नेपालमा डिजिटल स्वास्थ्य सेवाको पहुँच विस्तारको बहस तीव्र भइरहेका बेला ‘द लास्ट माइल डिजिटल हेल्थ समिट २०२६’ आयोजना हुँदैछ। स्थानीय, प्रदेश र संघीय सरकारको आयोजना तथा समन्वयमा स्मार्ट हेल्थ ग्लोबल र स्वास्थ्य खबर फाउन्डेसनले उक्त समिटका लागि प्राविधिक सहयोग गरेका छन्। बाजुरा, धनगढी हुँदै काठमाडौंसम्म चरणबद्ध गरिने यो बहुस्तरीय समिटको उद्देश्य दुर्गम र सेवाबाट वञ्चित समुदायसम्म डिजिटल स्वास्थ्यको लाभ पुर्याउनु हो।
स्मार्ट हेल्थ ग्लोबल सीईओ मनोज खड्काका अनुसार, अहिले डिजिटल स्वास्थ्य प्रविधि शहरकेन्द्रित भए पनि वास्तविक आवश्यकताहरू गाउँ र दुर्गम बस्तीमा बढी देखिन्छन्। विशेषज्ञ चिकित्सकको पहुँच, डिजिटल साक्षरता, पूर्वाधार र नीति समन्वय जस्ता चुनौतीबीच समुदायका अनुभवलाई नै नीति निर्माणको आधार बनाउने प्रयासका रूपमा यो समिट अघि सारिएको छ। यसै सन्दर्भमा खड्कासँग रोमिका न्यौपानेले गरेको संवाद :
‘द लास्ट माइल डिजिटल हेल्थ समिट’ भनेको के हो ? यसको उद्देश्य के हो ?
‘द लास्ट माइल डिजिटल हेल्थ समिट २०२६’ को मुख्य उद्देश्य डिजिटल स्वास्थ्य सेवाको पहुँच लास्ट माइलमा नागरिकसम्म कसरी पुर्याउने भन्ने हो। अहिले डिजिटल प्रविधिको विकाससँगै स्वास्थ्य क्षेत्रमा धेरै परिवर्तन भएका छन्। तर ती सुविधाहरू मुख्यतः विकसित देश, विकसित शहर र पहुँचयुक्त क्षेत्रमा केन्द्रित छन्।
हामीले ‘लास्ट माइल’ भन्नाले दुर्गम, पछाडि परेका र सेवाबाट वञ्चित समुदायलाई बुझ्छौं। त्यहाँका नागरिकले डिजिटल स्वास्थ्य सेवाबाट कति लाभ लिइरहेका छन्, उनीहरूका चुनौती के छन्, उनीहरूका अनुभव के छन् भन्ने विषयलाई राष्ट्रिय बहसमा ल्याउने हाम्रो उद्देश्य हो।
यो समिटमार्फत समुदायका वास्तविक आवाज, अनुभव र आवश्यकतालाई नीति निर्माण तथा कार्यान्वयन प्रक्रियासँग जोड्ने प्रयास गरेका छौं।
धेरैजसो सम्मेलन काठमाडौं केन्द्रित हुन्छन्। तपाईंहरूले किन बाजुरा र सुदूरपश्चिम रोज्नुभयो ?
:यो हाम्रो कार्यक्रमको सबैभन्दा महत्वपूर्ण पक्ष हो। सामान्यतया नीति र कार्यक्रमको डिजाइन माथिबाट गरिन्छ। तर वास्तविक सेवा प्रयोगकर्ता भने गाउँमा बस्ने गर्भवती महिला, ज्येष्ठ नागरिक, दीर्घरोगी वा स्वास्थ्य सेवाबाट वञ्चित समुदाय हुन्।
नेपालका केही स्थानमा अझै पनि डाक्टर भेट्न दुई दिन हिँड्नुपर्ने अवस्था छ। कतिपयले जीवनभर विशेषज्ञ चिकित्सक देख्न पाउँदैनन्।
त्यसैले हामीले कार्यक्रमलाई तीन तहमा विभाजन गरेका छौं ।
पहिलो चरण बाजुरा : जहाँ समुदायसँग प्रत्यक्ष संवाद, स्थानीय नागरिक, गर्भवती महिला, स्वास्थ्यकर्मी र सेवाग्राहीका अनुभव संकलन र डिजिटल स्वास्थ्य र प्रविधिप्रतिको बुझाइ अध्ययन गरिनेछ।
दोस्रो चरण धनगढी : प्रदेशस्तरीय छलफल, स्थानीय तहका अनुभव प्रदेश सरकारसँग साझा गर्ने र सफल अभ्यास र चुनौतीबारे बहस गरिनेछ।
तेस्रो चरण काठमाडौं : संघीयस्तरको नीति संवाद गरिनेछ । जहाँ स्थानीय र प्रदेशस्तरबाट आएका अनुभवलाई राष्ट्रिय नीतिसँग जोड्ने प्रयास हुनेछ । हामी चाहन्छौं कि नीति निर्माण वास्तविक अनुभवमा आधारित होस्।
‘डिजिटल इन्क्लुजन’ र ‘डिजिटल इक्विटी’ अहिले धेरै चर्चामा छन्। स्वास्थ्य क्षेत्रमा यसको अर्थ के हो ?
अहिलेको समयमा डिजिटल साक्षरता पनि शैक्षिक साक्षरताजत्तिकै महत्वपूर्ण भइसकेको छ। डिजिटल इन्क्लुजन भनेको सबै नागरिकलाई डिजिटल सेवामा सहभागी गराउनु हो। डिजिटल इक्विटी भनेको सबैलाई समान अवसर उपलब्ध गराउनु हो।
अहिले दुई प्रकारका विभाजन देखिन्छन्, पहिलो, उमेरगत विभाजन र दोस्रो, भौगोलिक विभाजन ।
उमेरगत विभाजन भनेको युवा पुस्ता प्रविधिमा सहज छन्। पुरानो पुस्ता डिजिटल सेवाबाट धेरै हदसम्म बाहिर छ। भुगोलगत विभाजन भनेको शहरमा सेवा उपलब्ध छ। दुर्गम क्षेत्रमा इन्टरनेट, नेटवर्क र डिजिटल सीपको अभाव छ।
नेपाल सरकारले डिजिटल नेपालको अवधारणा अघि सारेको छ। तर नागरिकलाई डिजिटल रूपमा सक्षम नबनाई केवल प्रणाली डिजिटल बनाउँदा पर्याप्त हुँदैन।
त्यसैले स्थानीय तहमा डिजिटल साक्षरताका कार्यक्रम सञ्चालन गर्नु अत्यन्त आवश्यक छ।
अस्ट्रेलिया र नेपालको डिजिटल स्वास्थ्य अवस्थालाई तुलना गर्दा के फरक देख्नुहुन्छ ?
अस्ट्रेलिया र नेपालबीच स्रोत, पूर्वाधार र लगानीको हिसाबले ठूलो अन्तर छ। तर दुवै देशमा एउटा समानता छ-डिजिटल स्वास्थ्य आवश्यक छ भन्ने स्वीकारोक्ति।
अस्ट्रेलियामा अहिले मुख्य चुनौती ‘इन्टरअपरेबिलिटी’ हो। अर्थात् विभिन्न डिजिटल प्रणालीबीच सूचना आदानप्रदान कसरी गर्ने भन्ने प्रश्न। नेपालमा भने आधारभूत पूर्वाधार, इन्टरनेट पहुँच, दक्ष जनशक्ति र डिजिटल साक्षरता अझै चुनौतीका रूपमा छन्।
यद्यपि नेपालले राम्रो सुरुवात गरिसकेको छ। विभिन्न संस्था र सरकारी निकायहरूले काम गरिरहेका छन्। यदि राष्ट्रिय स्तरमा स्पष्ट मापदण्ड र समन्वय स्थापित गर्न सकियो भने ठूलो प्रगति सम्भव छ।
नेपालमा डिजिटल स्वास्थ्य अपेक्षित रूपमा अगाडि बढ्न नसक्नुको मुख्य कारण के हो ?
मेरो विचारमा सबैभन्दा ठूलो चुनौती नेतृत्व र समन्वयको हो। हामीले धेरै एप र सफ्टवेयर बनायौं। तर एउटा साझा मापदण्ड र प्रणाली विकास गर्न सकेनौं।
डिजिटल स्वास्थ्य भनेको केवल एप बनाउनु होइन। यसमा समावेश निम्न कुरा समावेश हुन्छन् :
• स्वास्थ्य सेवा डिजाइन
• प्रयोगकर्ताको अनुभव
• स्वास्थ्यकर्मीको आवश्यकता
• डेटा व्यवस्थापन
• नीति तथा कानुनी व्यवस्था
• प्रविधि
अहिले पनि कतिपय ठाउँमा डिजिटल स्वास्थ्यलाई ‘आईटीको काम’ भनेर मात्रै बुझ्ने गरिएको छ। तर डिजिटल स्वास्थ्य बहुआयामिक विषय हो।
त्यसका लागि स्वास्थ्य मन्त्रालयभित्र समर्पित डिजिटल हेल्थ संरचना र बहु-विषयगत विशेषज्ञ टोली आवश्यक छ।
स्मार्ट हेल्थ ग्लोबल कसरी सुरु भयो ?
स्मार्ट हेल्थ ग्लोबलको सुरुवात नै बाजुराबाट भएको हो। सन् २०२० तिर सार्वजनिक स्वास्थ्य, स्वास्थ्य प्रविधि, डिजाइन र सफ्टवेयर क्षेत्रमा काम गरिरहेका केही साथीहरू मिलेर हामीले संस्था स्थापना गर्यौं।
हामीले सुरुमा समुदायसँग छलफल गर्यौं। त्यहाँ सबैभन्दा ठूलो समस्या विशेषज्ञ चिकित्सकको पहुँच नहुनु थियो।
त्यसपछि हामीले टेलिहेल्थ सेवाबाट काम सुरु गर्यौं। सुरुवातमा बाजुरा र डोटीका स्वास्थ्य संस्थामा परीक्षण गरियो। हाम्रो अनुमान थियो कि समुदायले भिडियोमार्फत चिकित्सकीय परामर्शलाई सहज रूपमा स्वीकार नगर्न सक्छ।
तर परिणाम उल्टो आयो। सेवा लिएपछि अन्य महिलाहरू पनि लाइनमा बसेर ‘मलाई पनि देखाइदिनुस्’ भन्न थाले। त्यसपछि हामीलाई थाहा भयो, यदि सेवा उपयोगी छ भने समुदाय प्रविधि अपनाउन तयार छ।
अहिले स्मार्ट हेल्थ ग्लोबलको दीर्घकालीन लक्ष्य के हो ?
हाम्रो मुख्य लक्ष्य समुदायस्तरको स्वास्थ्य प्रणालीलाई डिजिटल रूपमा सुदृढ बनाउनु हो।
हामी चाहन्छौं :
• प्रत्येक नागरिकको डिजिटल स्वास्थ्य प्रोफाइल बनोस्।
• स्वास्थ्य अभिलेख सुरक्षित रूपमा उपलब्ध होस्।
• टेलिहेल्थ सेवा नियमित बनोस्।
• स्वास्थ्य संस्थाहरू डिजिटल बनून्।
• स्थानीय सरकार डिजिटल स्वास्थ्य योजनामा सक्षम बनून्।
हामी विश्वास गर्छौं कि डिजिटल स्वास्थ्यले स्वास्थ्यकर्मीलाई प्रतिस्थापन गर्दैन, तर उनीहरूको क्षमता बढाउँछ। एआई, टेलिहेल्थ, डिजिटल रेकर्ड र डेटा विश्लेषण जस्ता उपकरणले स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउन सक्छन्।
अन्त्यमा, ‘द लास्ट माइल डिजिटल हेल्थ समिट २०२६’ बाट तपाईंको अपेक्षा के छ ?
हाम्रो अपेक्षा स्पष्ट छ: स्थानीय समुदायको आवाज राष्ट्रिय नीतिसम्म पुग्नुपर्छ। हामीजस्ता संस्था, सरकार, विकास साझेदार, स्वास्थ्यकर्मी र समुदाय एउटै मञ्चमा आएर अनुभव आदानप्रदान गरून् भन्ने चाहन्छौं।
यदि यस समिटबाट प्राप्त सुझावहरूले डिजिटल स्वास्थ्य नीतिलाई थप प्रभावकारी बनाउन मद्दत गरे भने हाम्रो उद्देश्य पूरा भएको ठान्नेछौं।