बर्दिवास- चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सर्वसाधारणको पहुँचमा पुर्याउन लामो समयदेखि अभियान चलाउँदै आएका डा. गोविन्द केसीले सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन नगरे फेरि सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन्।
महोत्तरीको बर्दिवासमा रहेका डा. केसीले बर्दिवास मेडिकल कलेजसहित देशका विभिन्न स्थानमा प्रस्तावित मेडिकल कलेज निर्माण प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गरेका छन्। सरकारले पटकपटक सहमति गरे पनि कार्यान्वयन नगरेका कारण आफू फेरि आन्दोलन गर्नुपर्ने अवस्थामा पुगेको उनको भनाइ छ।
बर्दिवास मेडिकल कलेज निर्माणको माग आफूले धेरै वर्षअघिदेखि उठाउँदै आएको बताउँदै उनले यो क्षेत्र मधेशका साथै आसपासका पहाडी जिल्लाका बासिन्दाका लागि स्वास्थ्य शिक्षा र सेवाको केन्द्र बन्न सक्ने बताए।
‘म देशका ७७ वटै जिल्लामा पुगेको छु। विदेशमा पनि अध्ययन र तालिमका क्रममा विभिन्न देशको स्वास्थ्य शिक्षा र सेवा देखेको छु। कुन ठाउँमा मेडिकल कलेज बनाउँदा बढी उपयोगी हुन्छ भन्ने बुझेरै मैले बर्दिवासलाई उपयुक्त स्थान भनेको हुँ,’ उनले भने।
आफ्नो निरन्तरको अभियान र दबाबकै कारण बर्दिवास मेडिकल कलेज निर्माणको विषय अघि बढेको उनको दाबी छ। आफूले मेडिकल कलेज निर्माण गर्ने जिम्मेवारी नभई सरकारलाई जनताप्रति जवाफदेही बनाउने काम गरिरहेको उनले स्पष्ट पारे।
डा. केसीले बर्दिवास मेडिकल कलेज निर्माण आफ्नो चिकित्सा शिक्षा सुधार अभियानका विभिन्न सहमतिमध्येको एउटा प्रमुख माग भएको बताए। स्वास्थ्य शिक्षा, स्वास्थ्य सेवा, सुशासन र सामाजिक न्यायका क्षेत्रमा भएका सबै सहमति कार्यान्वयन हुनुपर्ने उनको माग छ।
उनका अनुसार पछिल्लो समय पनि सरकारसँग सहमति भएको छ। तर त्यसलाई कार्यान्वयन गर्नुको सट्टा उल्ट्याउने प्रयास भइरहेको छ। बर्दिवास मेडिकल कलेज निर्माणका लागि आवश्यक विकास समिति नै खारेज गरिएको विषयबारे सम्बन्धित मन्त्रीसमेत जानकार नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
‘सरकारसँग सहमति भएको छ। शिक्षा मन्त्रीले पनि हुन्छ भन्नुभएको छ। तर विकास समिति नै छैन भन्ने कुरा मैले यहाँ आएर थाहा पाएँ। यति कुरा पनि सम्बन्धित मन्त्रीलाई थाहा छैन,’ उनले भने।
सरकारका मन्त्रीहरू पटकपटक बर्दिवास आएर अवलोकन गरे पनि ठोस काम नभएको भन्दै उनले आश्वासनले मात्रै जनताको आवश्यकता पूरा नहुने बताए। सरकारले जनतालाई ललिपप खुवाएर फर्किने गरेको उनको आरोप छ।
डा. केसीले स्वास्थ्य र चिकित्सा शिक्षामा भइरहेको व्यापारीकरणलाई मुलुकको प्रमुख समस्याका रूपमा औँल्याए। मेडिकल शिक्षा नाफामूलक व्यापार नभई जनताको सेवासँग जोडिएको विषय भएकाले सरकारी स्वामित्वमा मेडिकल कलेज र अस्पताल विस्तार गर्नुपर्ने उनको भनाइ छ।
‘मेडिकल एजुकेसन भनेको गैरनाफामूलक संस्था हो। विकसित देशहरूमा पनि मेडिकल शिक्षाको व्यापारीकरण गरिएको छैन। सरकारी स्वामित्वमा मेडिकल कलेज र अस्पताल खोलिनुपर्छ,’ उनले भने।
उनले वर्तमान सरकारको स्वास्थ्य र शिक्षा क्षेत्रसम्बन्धी नीति जनहित र सुशासनविपरीत रहेको आरोप लगाए। विगतका सरकारहरूले जनदबाबका कारण भए पनि केही माग सम्बोधन गर्ने गरेको तर अहिलेको सरकारले त्यति पनि नगरेको उनको टिप्पणी छ।
‘स्वास्थ्य सेवा र मेडिकल शिक्षामा चरम व्यापारीकरण भइरहेको छ। सरकारी मेडिकल कलेज खोल्नेतर्फ पनि पर्याप्त चासो देखिएको छैन। जनताको स्वास्थ्यप्रति सरकार गम्भीर देखिएको छैन,’ उनले भने।
डा. केसीले चिकित्सा शिक्षा सुधारका लागि आफूले झन्डै अढाई दशकदेखि अभियान चलाउँदै आएको उल्लेख गर्दै नेतृत्व तहको गैरजिम्मेवारीका कारण आवाज उठाउनुपर्ने अवस्था आएको बताए।
‘मैले देशका विभिन्न जिल्लामा पुगेर स्वास्थ्य सेवाको अवस्था देखेको छु। नेतृत्व पक्षबाट आम नेपाली ठगिएका छन्। यस्तो अवस्थामा कसैले आवाज उठाउनुपर्छ। मैले देखेको कुरा नबोले कसले बोल्ने?’ उनले प्रश्न गरे।
आफ्नो स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै सत्याग्रह नगर्न आग्रह गर्ने नेपालीप्रति आभार व्यक्त गर्दै डा. केसीले व्यक्तिगत स्वास्थ्यभन्दा तीन करोड नेपालीको स्वास्थ्य महत्वपूर्ण रहेको बताए।
‘मेरो स्वास्थ्यप्रति चासो र सद्भाव राख्ने सबैप्रति कृतज्ञ छु। तर मेरो एउटा स्वास्थ्यभन्दा तीन करोड नेपालीको स्वास्थ्य महत्वपूर्ण छ। सरकारले कुरा सुनेर सम्झौता कार्यान्वयन गरिदिने हो भने सत्याग्रह बस्नुपर्ने आवश्यकता नै हुँदैन,’ उनले भने।
सरकारले माग सम्बोधन गर्ने समय दिएर आफूले केही समय पर्खिएको बताउँदै उनले सत्याग्रहका लागि आफू बर्दिवास आएको स्पष्ट पारे। अभियानमा आफूसँग जोडिएका अन्य अभियन्ता पनि सक्रिय रहेकाले उनीहरूको भूमिकालाई समेत ध्यान दिनुपर्ने उनको भनाइ छ।
‘म सत्याग्रह गर्नकै लागि यहाँ आएको हुँ। सरकारले समयभित्र काम गर्छौं भनिरहेको हुनाले केही समय पर्खिएको हुँ। तर सरकारले गम्भीरतापूर्वक लिएन भने आन्दोलन अघि बढ्छ,’ उनले भने।
डा. केसीले आफू कुनै पद वा व्यक्तिगत आकांक्षाका लागि अभियानमा नलागेको पनि स्पष्ट पारे। आफूले चिकित्सक र प्राध्यापकका रूपमा बिरामीको उपचार तथा चिकित्सक उत्पादन गर्ने काम गर्नुपर्ने भए पनि देशको स्वास्थ्य सेवाको अवस्था देखेर सुधार अभियानमा लागेको उनको भनाइ छ।
‘राज्यले यसलाई गम्भीर रूपमा लिनुपर्छ। लिँदैन भने गम्भीर रूपमा लिनुपर्ने बाध्यता सिर्जना गरिन्छ,’ उनले भने।
सरकारले स्वास्थ्य शिक्षा र सेवासम्बन्धी सहमति इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले जनताले सरकारको कामको मूल्यांकन गरिरहेको बताए।
‘एकै रातमा सबै कुरा परिवर्तन हुन सक्दैन। तर इमानदारी त हुनुपर्यो नि। सरकारले इमानदारीपूर्वक काम गरिरहेको छ कि छैन भन्ने कुरा जनताले बुझ्छन्,’ उनले भने।