कल्पना गर्नुस् त, एउटा यस्तो प्राकृतिक वरदान, जसले नवजात शिशुलाई संक्रमणबाट जोगाउँछ, कुपोषणको जोखिम घटाउँछ, मस्तिष्कको स्वस्थ विकासमा सहयोग गर्छ, भविष्यमा मधुमेह र मोटोपनाको जोखिम कम गर्छ, आमालाई स्तन तथा डिम्बाशय क्यान्सर तथा अन्य जोखिमबाट जोगाउँछ, परिवारको स्वास्थ्य खर्च घटाउँछ र अन्ततः एउटा राष्ट्रको मानव पूँजीलाई समेत सुदृढ बनाउँछ। अझ अचम्मको कुरा त, यस्तो अमूल्य "औषधि" हरेक शिशुले जन्मिनेबित्तिकै निःशुल्क प्राप्त गर्न सक्छन् र त्यो हो उनको आमाको स्तनबाट आएको दूध।
प्रकृतिले नवजात शिशुका लागि तयार गरेको यो पहिलो, पूर्ण र जीवनरक्षक आहारलाई आजसम्म कुनै पनि प्रयोगशाला, कुनै औषधि वा कुनै कृत्रिम उत्पादनले प्रतिस्पर्द्धा गर्न सकेको छैन। त्यसैले स्तनपानलाई केवल पोषणको विषय मानिदैन; यो बालस्वास्थ्य, मातृस्वास्थ्य, परिवारको आर्थिक सुरक्षा, मानव विकास र राष्ट्रको समृद्धिसँग प्रत्यक्ष जोडिएको सार्वजनिक स्वास्थ्यको सबैभन्दा प्रभावकारी र कम लागतको लगानीमध्ये एक मानिन्छ।
तर विडम्बना, स्तनपानका यति धेरै वैज्ञानिक प्रमाण हुँदाहुँदै पनि विश्वभर लाखौँ शिशु यसको पूर्ण लाभबाट वञ्चित भइरहेका छन्। नेपाल पनि यसबाट अछुतो छैन। नेपालको जनगणना(NDHS) २०२२ का अनुसार ०–५ महिनाका शिशुमध्ये केवल ५६% मात्रले विशेष स्तनपान (Exclusive Breastfeeding) पाएका छन्। सन् २०११ मा ७० प्रतिशत रहेको यो दर २०२२ सम्म आइपुग्दा ५६ प्रतिशतमा झर्नु हामी सबैका लागि गम्भीर चिन्ताको विषय हो। यसको अर्थ स्तनपानको महत्वबारे जानकारीको कमी मात्र होइन, आमालाई स्तनपान गराउन आवश्यक सहयोगी वातावरण अझै पर्याप्त रूपमा निर्माण हुन नसकेको पनि हो।
यही सन्दर्भमा यस वर्षको विश्व स्तनपान सप्ताह (अगस्ट १–७) ले "Breastfeeding for a Sustainable Start in Life: Strengthen What Works" अर्थात् "जीवनको दिगो सुरुआतका लागि स्तनपान : सफल अभ्यासलाई अझ सुदृढ बनाऔँ" भन्ने मूल सन्देश अघि सारेको छ। यो नारा केवल वार्षिक अभियानको औपचारिक सन्देश मात्र हैन, विश्व समुदायका लागि स्पष्ट नीति र सन्देश पनि हो। दशकौदेखि भएका अनुसन्धानले स्तनपानका फाइदा र प्रभावकारी अभ्यासबारे पर्याप्त प्रमाण दिइसकेका छन्। अब नयाँ उपाय खोज्ने समय होइन, प्रमाणित अभ्यासलाई प्रत्येक आमा, प्रत्येक शिशु र प्रत्येक परिवारसम्म प्रभावकारी रूपमा पुर्याउने समय हो।
यसै सन्देशलाई जोड दिँदै विश्व स्वास्थ्य संगठन (WHO), युनिसेफ (UNICEF) र विश्व स्तनपान अभियान (WABA) ले सरकार, स्वास्थ्य संस्था, रोजगारदाता, सञ्चारमाध्यम, समुदाय र परिवार सबैलाई एउटै सन्देश दिएका छन्, स्तनपान सफल बनाउन आमा एक्लै पर्याप्त हुँदैनन्। उनको वरिपरि 'वार्म चेन अफ सपोर्ट' अर्थात् न्यानो सहयोगको सञ्जाल निर्माण हुनुपर्छ।
दुर्भाग्यवश, हाम्रो समाजमा अझै पनि स्तनपानलाई आमाको व्यक्तिगत जिम्मेवारीका रूपमा मात्र हेरिन्छ। शिशुले पर्याप्त दूध नखाए, आमा चाँडै काममा फर्किनुपरे वा कृत्रिम दूध प्रयोग गर्नुपरेमा दोष प्राय आमामाथि नै थोपारिन्छ। तर विज्ञानले स्पष्ट रूपमा देखाएको छ कि स्तनपान आमाको इच्छाशक्तिले मात्र सफल हुँदैन; त्यसका लागि परिवार, स्वास्थ्य प्रणाली, कार्यस्थल, समुदाय र राज्यको संयुक्त साथ आवश्यक हुन्छ।
प्रकृतिले शिशुका लागि तयार गरेको पहिलो, पूर्ण र जीवनरक्षक आहार भनेकै आमाको दूध हो। त्यसैले विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो एक घण्टाभित्र स्तनपान सुरु गर्न, पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाउन र त्यसपछि उपयुक्त पूरक आहारसँगै दुई वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपानलाई निरन्तरता दिन सिफारिस गरेको छ।
विशेष गरी जन्मेपछि आउने पहेंलो बाक्लो दूध अर्थात् कोलोस्ट्रम शिशुको पहिलो खोप हो। यसमा रहेका प्रतिरक्षात्मक तत्वहरूले निमोनिया, झाडापखाला, रक्त संक्रमणलगायतका गम्भीर संक्रमणबाट नवजात शिशुलाई जोगाउँछन्। तर विडम्बना, नेपालका केही समुदायमा अझै पनि यसलाई फाल्ने गलत अभ्यास पाइन्छ। यस्ता भ्रम अन्त्य गर्नु अत्यन्तै आवश्यक छ।
स्तनपानका लाभ बाल्यकालमा मात्र सीमित हुँदैनन्। आमाको दूध खाने बालबालिकामा कुपोषणको जोखिम कम हुन्छ, मस्तिष्कको विकास राम्रो हुन्छ, सिकाइ क्षमता बढ्छ र दीर्घकालमा मोटोपना तथा टाइप–२ मधुमेहजस्ता नसर्ने रोगको जोखिम पनि घट्छ। केहि अध्ययनहरूले स्तनपानले बालबालिकाको बौद्धिक विकास र भविष्यको उत्पादकत्वमा समेत सकारात्मक प्रभाव पार्ने देखाएको छ। त्यसैले स्तनपानले केवल एउटा स्वस्थ शिशु मात्र होइन, सक्षम र उत्पादनशील नागरिक निर्माण गर्छ।
आमाका लागि पनि स्तनपान उत्तिकै लाभदायी छ। यसले प्रसूति पश्चात् हुने रक्तस्राव कम गर्छ, पाठेघरलाई छिट्टै सामान्य अवस्थामा फर्काउँछ, स्तन तथा डिम्बाशय क्यान्सरको जोखिम घटाउँछ र आमाशिशुबीचको भावनात्मक सम्बन्धलाई अझ प्रगाढ बनाउँछ, मानसिक स्वास्थ्य राम्रो बनाउछ र धेरै जसो आमाहरूमा प्राकृतिक परिवार योजनाको रूपमा पनि काम गर्छ!
तर एउटा प्रश्न बारम्बार उठ्छ?? यति धेरै लाभ हुँदाहुँदै पनि नेपालमा विशेष स्तनपान किन घट्दै गएको छ?
यसको एउटा मात्र कारण छैनन्। बढ्दो शहरीकरण, महिलाको रोजगारीमा बढ्दो सहभागिता, पर्याप्त तलबि प्रसूति बिदाको अभाव, स्तनपानमैत्री कार्यस्थलको कमी, सिजेरियन प्रसूति बढ्दै जानु, जन्मपछि स्तनपानसम्बन्धी पर्याप्त परामर्श नपाउनु, संयुक्त परिवारको विघटन, कृत्रिम दूधको आक्रामक बजार प्रवर्द्धन तथा सामाजिक सञ्जालमार्फत फैलिने भ्रमहरू यसको प्रमुख कारण हुन्। कतिपय आमाले "मेरो दूध पुगेन" भन्ने गलत धारणाका कारण पनि समयअघि नै कृत्रिम दूध प्रयोग गर्न थाल्ने गरेका छन्, जबकि अधिकांश अवस्थामा सही परामर्श र सहयोग पाए स्तनपान सफलतापूर्वक कायम राख्न सकिन्छ।
यही कारणले यस वर्षको विश्व स्तनपान सप्ताहले "Strengthen What Works" अर्थात् "सफल अभ्यासलाई अझ सुदृढ बनाऔँ" भन्ने सन्देशलाई केन्द्रमा राखेको हो। वैज्ञानिक प्रमाणले देखाएको छ कि शिशु तथा साना बालबालिकाको आहारसम्बन्धी परामर्श (IYCF Counselling) स्वास्थ्य संस्था, समुदाय र घरपरिवारसम्म प्रभावकारी रूपमा पुर्याउँदा विशेष स्तनपान ५८ प्रतिशतसम्म बढ्न सक्छ। शिशुमैत्री अस्पताल पहल(Baby-Friendly Hospital Initiative) लागू भएका अस्पतालमा ६ महिनासम्मको विशेष स्तनपान ४५ प्रतिशतले बढेको र स्तनपानलाई निरन्तरता दिने दरमा २६ प्रतिशत सुधार आएको अध्ययनहरूले देखाएका छन्। सञ्चारमाध्यम, समुदाय र स्वास्थ्य परामर्शलाई एकीकृत गरेर सञ्चालन गरिएका अभियानले पनि विशेष स्तनपानमा १७ प्रतिशत वृद्धि गराएका छन्। यसले स्पष्ट पार्छ, हामीलाई नयाँ कार्यक्रमभन्दा प्रमाणित कार्यक्रमलाई प्रभावकारी रूपमा विस्तार गर्न आवश्यक छ।
स्तनपान सफल बनाउन परिवारको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ। प्रसूति पश्चात् आमालाई पर्याप्त आराम, पोषिलो आहार र मानसिक सहयोग आवश्यक हुन्छ। श्रीमानले घरायसी काममा सहयोग गर्ने, परिवारका सदस्यले सकारात्मक वातावरण बनाइदिने र आमामाथि अनावश्यक दबाब नदिने हो भने स्तनपान धेरै सहज हुन्छ। स्वस्थ शिशु हुर्काउने जिम्मेवारी आमाको मात्र होइन, सम्पूर्ण परिवारको साझा दायित्व हो।
यसैगरी, कार्यस्थल पनि स्तनपानको सफलतासँग प्रत्यक्ष जोडिएको हुन्छ। विश्व स्वास्थ्य संगठनले पहिलो छ महिनासम्म विशेष स्तनपान सिफारिस गरेको अवस्थामा पर्याप्त तलबसहितको प्रसूति बिदा अपरिहार्य हुन्छ। अध्ययनहरूले यस्तो बिदा पाएका महिलामा विशेष स्तनपानको दर ५२ प्रतिशतले बढी हुने देखाएका छन्। नेपालमा छ महिनासम्म प्रसूति बिदा विस्तार गर्ने प्रस्ताव आएको सन्दर्भमा यो व्यवस्था सरकारी र निजी दुवै क्षेत्रमा समान रूपमा यथाशीघ्र कार्यान्वयनमा ल्याइनु आवश्यक छ। साथै, स्तनपानमैत्री कार्यस्थल, स्तनपानका लागि पर्याप्त समय, स्थान र लचकदार कार्यसमय सुनिश्चित गर्न सके विशेष स्तनपानको निरन्तरतामा उल्लेखनीय सुधार ल्याउन सकिन्छ।
अर्कोतर्फ, कृत्रिम दूधको अनियन्त्रित प्रचारले स्तनपानलाई कमजोर बनाइरहेको छ। विश्व स्वास्थ्य संगठनको International Code of Marketing of Breast-milk Substitutes प्रभावकारी रूपमा लागू भएका देशहरूमा विशेष स्तनपानको औसत दर ५४ प्रतिशत रहेको छ भने यस्तो कानुनी व्यवस्था प्रभावकारी रूपमा लागू नभएका देशहरूमा यो दर २४ प्रतिशत मात्र छ। नेपालले पनि स्तनदूधका विकल्पको भ्रामक प्रचार र बजार प्रवर्द्धन नियन्त्रणमा अझ प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता छ।
स्तनपानको लाभ स्वास्थ्यमा मात्र सीमित छैन। यसले परिवारको स्वास्थ्य खर्च घटाउँछ, बालबालिकाको बौद्धिक क्षमता बढाउँछ, भविष्यमा उत्पादक जनशक्ति तयार गर्छ र राष्ट्रको आर्थिक विकासमा प्रत्यक्ष योगदान पुर्याउँछ। युनिसेफका अनुसार स्तनपान प्रवर्द्धनमा गरिएको प्रत्येक १ अमेरिकी डलर बराबरको लगानीबाट करिब ३५ अमेरिकी डलरसम्म आर्थिक प्रतिफल प्राप्त हुन सक्छ। त्यसैले स्तनपान स्वास्थ्य क्षेत्रको खर्च होइन, मानव पूँजीमा गरिएको सबैभन्दा बुद्धिमानीपूर्ण लगानी हो।
नेपालले कुपोषण घटाउने, बालमृत्युदर कम गर्ने, मानव पूँजी विकास गर्ने र दिगो विकासका लक्ष्य हासिल गर्ने प्रतिबद्धता जनाएको छ। यी सबै लक्ष्यको जग जीवनको पहिलो छ महिनामै निर्माण हुन्छ। त्यसैले स्तनपान कुनै व्यक्तिगत रोजाइ मात्र होइन; यो शिशुको पहिलो अधिकार, आमाको स्वास्थ्यको सुरक्षा, परिवारको आर्थिक हित र राष्ट्रको भविष्यसँग प्रत्यक्ष जोडिएको विषय हो।
यस विश्व स्तनपान सप्ताहमा हामी सबैले एउटा साझा प्रतिबद्धता गरौँ—हरेक शिशुले जन्मेको पहिलो घण्टाभित्र आमाको दूध पाओस्, हरेक आमाले निर्धक्क भएर छ महिनासम्म विशेष स्तनपान गराउन सकून्, हरेक परिवारले स्तनपानलाई साझा जिम्मेवारीका रूपमा स्विकारून्, हरेक स्वास्थ्य संस्थाले प्रमाणित स्तनपान अभ्यासलाई प्रभावकारी रूपमा कार्यान्वयन गरोस्, हरेक कार्यस्थल स्तनपानमैत्री बनोस् र हरेक नीतिले आमालाई साथ दिओस्। किनभने स्वस्थ नेपालको सुरुआत अस्पतालबाट मात्र होइन, आमाको काख र आमाको दूधबाट हुन्छ।