काठमाडौं – नरदेवी अस्पताल (आयुर्वेदिक चिकित्सालय, नरदेवी) विगत एक महिनादेखि नेतृत्वविहीन हुँदा अस्पतालको सेवा प्रभावित हुन पुगेको छ।
एक महिनाअगाडि नरदेवी अस्पतालका निर्देशक डा. वासुदेव उपाध्यायलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा सरुवा गरिएपछि अस्पताल नेतृत्वविहीन बन्दा सेवा नै प्रभावित हुने अवस्थामा पुगेको हो।
अस्पतालमा कार्यरत एक चिकित्सक आर्थिक कारोबार गर्ने जिम्मेवार व्यक्ति नहुँदा ठूलो समस्या परेको बताउँछन्। सर्जरीका लागि आवश्यक सामग्री खरिद हुन नसक्दा, दैनिक कार्यका लागि आवश्यक प्रशासनिक स्वीकृति नहुँदा र कर्मचारीले तलबसमेत खान नपाउँदा दैनिक कार्य सञ्चालनमा ठूलो समस्या देखिएको उनले जानकारी दिए।
स्वास्थ्य मन्त्रालयले सरुवा गर्न चासो देखाए पनि नयाँ नेतृत्व दिन चासो नदिएको भन्दै यस्तै तरिकाले काम अघि बढाउन नसकिने ती कर्मचारीको धारणा छ।
‘निगरानी गर्ने मान्छे नहुँदा काम गर्नु पनि कर्मचारीका लागि स्वेच्छा जस्तो भएको छ,’ ती चिकित्सकले भने, ‘काम गर्नेले गरिरहेकै छन्, नगर्नेलाई जिम्मेवार बनाउन कसैले सकेको छैन।’
अस्पतालको समग्र सेवा प्रवाह विस्तारै झन् कठिन हुने अवस्थामा पुगिसकेको उनको दाबी छ। ‘मन्त्रालयले वास्ता गरेको छैन, यो हाम्रो बसको कुरा पनि होइन,’ उनले थपे, ‘देशको आयुर्वेदतर्फको केन्द्रीय अस्पताललाई एक महिनासम्म नेतृत्वविहीन बनाइनु एकदमै दुःखद हो।’
आगामी केही दिनभित्रै स्वास्थ्य मन्त्रालयले विकल्प नदिए तलब खान नपाएको भन्दै कर्मचारीहरूले आन्दोलनको तयारी गरिसकेको उनले जानकारी दिए। प्रशासनतर्फका केही कर्मचारीहरूले अस्पताल प्रमुख चाँडै नियुक्त गरिदिन मन्त्रालयलाई अनुरोध गरे पनि त्यसको सुनुवाइ हुन नसकेको उनको दाबी छ।
अस्पतालमा निगरानी गर्ने प्रमुख नहुँदा दैनिक प्रशासनिक काम कतैकतै सुस्त भएको र त्यसको सोझो असर बिरामीलाई पर्न सक्ने भन्दै उनले सकेसम्म चाँडो समस्या समाधान गरिदिन मन्त्रालयसमक्ष अनुरोध गरे।
अस्पतालमा कार्यरत अर्का एक कर्मचारीका अनुसार निर्देशक नहुँदा महिना दिनदेखि कर्मचारीले तलब पाएका छैनन्। यस्तै, अस्पतालमा सामान आपूर्ति गर्दै आएका कम्पनीहरूले भुक्तानी नपाए सामान आपूर्ति नै बन्द गर्ने चेतावनी दिएका छन्। यदि आपूर्तिकर्ताले सामान रोकिदिए अस्पतालको सेवा ठप्प हुन सक्ने उनले बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले नरदेवी अस्पतालको निर्देशक नियुक्तिको प्रक्रिया आगामी १-२ दिनभित्रै सकिने बताएका छन्।
‘जिम्मेवारी परिवर्तन भएको कारणले नियुक्ति प्रक्रियामा केही ढिलाइ भएको हो, अहिले प्रक्रिया अगाडि बढेको छ,’ डा. अधिकारीले भने, ‘अन्य कामहरूमा पनि व्यस्त हुनुपरेकाले केही समय होल्ड भएको कुरा सही हो।’
अस्पतालमा निर्देशक नहुँदा आर्थिक र प्रशासनिक कार्य अगाडि बढाउने विषय केही रोकिएको हुनसक्ने उनले स्वीकार गरे। ‘चाँडै समस्या समाधान हुन्छ,’ डा. अधिकारीले थपे, ‘मन्त्रीज्यूले छलफलपश्चात् चाँडै नै नयाँ निर्देशक पठाउने गरी तयारी गर्नुभएको छ।’
मन्त्रालय स्रोतका अनुसार नरदेवीमा यसअघि असफल भएका १०औं तहका केही कर्मचारीहरु पुन: अधिकारसहित निमित्त निर्देशकको जिम्मेवारी लिन दौडधुप गरिरहेका छन्। उनीहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका केही नेताहरु मार्फत मन्त्रालयमा दबाब दिने काम समेत गरिरहेको बताइएको छ।