काठमाडौं- चर्चित हास्य कलाकार तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रियापछि उनका सहकर्मी एवं नजिकका मित्र दीपकराज गिरीले उनको स्वास्थ्यका विषयमा जानकारी सार्वजनिक गरेका छन्।
गिरीले सामाजिक सञ्जाल फेसबुकमा दीपासँगै अस्पतालमा खिचेको तस्बिर राख्दै शल्यक्रिया सफल भएको र उनको स्वास्थ्यमा सुधार आइरहेको जानकारी दिएका हुन्।
गिरीका अनुसार सुटिङको क्रममा स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गर्दा दीपालाई ब्रेन ट्युमर भएको पत्ता लागेको थियो। निरौला हाल अन्नपूर्ण न्यूरो अस्पतालको सघन उपचार कक्ष (आईसीयू) बाट जनरल वार्डमा सारिएको र स्वास्थ्यलाभ गरिरहेको उनले बताएका छन्।
गिरीले सामाजिक सञ्जालमा यो साता आफूहरूका लागि निकै चुनौतीपूर्ण र कठिन रहेको उल्लेख गरेका छन्। सुटिङकै बीचमा दीपाश्रीलाई ब्रेन ट्युमर भएको थाहा पाएपछि आफूहरू अन्योलमा परेको उनको भनाइ छ।
'तुरुन्त शल्यक्रिया गर्नुपर्ने भयो। धेरै ठाउँबाट भारत जाने सल्लाह पाइयो,' गिरीले लेखेका छन्, 'तर अन्त्यमा नेपालकै अनुभवी डाक्टर बसन्त पन्तद्वारा शल्यक्रिया गर्ने निर्णय भयो।'
वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्त र उनको टोलीले अन्नपूर्ण न्यूरो अस्पतालमा निरौलाको शल्यक्रिया गरेको हो। 'भगवानको आशीर्वादले शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो,' गिरीले खुसी व्यक्त गर्दै लेखेका छन्।
पाँच दिनअघि अस्पताल भर्ना भएकी निरौलाको ट्युमर कस्तो प्रकृतिको हो (क्यान्सरयुक्त हो वा होइन) भन्ने यकिन गर्न भने बायोप्सीका लागि प्रयोगशालामा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको अस्पताल स्रोतले जनाएको छ।
गिरीले कठिन घडीमा आशीर्वाद दिने सम्पूर्ण दर्शक, शुभचिन्तक तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूलाई धन्यवाद समेत ज्ञापन गरेका छन्। दशकौँदेखि नेपाली हास्यव्यङ्ग्य र चलचित्र क्षेत्रमा 'दीपक-दीपा' को जोडी निकै लोकप्रिय रहँदै आएको छ।