नेपाल चिकित्सक संघमा जुनियर डक्टर्स कमिटी (जेडीसी) को भूमिका समयको माग र अपरिहार्यता मात्र नभएर सिङ्गो संघलाई अगाडि बढाउने एउटा बलियो र ऊर्जावान् इन्जिन पनि हो। नेपालमा प्रजातन्त्र बहालीपश्चात् स्थापना भएको पहिलो र सबैभन्दा प्रजातान्त्रिक संस्था नै नेपाल चिकित्सक संघ हो। वि.सं. २००७ सालदेखि हालसम्म यस संघले अविच्छिन्न रूपमा नेपाल र नेपालीको स्वास्थ्य हित, चिकित्सकहरूको व्यावसायिक उन्नयन र पूरै देशको स्वास्थ्य क्षेत्रको श्रीवृद्धिमा आफ्नो ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको छ। लामो र गौरवशाली इतिहास बोकेको यस संस्थाले विभिन्न कालखण्डमा अनेकौँ किसिमका ऐतिहासिक र सङ्गठनात्मक अप्ठ्याराहरू झेल्दै, तिनलाई चिरेर अगाडि बढिरहेको छ।
यसै सन्दर्भमा, आज म नेपाल चिकित्सक संघको अभिन्न अङ्ग 'जुनियर डक्टर्स नेटवर्क' (जेडिएन) अन्तर्गतको जुनियर डक्टर्स कमिटी (जेडीसी) को महत्त्व, इतिहास र यसको आगामी दिशाका बारेमा चर्चा गर्न गइरहेको छु।
जुनियर डक्टर्स नेटवर्कको पृष्ठभूमि र नेपालमा यसको सुरुवात
जुनियर डक्टर्स नेटवर्क सन् २०१० अक्टोबरमा वर्ल्ड मेडिकल एसोसिएसनले परिकल्पना गरेको एउटा अन्तर्राष्ट्रिय सङ्गठनात्मक स्वरूप हो। यस अवधारणालाई सन् २०११–२०१३ को तत्कालीन नेपाल चिकित्सक संघ नेतृत्वमा, विशेष गरी तत्कालीन महासचिव प्रा. डा. भूपेन्द्र बस्नेतको अग्रसरतामा नेपालमा पनि भित्र्याउने र आकार दिने प्रारम्भिक प्रयास गरिएको थियो। तर, यसले सन् २०१८ मा तत्कालीन महासचिव प्रा. डा. लोचन कार्कीको नेतृत्वमा मात्र पूर्ण आकार र संस्थागत खाका पाउन सफल भयो।
नेपालको विशिष्ट आवश्यकतालाई सम्बोधन गर्ने गरी ‘सदस्य सचिव’ रहने व्यवस्थासहित सन् २०१८ मा एनएमए-जेडीसीको विधिवत् गठन भयो। यसको पहिलो सदस्य सचिव डा. हुलास अग्रवाल हुनुभयो, जो हाल नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिमा सह-सचिव पदमा निर्वाचित हुनुभएको छ। म स्वयंलाई पनि पहिलो पूर्ण एनएमए-जेडीसीको केन्द्रीय सदस्य हुँदै उप-संयोजक सम्म रहेर जिम्मेवारी निर्वाह गर्ने ऐतिहासिक अवसर प्राप्त भएको थियो। सोही कार्यकालमा मैले एनएमए-जेडीसीको नेपाली आवश्यकता र माटो सुहाउँदो घोषणापत्र लेखनमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने अवसर पाएँ।

नेपाल चिकित्सक संघमा जुनियर डक्टर्स कमिटीको महत्त्व
नेपालको स्वास्थ्य क्षेत्रको मुख्य मेरुदण्ड नै युवा चिकित्सकहरू हुन्– जसमा मेडिकल इन्टर्न, मेडिकल अधिकृत, आवासीय चिकित्सकहरू र नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको १० वर्षसम्मको अनुभव भएका सम्पूर्ण चिकित्सकहरू पर्दछन्। यी नवप्रवेशी तथा युवा चिकित्सकहरूको आवाज, हकहित र व्यावसायिक विकासलाई सम्बोधन गर्न एनएमए अन्तर्गत जेडीसीको भूमिका केन्द्रीय रहँदै आएको छ। युवा चिकित्सकहरूले भोग्नुपर्ने विशिष्ट चुनौतीहरूलाई चिर्न र उनीहरूको ऊर्जालाई सही दिशा दिन यो कमिटी एक बलियो खम्बा साबित भएको छ, जसका मुख्य आयामहरू निम्नानुसार छन्:
१. युवा चिकित्सकहरूको हकहित, अधिकार र आर्थिक सुरक्षा
कार्यस्थलमा हुने श्रम शोषण, न्यून पारिश्रमिक र लामो कार्यघन्टा (कतिपय अवस्थामा लगातार ३६ घन्टासम्मको ड्युटी) जुनियर चिकित्सकहरूले भोग्दै आएका मुख्य समस्या हुन्। नेपालका युवा चिकित्सकहरू उचित पारिश्रमिकको अभावका कारण ठुलो मनोसामाजिक समस्याबाट गुज्रिरहेका छन्। विगतदेखि नै निर्वाहमुखी तलबको सट्टा न्यायोचित तलबमानका लागि सरकारसँग निरन्तर माग र आन्दोलन भइरहे पनि अझै अपेक्षित परिणाम आउन सकेको छैन। राज्यको चरम उदासीनतालाई चिर्दै चिकित्सकको पसिना र पढाइको अर्थपूर्ण मूल्याङ्कन हुने गरी उचित पारिश्रमिक र सेवा–सुविधाका लागि निरन्तर लडिरहनु आजको मुख्य आवश्यकता हो, जसमा जेडीसीले नेतृत्वदायी भूमिका खेलिरहेको छ।
२. नीति निर्माण र नेतृत्व विकास
आजका जुनियर डाक्टरहरू नै भोलिको स्वास्थ्य क्षेत्रका नीति–निर्माता र नेतृत्वकर्ता हुन्। उदाहरणका लागि, हिजो जेडीसीको नेतृत्वमा रहेर काम गरेका साथीहरू आज एनएमएको केन्द्रीय पदाधिकारी तथा नेपाल मेडिकल काउन्सिल जस्ता नियामक निकायमा पुग्नुभएको छ। म स्वयं पनि हाल नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यका रूपमा सेवा गरिरहेको छु। एनएमए भित्र जेडीसीको उपस्थितिले युवा चिकित्सकहरूलाई सङ्गठनात्मक प्रणाली, नीति निर्माण र नेतृत्व कला सिक्ने सुवर्ण अवसर प्रदान गर्दछ, जसले नेपालको स्वास्थ्य क्षेत्रको भविष्य सुरक्षित गरिरहेको छ।
३. कार्यस्थलमा सुरक्षा र मानसिक स्वास्थ्यको ग्यारेन्टी
पछिल्ला वर्षहरूमा नेपालका विभिन्न अस्पतालहरूमा चिकित्सकहरूमाथि हुने हातपात र दुर्व्यवहारका अमानवीय घटनाहरू डरलाग्दो गरी बढेका छन्। यस्ता घटनाको अग्रपङ्क्तिमा प्रायः जुनियर डाक्टरहरू नै पर्छन्, किनकि बिरामी र तिनका आफन्तहरूसँग प्रत्यक्ष र पहिलो सम्पर्क उनीहरुकै हुन्छ। हरेक वर्ष युवा चिकित्सकहरूमा देखिने आत्महत्याको प्रवृत्तिको प्रमुख कारण राज्य र समाजले सिर्जना गरिदिएको यही कमजोर र असुरक्षित मानमर्दनको वातावरण हो। न्यून तलब, कार्यस्थलको असुरक्षा र मानसिक तनावकै कारण बर्सेनि हजारौँ प्रतिभाशाली युवा चिकित्सकहरू बिदेसिन बाध्य छन् र यो दर पछिल्लो समय ह्वात्तै बढेको छ। जेडीसीले चिकित्सकहरूको भौतिक सुरक्षाका लागि कडा कानुन (जस्तै: जेल विदाउट बेल) कार्यान्वयन गराउन एनएमए मार्फत राज्यलाई दबाब दिने र युवा डाक्टरहरूको मानसिक स्वास्थ्य रक्षाका लागि काम गर्दै आएको छ।
४. व्यावसायिक, शैक्षिक र सञ्चार दक्षता
मेडिकल कलेजबाट भर्खरै उत्तीर्ण भएका डाक्टरहरूलाई करियरको सही मार्गचित्र रोज्न (पोस्टग्रेजुएट अध्ययन, वैदेशिक यात्रा वा दुर्गम सेवा) गाह्रो भइरहेको हुन्छ। यस्तो अवस्थामा उनीहरूलाई सही विधा (स्पेसलाइजेसन) छनोटका लागि मेन्टरसिप दिनु र नेपालमा पिजी सिट सङ्ख्या वृद्धिका लागि आवाज उठाउनु जेडीसीको मुख्य प्राथमिकता हो। जेडीसीले सीपमूलक तालिमहरू (जस्तै: ACLS, BLS, Research Training) मात्र होइन, कार्यक्षेत्रमा सुरुवाती दिनमा आइपर्ने व्यावसायिक आचारसंहिता र बिरामीसँगको सञ्चारका समस्याहरूलाई हल गर्न देशव्यापी रूपमा कानुनी तथा सञ्चारमूलक तालिमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता देखिन्छ।
५. एनएमए र युवा चिकित्सकहरूबिचको भातृत्व र पुल
धेरैजसो जुनियर डाक्टरहरूमा नेपाल चिकित्सक संघ केवल वरिष्ठ डाक्टरहरूको मात्र संस्था हो भन्ने भ्रम वा गुनासो पाइन्छ। जेडीसीले आम युवा चिकित्सक र एनएमएको केन्द्रीय कार्यसमितिबिच एउटा मजबुत पुलको काम गर्दछ। युवाहरूका माग, भावना र समस्याहरूलाई जस्ताको तस्तै अग्रजहरूमाझ प्रस्तुत गर्ने, उनीहरूलाई बुझाउने र समाधानतर्फ डोर्याउने काम जेडीसीले गर्दछ, जसले संघलाई अझ बढी समावेशी र गतिशील बनाउँछ।
महामारीको कठिन परीक्षा: एनएमए-जेडीसीको ऐतिहासिक भूमिका
सन् २०१८ मा एनएमए-जेडीसीले पूर्णता पाएसँगै चिकित्सकहरूको उचित तलबमान, कार्यस्थलको सुरक्षा र विशेषज्ञ तहमा सिट सङ्ख्या बढाउने विषयमा केन्द्रित रहेर देशैभरि सङ्गठन विस्तारलाई तीव्रता दिएको थियो। हाम्रो सङ्गठनको देशैभरि उपस्थिति बलियो बन्दै मात्र के जाँदै थियो, विश्वभरि कोभिड–१९ महामारी फैलियो। सम्भवतः यो एनएमए-जेडीसीका लागि एउटा अभूतपूर्व चुनौती र अवसर दुवै थियो। युवा चिकित्सकहरू आफ्ना नियमित समस्याहरूलाई चटक्कै बिर्सेर महामारीबाट देशलाई बचाउन एनएमए सँगसँगै अग्रपङ्क्तिमा होमिए।
लकडाउनका कारण जताततै आवतजावत गर्न गाह्रो भइरहेको समयमा एनएमए-जेडीसीले चिकित्सकहरूको पहिचान झल्किने ज्याकेटहरू वितरण गर्यो, जसले उनीहरूको सुरक्षित आवागमनलाई सहज बनायो। देशैभरि मास्क र पीपीई जस्ता सुरक्षा सामग्रीहरूको चरम अभाव हुँदा कमिटीले त्यसको व्यवस्थापन र वितरणमा तीव्र पहल गर्यो।
यसैबिच, अस्पतालमा अहोरात्र खटिने युवा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई 'कोभिड सङ्क्रमण फैलाउने' सङ्कुचित सोचका साथ उनीहरू बसिरहेको डेरा (घर) बाट धमाधम निकाल्ने अमानवीय कार्यहरू समाजमा देखिए। यो संवेदनशील परिस्थितिमा एनएमए-जेडीसीले समाजका प्रतिष्ठित व्यक्तित्वहरूसँग समन्वय गरी सचेतनामूलक भिडियो सामग्रीहरू निर्माण तथा प्रसारण गर्यो। साथै, समस्यामा परेका चिकित्सकहरूका लागि आश्रयस्थलको व्यवस्थापन र समन्वय गर्यो।
यी तमाम चुनौतीहरूका बिच कत्ति पनि विचलित नभई एनएमए-जेडीसीले एनएमएसँगै मिलेर टेलिमेडिसिन सेवा र सङ्क्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आइसोलेसन सेन्टर सञ्चालनमा समेत विशेष र प्रशंसनीय भूमिका खेल्यो।
यसका साथै, चिकित्सकहरूको मानसिक र शारीरिक स्वास्थ्यलाई ध्यानमा राख्दै प्राज्ञिक उन्नयनका लागि ‘Quick ECG Reading’ र ‘X-Ray Reading’ जस्ता अनलाइन कक्षाहरू सञ्चालन गर्नुका साथै आपसी भ्रातृत्वका लागि देशव्यापी रूपमा फुटसल र क्रिकसल जस्ता खेलकुद कार्यक्रमहरू समेत आयोजना गरिए।
यति मात्र होइन, एनएमएद्वारा विभिन्न समयमा देशका कुना–काप्चामा सञ्चालन गरिने निःशुल्क स्वास्थ्य शिविरहरू तथा प्राकृतिक विपत्तिका बेला सञ्चालन गरिने बाढी–पहिरो राहत एवं उद्धार कार्यक्रमहरूमा जेडीसीले देशैभरि पूर्ण रूपमा अग्रपङ्क्तिमा खटिएर सहयोग गरेको छ। यस्ता सामाजिक र मानवीय सेवाका कार्यहरूमा जेडीसीले सिङ्गो संघको एउटा बलियो इन्जिनका रूपमा आफूलाई प्रमाणित गरेर देखाएको छ।
यसका साथै, युवा चिकित्सकहरूको उच्च शिक्षा (पोष्टग्राजुयट/स्पेसियलाइजेसन) को तयारीलाई सहज बनाउन जेडीसीले विशेष पहल गर्दै संघको केन्द्रीय कार्यालय लगायत देशका विभिन्न एनएमए शाखाहरूमा पुस्तकालयको व्यवस्थापन र स्थापना समेत गरेको छ। चिकित्सकहरूको मानसिक र शारीरिक स्वास्थ्यलाई ध्यानमा राख्दै प्राज्ञिक उन्नयनका लागि ‘क्विक ईसिजी रिडिङ’ र ‘एक्स-रे रिडिङ’ जस्ता अनलाइन कक्षाहरू सञ्चालन गर्नुका साथै आपसी भ्रातृत्वका लागि देशव्यापी रूपमा फुटसल र क्रिकसल जस्ता खेलकुद कार्यक्रमहरूसमेत आयोजना गरिए।
अबको यात्रा: 'युथ इन मेडिसिन'
अबको हाम्रो यात्रा 'युथ इन मेडिसिन'को मूल नारामा आधारित हुनुपर्छ। चिकित्सा क्षेत्रमा युवाहरूको योगदानलाई कदर गर्दै एनएमए भित्र यस अवधारणालाई एउटा स्थापित र बलियो खम्बाका रूपमा संस्थागत गर्नु आजको अपरिहार्य आवश्यकता बनेको छ।
यति धैरे सीमा, साधनको अभाव र प्रतिकूलताका बाबजुद पनि देशका दुर्गम र दूरदराजका क्षेत्रमा पुगेर अहोरात्र बिरामीको सेवामा समर्पित हुने युवा चिकित्सकहरूको सम्मानका लागि एउटा उच्च कोटीको समर्पित पुरस्कार (अवार्ड फर युथ डक्टर्स) को परिकल्पना गर्नैपर्छ।
विगतमा जेडीसीले नेपाललगायत विभिन्न देशबाट उत्कृष्ट अङ्क र विशेष योगदानसहित चिकित्सा शिक्षा पूरा गरी आउने नवप्रवेशी चिकित्सकहरूलाई सम्मान गर्ने परिपाटी सुरु गरेको थियो, जुन बिचमा प्राविधिक कारणले निरन्तर हुन सकेको छैन। 'युथ इन मेडिसिन' को भावनालाई आत्मसात् गर्दै यस्ता प्रोत्साहनका कार्यक्रमहरूलाई पुनः निरन्तरता दिन सके यसले युवा चिकित्सकहरूका लागि भविष्यमा थप ऊर्जा र ठुलो प्रेरणा दिनेछ भन्नेमा दुई मत छैन।
चिकित्सा क्षेत्रमा नवप्रवर्तन: डिजिटलमैत्री व्यवस्था, चिकित्सा उद्यमशीलता र ‘पर्वतीय चिकित्सा’
परम्परागत शैलीबाट माथि उठेर अबका युवा चिकित्सकहरूले आफ्नो व्यावसायिक क्षमतालाई आधुनिक प्रविधिसँग जोड्न ढिला भइसकेको छ। यसका लागि जुनियर डक्टर्स कमिटी (जेडीसी) ले ‘चिकित्सा उद्यमशीलता’ र कृत्रिम बौद्धिकता (एआई) प्रविधिमैत्री स्वास्थ्य प्रणालीमा युवाहरूको सहभागिताका लागि यथाशीघ्र सशक्त आवाज उठाउनु पर्छ।
आम्दानीका नयाँ आयामहरू खोज्न र आधुनिक चिकित्सा प्रणालीमा प्रतिस्पर्धी बन्नका लागि मेडिकल इन्टर्नदेखि विशेषज्ञ (पीजी) तहको पाठ्यक्रममै ‘चिकित्सामा कृत्रिम बौद्धिकता’ जस्ता विषयहरू समावेश गराउन सरकार, विश्वविद्यालय र सरोकारवाला निकायहरूसँग जोडदार माग गर्नुपर्ने आवश्यकता छ।
यसका साथै, नेपालको भौगोलिक विशिष्टता र परिवेश सुहाउँदो ‘पर्वतीय चिकित्सा’को केन्द्र (हब) नेपाललाई नै बनाउन जेडीसीले पहल गर्नुपर्छ। यस विधालाई छिट्टै एउटा छुट्टै विशिष्टीकरण (विशेषज्ञता) को पाठ्यक्रमका रूपमा विकास गर्न र कार्यान्वयनमा ल्याउन आवाज उठाउनु नै चिकित्सा क्षेत्रमा नेपाली युवाहरूको सबैभन्दा नवीन र गर्विलो सहभागिता हुनेछ।
अन्ततः, इतिहासको गौरवशाली विरासत बोकेको नेपाल चिकित्सक संघ (एनएमए)लाई अझ बढी गतिशील, प्रविधिमैत्री र समयसान्दर्भिक बनाउने ऊर्जा जुनियर डक्टर्स कमिटी (जेडीसी)सँग मात्र छ। युवा चिकित्सकहरूको आर्थिक सुरक्षा, मानसिक स्वास्थ्यको रक्षा र कार्यस्थलको ग्यारेन्टी गर्दै उनीहरूलाई ‘चिकित्सा क्षेत्रमा युवा सहभागिता’ र प्रविधिको मूलधारमा समाहित गर्नु आजको बदलिँदो समयको अपरिहार्य माग हो। हामी युवाहरू नै भोलिको स्वास्थ्य प्रणालीका संवाहक हौँ, त्यसैले हाम्रो ऊर्जा र दृष्टिकोणले नै नेपालको चिकित्सा क्षेत्रको उज्ज्वल भविष्य कोर्नेछ।
(लेखक डा. बस्नेत नेपाल मेडिकल काउन्सिलका निर्वाचित सदस्य तथा एनएमए-जेडीसीका पूर्व उप-संयोजक हुन्।)