सिरहा – सिरहाको सुखीपुर नगरपालिकास्थित नगर आधारभूत अस्पतालका कार्यालय प्रमुख डाक्टर लुस्युनकुमार यादवले साउन १२ गते नै साउन २८ गतेसम्मको हाजिर गरेको भेटिएको छ।
मंगलबार अस्पतालको हाजिर रजिस्टर अवलोकन गर्दा कार्यालय प्रमुख डा. यादवले साउन २८ गतेसम्मको उपस्थितिमा हस्ताक्षर गरिसकेको पाइएको हो।
सरकारी कार्यालयको आधिकारिक हाजिरी रजिस्टरमै भविष्यको मितिसम्मको हस्ताक्षर गरिएको देखिएपछि कर्मचारी उपस्थितिको अभिलेखको विश्वसनीयता तथा सुशासनबारे प्रश्न उठेको छ।
यस विषयमा प्रतिक्रिया माग्न डा. यादवको नम्बरमा फोन गर्दा उनले फोन उठाएका छैनन्।
डा यादव सुखीपुर नगरपालिकाका नगर प्रमुख रामऔतार यादवका छोरा हुन्। नगर प्रमुख यादवसँग कुराकानी गर्दा उनले यस विषयमा अहिले केही नभन्ने भन्दै पन्छिए।
डा यादव करार सेवाका कर्मचारी हुन्। उनी नवौं तहमा नियुक्त भएर अस्पतालको प्रमुखको जिम्मेवारीमा रहेका छन्।
