मानिसले आफ्नो जीवनमा सबैभन्दा बढी विश्वास गर्ने दुईवटा पेशा सायद चिकित्सक र पत्रकारिता हुन्। एउटा पेशाले शरीर र मनको उपचार गर्छ भने अर्कोले समाजलाई सूचना र चेतनाको माध्यमबाट मार्गदर्शन गर्छ। जब यी दुई क्षेत्र एक-अर्कासँग जोडिन्छन्, त्यसलाई चिकित्सा पत्रकारिता भनिन्छ।
चिकित्सा पत्रकारिता केवल स्वास्थ्यसम्बन्धी समाचार लेख्ने विषय मात्र होइन, यो मानव पीडा, आशा, डर, विश्वास र सत्यको खोजीसँग गाँसिएको एउटा संवेदनशील जिम्मेवारी हो ।
रोगको अनुभव मानिसको जीवनको सबैभन्दा कमजोर क्षणहरूमध्ये एक हो। अस्पतालको शैय्यामा बसेको बिरामी र उसको परिवारलाई केवल औषधि मात्र चाहिएको हुँदैन, उनीहरूलाई आशा पनि चाहिएको हुन्छ। यस्तै समयमा सञ्चारमाध्यमले दिने सूचना समाजका लागि मार्गदर्शक बन्छ। सही सूचना औषधिजस्तै हुन सक्छ, जसले भ्रम हटाउँछ र सचेतना बढाउँछ तर गलत सूचना विषजस्तै पनि हुन सक्छ, जसले डर, अविश्वास र अन्योल फैलाउँछ।
नेपालमा कोभिड–१९ महामारीका दिनहरू सम्झँदा चिकित्सा पत्रकारिताको सकारात्मक शक्ति प्रष्ट देखिन्छ। त्यतिबेला सञ्चारमाध्यमहरूले खोपको महत्व, संक्रमण रोकथामका उपाय, स्वास्थ्यकर्मीहरूको संघर्ष तथा अस्पतालहरूको अवस्थाबारे निरन्तर जानकारी दिएका थिए। धेरै पत्रकारहरू आफैं जोखिम मोलेर जनतासम्म सूचना पुर्याइरहेका थिए। त्यो समय पत्रकारिता केवल समाचारको व्यवसाय थिएन, समाजप्रतिको उत्तरदायित्व थियो। धेरै मानिसले चिकित्सकको सल्लाहभन्दा पहिले समाचार हेरेर आफ्नो व्यवहार परिवर्तन गरेका थिए। यस अर्थमा पत्रकारिताले पनि अप्रत्यक्ष रूपमा जीवन बचाएको थियो।
हरेक शक्तिसँग एउटा जोखिम पनि जोडिएको हुन्छ। पछिल्लो समय चिकित्सा पत्रकारितामा देखिने एउटा प्रवृत्ति भनेको सनसनीको खोजी हो। कुनै बिरामीको मृत्यु भयो भने घटनाको सम्पूर्ण चिकित्सकीय सन्दर्भ नबुझीकन 'डाक्टरको लापरबाहीले मृत्यु', 'अस्पतालको चरम बेवास्ता', 'उपचारमा गल्ती' जस्ता शीर्षकहरू देख्न पाइन्छ। नि:सन्देह, वास्तविक लापरबाही भए त्यसलाई सार्वजनिक गर्नु आवश्यक छ। तर सत्यभन्दा पहिले आरोपलाई प्राथमिकता दिनु न्याय होइन।
चिकित्सा विज्ञान आफैंमा पूर्ण निश्चितताको विज्ञान होइन। एउटै रोग, एउटै उपचार र एउटै अस्पतालमा पनि सबै बिरामीको नतिजा समान हुँदैन। कहिलेकाहीँ चिकित्सकले आफ्नो सम्पूर्ण ज्ञान, सीप र प्रयास प्रयोग गर्दा पनि बिरामीलाई बचाउन सक्दैनन् तर हाम्रो समाजमा मृत्यु भएपछि दोषी खोज्ने प्रवृत्ति बलियो छ। यस्तो अवस्थामा पत्रकारिताले भावनाको लहरमा होइन, प्रमाणको आधारमा काम गर्नुपर्छ। अन्यथा एउटा समाचारले वर्षौंको मेहनतले कमाएको चिकित्सकको प्रतिष्ठा क्षणभरमै ध्वस्त पार्न सक्छ।
अर्कोतर्फ, चिकित्सा पत्रकारिताको काम चिकित्सक वा अस्पतालको पक्षमा उभिनु मात्र पनि होइन। स्वास्थ्य क्षेत्रमा हुने वास्तविक कमजोरी, भ्रष्टाचार, औषधिको अभाव, बिरामीमाथिको दुर्व्यवहार वा व्यवस्थागत त्रुटिहरू उजागर गर्नु पनि यसको दायित्व हो। समाजले पत्रकारितामाथि विश्वास गर्नुको कारण नै यही हो कि उसले असहज प्रश्नहरू सोध्छ तर प्रश्न सत्य खोज्नका लागि हुनुपर्छ, दोषी घोषणा गर्नका लागि होइन।
डेंगु महामारीका समयमा पनि हामीले चिकित्सा पत्रकारिताका दुवै रूप देख्यौं। कतिपय समाचारहरूले जनचेतना फैलाए, मानिसहरूलाई सावधानी अपनाउन प्रेरित गरे तर केही शीर्षकहरू यस्ता पनि थिए, जसले रोगभन्दा बढी डर फैलाए। वास्तवमा डर आफैंमा एउटा सामाजिक रोग हो, र कहिलेकाहीँ गलत सूचना भाइरसभन्दा तीव्र गतिमा फैलिन्छ ।
दार्शनिक रूपमा हेर्दा पत्रकारिता ऐना जस्तै हुनुपर्छ। ऐनाले अनुहारलाई न त अत्यधिक सुन्दर बनाउँछ, न त अनावश्यक रूपमा कुरूप देखाउँछ। उसले यथार्थ देखाउँछ। चिकित्सा पत्रकारिताको पनि यही धर्म हो-न चिकित्सकलाई देवता बनाउने, न राक्षस। न अस्पताललाई पूर्ण रूपमा निर्दोष देखाउने, न हरेक घटनाको दोषी घोषणा गर्ने। सत्य प्रायः यी दुई अतिवादहरूको बीचमा हुन्छ।
चिकित्सा पत्रकारिता स्वास्थ्य र समाजबीचको पुल हो। पुलको काम एक किनारालाई अर्को किनारासँग जोड्नु हो, विभाजन गर्नु होइन। जब पत्रकारिताले संवेदनशीलता, प्रमाण र नैतिकतालाई आफ्नो आधार बनाउँछ, तब यसले जनताको विश्वास जित्छ। यदि समाचार सत्यभन्दा बढी सनसनीको साधन बन्छ, तब समाजले केवल सूचना होइन, विश्वास पनि गुमाउँछ। त्यसैले चिकित्सा पत्रकारिताको वास्तविक सफलता सबैभन्दा ठूलो शीर्षक बनाउनमा होइन, सबैभन्दा सत्य र जिम्मेवार कथा भन्न सक्नुमा निहित होस्, शुभकामना!