जाडो सुरु भएसँगै जोर्नी दुख्ने गुनासो बढ्छ। धेरैजसो हामी यसलाई उमेरको असर भनेर चित्त बुझाउँछौँ। तर जोर्नी दुख्नुको कारण सधैँ उमेर नै हुँदैन। कहिलेकाहीँ यसको जरो स्वप्रतिरक्षा रोग (autoimmune disease) हुन्छ।
शरीरलाई बाहिरी संक्रमणबाट जोगाउने प्रतिरक्षा प्रणाली (immune system) ले यस्ता रोगमा गल्तीले आफ्नै शरीरका प्रोटिनलाई बाहिरी शत्रु ठानेर आक्रमण गर्न थाल्छ। जोर्नीको दुखाइ वा रुमाटोइड आर्थराइटिस (Rheumatoid Arthritis) मा यस्तै आक्रमण जोर्नीको भित्री तहमा हुन्छ। त्यहाँ सुजन (inflammation) आउँछ, अनि जोर्नी दुख्छ।
रुमाटोइड आर्थराइटिस जस्ता स्वप्रतिरक्षा रोग किन लाग्छ भन्ने प्रश्नको एउटै जवाफ छैन। वंशाणुगत कारण, प्रदूषण, खानपान र धूम्रपानको भूमिकाबारे अध्ययन भइरहेको छ। शरीरमा बस्ने सूक्ष्मजीवको भूमिकाबारे पनि खोजी हुँदै छ, तर सबै कुरा अझै स्पष्ट भइसकेको छैन। यीमध्ये कम चर्चा हुने एउटा विषय मुखमा बस्ने सूक्ष्मजीव (microbes) हो। आन्द्रा, पेट र छालामा जस्तै मुख पनि सूक्ष्मजीवको बासस्थान हो।
हाम्रो मुखमा सयौँ किसिमका ब्याक्टेरिया, फङ्गस र भाइरस बस्छन्। ती सबै हानिकारक हुँदैनन्। धेरैले त मुखको सन्तुलन जोगाउन मद्दत नै गर्छन्। मुखको सरसफाइमा ध्यान नदिए, गुलियो धेरै खाए वा चुरोट र खैनीजस्ता सुर्तीजन्य पदार्थ सेवन गरे यो सन्तुलन बिग्रन्छ। यसलाई माइक्रोबियल डिस्बायोसिस (microbial dysbiosis) भनिन्छ। यस्तो बेला हानिकारक ब्याक्टेरिया बढ्छन् र गिजा सुन्निने जोखिम पनि बढ्छ। दाँत नियमित सफा नगर्दा त्यसमा प्लाक (dental plaque), अर्थात् ब्याक्टेरियाले बनाएको पातलो तह जम्छ। गिजा रातो हुन्छ, सुन्निन्छ र ब्रस गर्दा रगत आउन थाल्छ। समयमै उपचार नगरे रोग दाँतलाई अड्याएर राख्ने हड्डीसम्म पुग्न सक्छ। यो अवस्थालाई पेरियोडन्टाइटिस (periodontitis) भनिन्छ।
संसारका विभिन्न अध्ययनमा रुमाटोइड आर्थराइटिस भएकामा गिजाको रोग पनि बढी भेटिएको छ। यी दुईबीच किन यस्तो सम्बन्ध देखिन्छ भन्नेबारे वैज्ञानिकले केही सम्भावित कारण खोजिरहेका छन्। मुखको सन्तुलन बिग्रँदा Porphyromonas gingivalis र Treponema denticola जस्ता पेरियोडन्टाइटिससँग सम्बन्धित ब्याक्टेरिया बढ्न सक्छन्। दाँत किराले खाने (क्षय) सँग सम्बन्धित Streptococcus mutans जस्ता ब्याक्टेरियाको सन्तुलन पनि फेरिन सक्छ। यिनले बनाउने पदार्थ र एन्जाइमले मुखका तन्तुमा सुजन ल्याउँछन् र गिजाको रोग बढाउन भूमिका खेल्न सक्छन्।
यो अवस्थामा ब्याक्टेरिया वा तिनले बनाएका पदार्थ रगतमा पस्न सक्छन्। त्यसपछि के हुन्छ भन्नेबारे दुईवटा सम्भावित प्रक्रिया अध्ययन भइरहेका छन्।
एउटा सम्भावना यस्तो छ: ब्याक्टेरियाका केही प्रोटिन खण्ड (epitopes) हाम्रै शरीरका प्रोटिनसँग मिल्दाजुल्दा हुन सक्छन्। ब्याक्टेरियासँग लड्न बनेका एन्टिबडी (antibodies) ले यही समानताका कारण आफ्नै शरीरका प्रोटिनलाई पनि चिन्न सक्छन् र त्यसविरुद्ध प्रतिक्रिया देखाउन सक्छन्। यसलाई मोलिक्युलर मिमिक्री (molecular mimicry) भनिन्छ।
अर्को सम्भावना सिट्रुलिनेशन (citrullination) सँग जोडिएको छ। केही ब्याक्टेरियाले बनाउने एन्जाइमले शरीरका प्रोटिनमा रासायनिक परिवर्तन ल्याउन सक्छ। Porphyromonas gingivalis ले बनाउने PPAD एन्जाइमले यस्तो काम गर्न सक्छ। प्रतिरक्षा प्रणालीले ती परिवर्तित प्रोटिनलाई असामान्य ठानेर आक्रमण गर्न सक्छ। रुमाटोइड आर्थराइटिसमा पनि सिट्रुलिनेटेड प्रोटिनविरुद्ध प्रतिरक्षा प्रतिक्रिया देखिने भएकाले यो सम्बन्ध अध्ययनको विषय बनेको हो।
नेपालमा पनि यस विषयमा केही अध्ययन भएका छन्। सन् २०२० मा प्रकाशित एउटा अध्ययनमा सन् २०१६ जुलाईदेखि २०१७ जनवरीसम्म वीर अस्पतालको अर्थोपेडिक्स विभागमा उपचार गराउन आएका रुमाटोइड आर्थराइटिसका ४३ जना बिरामी समेटिएका थिए। तीमध्ये ३७ जना (८६.०४ प्रतिशत) मा पेरियोडन्टाइटिस भेटियो। बिरामीको औसत उमेर ५०.४१ ± ९ वर्ष थियो। पेरियोडन्टाइटिस भएकामध्ये ४ जनामा हल्का, २४ जनामा मध्यम र ९ जनामा गम्भीर खालको रोग देखियो। अध्ययनमा महिला पुरुषभन्दा तीन गुणा बढी थिए।
-1795931142.png)
स्रोत: Shrestha S, Pradhan S, Adhikari B. J Nepal Health Res Counc, 2020 ·
सन् २०१३ मा Kathmandu University Medical Journalमा प्रकाशित अर्को अध्ययनमा रुमाटोइड आर्थराइटिस भएका ५० जना बिरामी र उस्तै उमेर तथा लिङ्गका ५० जना व्यक्तिको तुलना गरिएको थियो। दुवै समूहमा दाँतमा प्लाकको मात्रा उस्तै भए पनि आर्थराइटिस भएका बिरामीमा गिजाको सुजन र दाँत वरिपरिको हड्डीको क्षय बढी देखिएको थियो।
नेपालमा मुखको स्वास्थ्य चुनौतीपूर्ण छ। जनसमुदायको मुखको स्वास्थ्यबारे भएका अध्ययनहरूले पनि ध्यान दिनुपर्ने अवस्था देखाएका छन्। सन् २०१३ मार्चदेखि अगस्टसम्म नेपाल मेडिकल कलेज, जोरपाटीको दन्त विभागमा आएका ४१७ जना वयस्कमा गरिएको अध्ययनमा ४७.५ प्रतिशतमा पेरियोडन्टाइटिस भेटिएको थियो। सहभागीमध्ये ६८.८ प्रतिशतले दिनमा एक पटक र २९.५ प्रतिशतले दिनमा दुई पटक दाँत माझ्ने गरेका थिए भने १.७ प्रतिशतले कहिलेकाहीँ मात्र दाँत माझ्ने गरेका थिए। पेरियोडन्टाइटिसको दर दिनमा एक पटक दाँत माझ्नेमा ५१.६ प्रतिशत र दिनमा दुई पटक दाँत माझ्नेमा ३५ प्रतिशत थियो।
-1795931157.png)
स्रोत: Rajkarnikar J, Acharya J, Journal of College of Medical Sciences-Nepal 2014
धूम्रपान गर्ने सहभागीमध्ये ८४.५ प्रतिशत र सुर्ती चपाउने सहभागीमध्ये सबैमा पेरियोडन्टाइटिस देखिएको थियो। धूम्रपान र सुर्ती सेवन नगर्ने सहभागीमध्ये भने ३३.७ प्रतिशतमा पेरियोडन्टाइटिस भेटिएको थियो। यस अध्ययनमा धूम्रपान, सुर्ती सेवन र दाँत माझ्ने आवृत्तिसँग पेरियोडन्टाइटिसको सम्बन्ध सांख्यिकीय रूपमा उल्लेखनीय देखिएको थियो।
-1795931217.png)
स्रोत: Rajkarnikar J, Acharya J, Journal of College of Medical Sciences-Nepal 2014
मुखको स्वास्थ्यसँगै त्यहाँ बस्ने सूक्ष्मजीवहरूको विविधता बुझ्न पनि नेपालमा अध्ययन भएको छ। सन् २०२४ मा Journal of Nepal Biotechnology Associationमा प्रकाशित एक अध्ययनले नेपालका १६ जिल्लाका १७ स्थानबाट संकलित १५३ वटा दाँत, दन्त प्लाक र दन्त क्याल्कुलसका नमुना विश्लेषण गरेको थियो। अध्ययनमा ६० प्रजातिका ब्याक्टेरिया पहिचान गरिएका थिए। तीमध्ये Streptococcus mutans र Porphyromonas gingivalis जस्ता मुखका रोगसँग सम्बन्धित ब्याक्टेरिया पनि भेटिएका थिए। अध्ययनले Prevotella र Veillonella को बढी उपस्थिति कमजोर मुख स्वास्थ्य तथा सरसफाइसँग सम्बन्धित हुन सक्ने उल्लेख गरेको थियो। यद्यपि, यस अध्ययनले यी ब्याक्टेरिया कति प्रतिशत जनसंख्यामा छन् वा तिनको उपस्थितिले रुमाटोइड आर्थराइटिससँग प्रत्यक्ष सम्बन्ध राख्छ कि राख्दैन भन्ने परीक्षण गरेको थिएन।
मुखको स्वास्थ्य र जोर्नीको दुखाइबीच सम्भावित सम्बन्धलाई ध्यानमा राख्दै सबैभन्दा पहिले दैनिक मुखको सरसफाइमा ध्यान दिनुपर्छ। दिनमा कम्तीमा दुई पटक फ्लोराइडयुक्त मञ्जनले दाँत माझ्ने, दाँतको बीचमा अड्किएका खानेकुरा सफा गर्ने, गुलियो खानेकुराको सेवन कम गर्ने र धूमपान तथा खैनीजस्ता सुर्तीजन्य पदार्थबाट टाढा रहने बानी बसाल्नुपर्छ। गिजाबाट रगत आउने, सुन्निने वा दाँत हल्लिने समस्या देखिएमा त्यसलाई सामान्य ठानेर बेवास्ता गर्नु हुँदैन। समयमै दन्त चिकित्सकसँग परामर्श लिनुपर्छ।
रुमेटोइड आर्थराइटिस, मधुमेह वा अन्य दीर्घरोग भएका व्यक्तिले पनि नियमित स्वास्थ्य परीक्षणसँगै मुख र गिजाको अवस्थाबारे ध्यान दिनु आवश्यक छ। यस्ता बिरामीको उपचारमा संलग्न चिकित्सक र दन्त चिकित्सकबीच समन्वय हुन सके रोगको पहिचान र व्यवस्थापन अझ प्रभावकारी हुन सक्छ।
यसका साथै, गिजाको रोग र दीर्घकालीन तथा स्वप्रतिरक्षा रोगबीचको सम्बन्ध बुझ्न नेपालमै थप अनुसन्धान गर्न आवश्यक छ।
मुखको स्वास्थ्यलाई समग्र स्वास्थ्यबाट अलग राखेर हेर्न मिल्दैन। गिजाको समस्या समयमै पहिचान र उपचार गर्न सके यसबाट हुने जटिलता कम गर्न सकिन्छ। त्यसैले जोर्नीको दुखाइ वा अन्य दीर्घरोगको उपचारसँगै मुख र गिजाको स्वास्थ्यलाई पनि उत्तिकै महत्त्व दिनुपर्छ।