धुलिखेल। धुलिखेल अस्पतालमा १० शय्याको ‘नबिल बर्न केयर वार्ड’ सञ्चालनमा आएको छ। आगोलागी तथा तातोवस्तुमा परेर जलनको समस्यामा परेका बिरामीलाई विशिष्टीकृत उपचार तथा पुनर्स्थापना सेवा उपलब्ध गराउने उद्देश्यले नबिल बर्न केयर वार्ड सञ्चालनमा ल्याइएको हो ।
नबिल बैंक लिमिटेडको सहयोगमा स्थापना गरिएको उक्त वार्डको मंगलबार एक समारोहबीच उद्घाटन गरिएकोछ । नबिल बैंक सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरी र धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक प्राडा रामकण्ठ माकजु श्रेष्ठले संयुक्त रूपमा वार्डको उद्घाटन गरेका हुन्।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम ‘नबिल केयर’ अन्तर्गत स्थापना गरिएको वार्डबाट जलनमा परेका बिरामीले आकस्मिक उपचार, शल्यक्रिया, पुनर्स्थापना तथा मनोसामाजिक परामर्शलगायतका एकीकृत स्वास्थ्य सेवा प्राप्त गर्नेछन्।
नबिल बैंकका अध्यक्ष चौधरीले संस्थाको सफलता समाजमा पार्ने सकारात्मक प्रभावबाट मापन हुने बताए। जलनमा परेका बिरामीको उपचार लामो र पीडादायी हुने उल्लेख गर्दै उनले आर्थिक तथा भौतिक सुविधाको अभावमा कसैले पनि उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य पूर्वाधारमा लगानी गरिएको बताए।
त्यस्तै, बैंकका सीईओ मनोजकुमार ज्ञवालीले यसअघि सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र मधेस प्रदेशमा सञ्चालन गरिएका निःशुल्क स्वास्थ्य शिविरमार्फत करिब ५०० जलन प्रभावितको उपचार गरिसकिएको जानकारी दिए। धुलिखेल अस्पतालमा स्थापना गरिएको वार्ड उक्त अभियानको दीर्घकालीन विस्तार भएको उनको भनाइ थियो।
धुलिखेल अस्पतालका कार्यकारी निर्देशक प्राडा श्रेष्ठले नयाँ वार्ड सञ्चालनमा आएसँगै ग्रामीण क्षेत्रका नागरिकले समेत विशेषज्ञ जलन उपचार सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे। नबिल बैंकसँगको सहकार्यले नेपालको जलन उपचार क्षेत्रमा उदाहरणीय पहल स्थापित गर्ने उनले बताए।
आर्थिक अवस्था वा सामाजिक पृष्ठभूमिका कारण कुनै पनि नागरिक गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने अस्पतालको नीतिलाई नयाँ वार्डले थप सहयोग पुग्ने अस्पताल प्रशासनले जनाएको छ।
विशिष्टीकृत उपचार, शल्यक्रिया, पुनर्स्थापना र मनोसामाजिक परामर्शलाई एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको यस वार्डले नेपालमा जलन उपचार सेवालाई थप व्यवस्थित र पहुँचयोग्य बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।