काठमाडौं – करिब ४ सय वर्ष पुरानो गौरवमय इतिहास बोकेको सिंहदरबार वैद्यखाना आफ्ना उत्पादनका कारण नेपाली समाजमा सधैँ लोकप्रिय रहँदै आएको छ। वैद्यखानाका कतिपय आयुर्वेदिक उत्पादनहरू त विश्वपरिचितसमेत छन्। मल्लकालीन राजा प्रताप मल्लको कार्यकालमा राजपरिवारको स्वास्थ्य, उपचार र औषधिका लागि स्थापना गरिएको यो ऐतिहासिक संस्थाले आधुनिक नेपालको स्वास्थ्य प्रणालीमा पनि लामो समय बलियो जग गाड्यो।
कुनै समय नेपालको आयुर्वेद औषधि उत्पादनमा मात्रै ८० प्रतिशत हिस्सा ओगटेको यो रैथाने संस्था पछिल्ला वर्षहरूमा भने राजनीतिक खिचातानी र स्वार्थको अखडा बन्न पुग्यो। नेतृत्वमा आउनेहरूको राजनीतिक, आर्थिक तथा व्यक्तिगत लाभ लिने प्रवृत्तिका कारण देशकै धरोहर मानिएको सिंहदरबार वैद्यखानाको उत्पादन ठप्पप्रायः भयो र यो बन्द हुने स्थितिमा पुग्यो।
तर, विगतको त्यो निराशाजनक अवस्था अहिले फेरिएको छ। झन्डै बन्द हुने अवस्थामा पुगेको वैद्यखानालाई नयाँ गति दिँदै पुनरुत्थानको बाटो तर्फ लगेका छन् डा प्रदीप केसी नेतृत्वको टिम।
वैद्यखानाको निर्देशकका रूपमा डा. प्रदीप केसी आएसँगै उनले उत्पादन बढाउनेदेखि व्यापारिक गतिविधिलाई व्यापक बनाएका छन्। डा केसी नेतृत्वको टिमले बजारमा औषधि पठाएर, सरकारी अस्पतालका सशुल्क फार्मेसीहरूसँग औषधि बिक्रीको सम्झौता गरेर तथा सरकार-देखि-सरकार (जिटुजी) माध्यमबाट काम गरेर वैद्यखानाको पुरानो साख फर्काइरहेका छन्।
अहिले वैद्यखानाले सुर्खेत, झापा, हेटौँडा, पोखरा र लुम्बिनी लगायतका स्थानका विभिन्न अस्पतालहरूसँग सम्झौता गरी कामलाई तीव्रताका साथ अगाडि बढाएको छ। सरकारले निःशुल्क रूपमा प्रदान गर्दै आइरहेको ३५ किसिमका आयुर्वेद औषधिमध्ये ३२ प्रकारका औषधिहरू करिब १ सय २० भन्दा बढी सरकारी संस्थाहरूलाई उपलब्ध गराइसकेको निर्देशक डा. केसी बताउँछन्। माग फारम आएकामध्ये थप १० देखि १५ वटा संस्थालाई अझै औषधि उपलब्ध गराउने कार्य जारी छ।
नेपालका सबै प्रदेश अन्तर्गतका स्वास्थ्य संस्थामा वैद्यखानाले उत्पादन गरेको औषधि पुगिसकेको छ। केही दिनअघि मात्रै मधेस प्रदेशको जनकपुरबाट पनि यस कार्यको औपचारिक थालनी भइसकेको डा. केसीले जानकारी दिए।
घाटाको संस्थाबाट करोडौँ नाफाको यात्रा
विगतमा धराशायी बनेको वैद्यखाना चालु आर्थिक वर्ष २०८२/८३ मा खर्च कटाएर करिब ४ देखि ५ करोड रुपैयाँ खुद नाफा (सञ्चित कोष) मा जान सक्ने डा. केसीको दाबी छ। आर्थिक वर्षको सुरुवात अर्थात् पहिलो त्रैमासिकदेखि नै वैद्यखाना निरन्तर नाफामा रहँदै आएको छ।
हालसम्म करिब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन गत सालको तुलनामा झन्डै ३ गुणा बढी हो। गत आर्थिक वर्षमा जम्मा ४ करोड बराबरको मात्रै कारोबार सीमित भएको थियो। वैद्यखानाले २०८२ साउनमा कोशी प्रदेशसँग कारोबारको पहिलो सम्झौता गरेर यो व्यावसायिक पुनर्जागरणको यात्रा सुरु गरेको थियो।
व्यक्तिगत स्वार्थभन्दा माथि उठ्दा सम्भव भयो परिवर्तन
सिंहदरबार वैद्यखानाले हाल च्यवनप्राश, त्रिफला चूर्ण, तुलसी चिया, दशमूल तेल लगायत १ सय ५ प्रकारका औषधिहरू उत्पादन गर्दै आइरहेको छ। यो आर्थिक वर्षभित्रै अझै ५ देखि १० प्रकारका थप औषधिहरूको उत्पादन सुरु गरिने डा. केसीले जानकारी दिए।
कुनै दिन करिब ३ सय प्रतिशतसम्म घाटामा रहेको वैद्यखानालाई यो स्थानमा ल्याउन कसरी सम्भव भयो त? निर्देशक डा. केसी भन्छन्, 'कामप्रतिको शून्य सहनशीलता तथा काम नगरी विकल्पै छैन भन्ने दृढ सोचका साथ अघि बढ्नाले यो सफलता मिलेको हो।' उनले यो सफलतामा वैद्यखानाका कर्मचारीहरुको साथ र सहयोग पनि उत्तिकै रहेको जानकारी दिए।
आफू नेतृत्वमा आएपछि सार्वजनिक खरिद ऐनअन्तर्गत जडिबुटी तथा कच्चा पदार्थको खरिद कार्यलाई पूर्ण पारदर्शी र नियमसङ्गत ढङ्गले अगाडि बढाउनु नै सुधारको मुख्य कडी भएको उनको दाबी छ। उपलब्ध जनशक्तिलाई कामप्रति अधिक उत्तरदायी बनाएर तथा भएका स्रोत-साधनको अधिकतम प्रयोग गरी परिणाममुखी काम गरिएको छ। कतिपय कर्मचारीहरूलाई अतिरिक्त समय तथा बिदाको दिनमा काम गरेको भत्ता उपलब्ध गराएर पनि वैद्यखानालाई सुधारतर्फ अगाडि बढाउन ऊर्जा मिलेको उनले सुनाए।
'वैद्यखानाको नेतृत्वमा आएलगतै सुरुमा यहाँको सुधार सम्भव छैन जस्तो लाग्थ्यो। तर, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्दा असम्भव भने केही रहेनछ,' उनले भने।
डा केसीले यसअघि भद्रगोल अवस्थामा रहेको नरदेवी अस्पतालको पनि सुधार गरेर देखाएका थिए। उनकै नेतृत्वमा नरदेवीले नयाँ गति लिएको थियो।
सरकारी बजेटको अभाव र आधुनिकीकरणको योजना
सरकारले वैद्यखानालाई एकदमै न्यून बजेट मात्रै विनियोजन गरेको भन्दै डा केसी बजेट बढाउनु पर्ने विषयमा जोड दिन्छन्। 'हामीले कम्तीमा पनि ५ करोड रुपैयाँ प्रत्येक वर्ष दिनुपर्छ भन्दै आएका छौँ,' डा. केसीले भने, 'अघिल्लो आर्थिक वर्षको अन्त्यतिर अर्थमन्त्रालयबाट डेढ करोड रुपैयाँ बजेट प्राप्त भएको थियो, जसले काम अघि बढाउन ठूलो राहत मिल्यो।' नेपाल सरकारले वैद्यखानालाई पुँजीगत अनुदान दिएमा उक्त रकम सीधै उत्पादन बढाउनमा लगाउन सकिने उनको धारणा छ।
आगामी आर्थिक वर्षमा ट्याब्लेट तथा पाउडर औषधिहरूलाई जीएमपी मोडलमा उत्पादन गर्ने तयारी गरिएको छ। यसअघि वैद्यखानाका चुलाहरू पुराना र परम्परागत भएकाले अहिले आधुनिक चुलो जडान गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ।
कारोबारलाई पारदर्शी बनाइँदै, जनशक्तिको चुनौती कायमै
कारोबारलाई थप पारदर्शी बनाउन र उत्पादनसम्बन्धी डिजिटल जानकारी दिनका लागि वैद्यखानामा केही दिनभित्रै कम्युटराइज प्रणाली र 'इलेक्ट्रोनिक बिलिङ' प्रणाली लागू गर्ने योजना रहेको डा केसीले जानकारी दिए।
हाल वैद्यखाना विकास समितितर्फ ३६–३७ जना स्थायी कर्मचारी, नेपाल सरकारको तर्फबाट ४ जना, करारका कार्यालय सहयोगी ८ जना र ज्यालादारी तथा अन्य विशेष किसिमको काम गर्ने गरी कुल ७0 जनाको हाराहारीमा जनशक्ति कार्यरत छन्। यी सबै कर्मचारीहरूको पारिश्रमिकमा मात्रै मासिक करिब २० देखि २५ लाख रुपैयाँ खर्च हुने गरेको छ।
तर, वैद्यखानामा नेपाल सरकारको स्थायी दरबन्दी नहुँदा दीर्घकालीन काम गर्नमा चुनौती थपिएको डा. केसी स्वीकार गर्छन्। यदि विकास समितिले नै वैद्यखाना चलाउने हो भने सोही अनुसार नियुक्ति दिएर स्पष्ट मार्गचित्रका साथ काम गरिनुपर्ने उनको धारणा छ। यसका साथै वैद्यखानाको भौतिक संरचना, औजार तथा उपकरणहरू एकदमै पुराना भइसकेकाले त्यसको वैज्ञानिक व्यवस्थापन र स्तरोन्नतिका लागि स्वास्थ्य मन्त्रालयले विशेष ध्यान र सहयोग दिनुपर्नेमा उनी जोड दिन्छन्।