष्ट भयो।
छलफलका क्रममा माननीयज्यूले 'कटारी अस्पताल कटारीको गहनाको रूपमा रहेको' बताउँदै घटनाप्रति दुःख व्यक्त गर्नुभयो र सबैको तर्फबाट माफीसमेत माग्नुभयो।
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा समाचार सम्प्रेषण गर्दा तथ्यको पुष्टि, सन्तुलन, संवेदनशीलता र सामाजिक उत्तरदायित्वलाई सञ्चार माध्यम तथा सञ्चारकर्मीहरूले विशेष ध्यान दिनुपर्ने हुन्छ। अपुष्ट, एकपक्षीय वा अतिरञ्जित समाचारले स्वास्थ्यकर्मीको मनोबलमा नकारात्मक असर पार्नुका साथै सार्वजनिक स्वास्थ्य सेवामाथि नै प्रतिकूल प्रभाव पार्न सक्ने भएकाले जिम्मेवार पत्रकारिताको अभ्यास आवश्यक देखिन्छ।
(कटारी अस्पतालका मेसु डा. साहले स्वास्थ्यखबरकर्मी लक्ष्मी चौलागाईंसँग गरेको कुराकानीमा आधारित)