काठमाडौं - भक्तपुर प्रादेशिक अस्पतालमा बिरामीलाई आईसीयुमा भर्ना नगरिएको भन्दै उनका आफन्तले रातभर हंगामा गर्नुका साथै आईसीयुमा तोडफोड र अस्पतालका कर्मचारीमाथि आक्रमण गरेको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालका निमित्त निर्देशक डा. त्रिभुवनचन्द्र झाका अनुसार बुधबार राति करिब १२ बजेतिर काभ्रेको तेमालबाट सूर्यविनायक बस्दै आएका ८२ वर्षीय दमका बिरामीलाई आफन्तले अस्पताल ल्याएका थिए। ती बिरामीलाई सोही दिन उपचारपछि डिस्चार्ज गरिएको थियो।
‘उहाँ दमको बिरामी हुनुहुन्थ्यो र रगतमा पनि संक्रमण थियो । हामीले उपचारपछि हिजै उहाँलाई डिस्चार्ज गरेका थियौं,’ डा. झाले भने।
डिस्चार्ज भइसकेका बिरामीलाई लिएर दुई जना पुरुष र दुई जना महिला राति अस्पताल पुगेका थिए। उनीहरूले बिरामीलाई पुनः आईसीयुमा भर्ना गर्न माग गरेपछि अस्पताल प्रशासनले तत्काल आईसीयु बेड उपलब्ध नरहेको र थप आईसीयु सञ्चालनका लागि आवश्यक जनशक्ति पनि नभएको जानकारी गराएको थियो। त्यसपछि विवाद सुरु भएको डा. झाको भनाइ छ।
भक्तपुर अस्पतालमा हाल सात वटा आईसीयु बेड सञ्चालनमा रहेको र तीमध्ये एउटा बेड आकस्मिक अवस्थाका बिरामीका लागि छुट्याइएको उनले बताए। बिरामीको अवस्था तत्काल आईसीयुमा राख्नुपर्ने खालको नरहेको तथा आकस्मिक प्रयोजनका लागि छुट्याइएको बेड पनि प्रयोगमा रहेको जानकारी गराउँदा आफन्तले हंगामा सुरु गरेको उनले बताए।
अस्पताल प्रशासनका अनुसार छात्रवृत्ति करारमा कार्यरत ११ जना नर्स फिर्ता भएपछि थप आईसीयु सञ्चालन गर्न आवश्यक जनशक्तिको अभाव भएको छ। उपलब्ध जनशक्ति र स्रोतसाधनअनुसार मात्र आईसीयु सेवा सञ्चालन गर्नुपरेको अस्पतालको भनाइ छ।
सुरुमा चार जना मात्रै अस्पताल पुगे पनि पछि उनीहरूले फोन गरेर २५ देखि ३० जनाको समूह जम्मा गरेको अस्पताल प्रशासनको आरोप छ। उक्त समूहले आकस्मिक कक्षमा होहल्ला गर्नुका साथै आईसीयुमा समेत तोडफोड गरेको जनाइएको छ।
तोडफोडका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई धम्काउने र तर्साउने कामसमेत भएको डा. झाले बताए। उनका अनुसार मदिरा सेवन गरेका केही व्यक्तिले अस्पतालका एक कर्मचारीमाथि सिजर प्रहारसमेत गरेका थिए। घटनामा ती कर्मचारी घाइते भएको उनले जानकारी दिए।
‘उहाँहरूमध्ये तीन–चार जनाले मदिरा सेवन गर्नुभएको रहेछ। जथाभावी गर्दै थर्काउने, धम्काउने र तोडफोड गर्ने काम भयो,’ डा. झाले भने, ‘मलाई पनि रातभर फोन गरेर टर्चर गर्नुभयो।’
अस्पताल प्रशासनले स्वास्थ्यकर्मीमाथि हुने धम्की, दुर्व्यवहार र आक्रमणका घटनाले स्वास्थ्य सेवा प्रवाहमै असर पार्ने जनाएको छ। उपलब्ध जनशक्ति र स्रोतसाधनका आधारमा बिरामीलाई उपचार सेवा दिइरहेको भन्दै अस्पतालले स्वास्थ्य संस्थामा शान्तिपूर्ण वातावरण कायम गर्न र स्वास्थ्यकर्मीको सुरक्षाको सुनिश्चितता गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।
अस्पताल र कार्यरत कर्मचारीको सुरक्षाका लागि प्रमुख जिल्ला अधिकारीको कार्यालयमा समेत जानकारी गराइएको डा. झाले बताए। घटनामा संलग्न दोषीमाथि कारबाही हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।