बाथरोग उमेर ढल्किएपछि मात्र देखिने समस्या होइन। बालबालिका, युवा र वृद्ध सबै उमेर समूहका मानिसमा फरक–फरक प्रकारका बाथरोग हुन सक्छन्। बिहान उठ्दा जोर्नी कक्रक्क हुने, आधा घण्टाभन्दा बढी समयसम्म हातखुट्टा चलाउन कठिन हुने र जोर्नी सुन्निने समस्या देखिए समयमै चिकित्सकको परामर्श लिनुपर्छ। अमेरिकामा बाथरोगको निदान र उपचारमा प्रयोग भइरहेका आधुनिक औषधि नेपालमा पनि उपलब्ध हुन थालेका छन्। तर विशेषज्ञ जनशक्ति, उपचारको पहुँच, औषधिको मूल्य र स्वास्थ्य प्रणालीमा भने अझै भिन्नता छ।
म अमेरिकामा रहेर बाथरोग विशेषज्ञका रूपमा चिकित्सा अभ्यास गरिरहेको छु। नेपालबाट अमेरिका गएको धेरै वर्ष भइसकेको छ। अमेरिकामा चिकित्सकीय आवासीय तालिम (रेजिडेन्सी) पूरा गरेपछि रुमाटोलोजीमा विशेषज्ञता हासिल गरेँ। केही वर्ष ठूलो स्वास्थ्य प्रणालीमा काम गरेपछि अहिले आफ्नै रुमाटोलोजी क्लिनिक सञ्चालन गरिरहेको छु।
बाथरोगमा विशेषज्ञता हासिल गर्ने रुचि मेरो परिवारसँग पनि जोडिएको छ। मेरी हजुरआमा र परिवारका अन्य सदस्यमा बाथरोगको समस्या थियो। सानैदेखि बाथरोग भनेको के हो, यसले मानिसको जीवनमा कस्तो असर गर्छ र यसको उपचार कसरी गर्न सकिन्छ भन्ने जिज्ञासा थियो। चिकित्साशास्त्र अध्ययन गर्ने क्रममा यो रुचि अझ बढ्यो। संयोगले आवासीय तालिमका क्रममा रुमाटोलोजीसम्बन्धी राम्रो कार्यक्रम भएको अस्पतालमा काम गर्ने अवसर पाएँ। त्यहाँको अनुभवले मलाई यसै विषयमा विशेषज्ञता हासिल गर्न प्रेरित गर्यो।
अहिले पनि बाथरोगबारे आम मानिस र स्वास्थ्यकर्मीमा पर्याप्त जानकारी पुग्न सकेको छैन भन्ने लाग्छ। विशेषगरी नेपालमा जोर्नी दुख्ने समस्यालाई उमेरसँग जोडेर हेर्ने र लामो समयसम्म बेवास्ता गर्ने प्रवृत्ति छ। तर बाथरोग एउटै रोग होइन, यो विभिन्न प्रकृतिका रोगहरूको समूह हो।
बाथरोग एउटै होइन, धेरै प्रकारका हुन्छन्
नेपाली भाषामा बाथरोगका विभिन्न प्रकारलाई छुट्टाछुट्टै बुझाउने शब्द पर्याप्त छैनन्। त्यसैले जोर्नी दुख्ने धेरै समस्यालाई सामान्य रूपमा बाथरोग भन्ने गरिएको छ। तर सबै जोर्नी दुखाइ बाथरोग हुँदैन र सबै बाथरोगको प्रकृति पनि एउटै हुँदैन।
बाथरोगका प्रमुख प्रकारमध्ये रुमेटोइड आर्थराइटिस अर्थात् गठिया बाथ, अस्टियोआर्थराइटिस, गाउट र सोरियाटिक आर्थराइटिस पर्छन्।
रुमेटोइड आर्थराइटिसमा शरीरको प्रतिरक्षा प्रणालीमा गडबडी हुन्छ। सामान्य अवस्थामा हाम्रो प्रतिरक्षा प्रणालीले बाह्य संक्रमणसँग लड्ने काम गर्छ। तर यो रोगमा प्रतिरक्षा प्रणालीले आफ्नै शरीरका जोर्नीलाई आक्रमण गर्न थाल्छ। त्यसले गर्दा जोर्नी सुन्निने, दुख्ने र कक्रक्क हुने समस्या देखिन्छ। समयमै उपचार नभए जोर्नीमा स्थायी क्षति पुग्न सक्छ।
अस्टियोआर्थराइटिस भने प्रायः उमेर बढ्दै जाँदा देखिने समस्या हो। हाम्रो जोर्नीका हड्डीबीच कार्टिलेज नामको नरम तह हुन्छ। यसले हड्डीबीच कुशनको काम गर्छ र जोर्नीलाई सहज रूपमा चल्न मद्दत गर्छ। उमेर बढ्दै जाँदा वा जोर्नीमा लामो समयसम्म दबाब पर्दा यो तह खिइँदै जान्छ। त्यसपछि जोर्नी दुख्ने र चलाउन कठिन हुने समस्या उत्पन्न हुन्छ।
त्यस्तै, रगतमा युरिक एसिडको मात्रा बढेर जोर्नीमा त्यसका क्रिस्टल जम्मा हुँदा गाउट हुन्छ। यसले विशेषगरी खुट्टाको बूढीऔँलाको जोर्नीमा अचानक असह्य दुखाइ, रातोपन र सुन्निने समस्या गराउन सक्छ।
सोरियाटिक आर्थराइटिस छालामा सोरायसिसको समस्या भएका व्यक्तिमा देखिन सक्ने बाथरोग हो। यसले छालासँगै जोर्नीमा पनि असर पुर्याउन सक्छ।
यसरी बाथरोगका प्रकारअनुसार कारण, लक्षण र उपचार फरक हुन्छन्। त्यसैले जोर्नी दुख्नेबित्तिकै एउटै रोग ठानेर आफैँ औषधि सेवन गर्नु उचित हुँदैन।
बिहान उठ्दा जोर्नी कक्रक्क हुनु बाथरोगको संकेत हुन सक्छ
बाथरोग पहिचान गर्ने क्रममा लक्षणको प्रकृति र देखिने समय महत्त्वपूर्ण हुन्छ। सामान्य शारीरिक थकान वा कामको चापले पनि जोर्नी दुख्न सक्छ। तर कुनै विशेष काम नगरेको अवस्थामा पनि बिहान उठ्नेबित्तिकै जोर्नी कक्रक्क हुने, हातका औँला चलाउन कठिन हुने वा मुठी कस्न नसक्ने समस्या देखिए त्यसलाई सामान्य ठान्नु हुँदैन।
विशेषगरी बिहान उठेपछि आधा घण्टादेखि एक घण्टा वा त्यसभन्दा बढी समयसम्म जोर्नी कक्रक्क हुने समस्या रहेमा बाथरोगको सम्भावना हुन सक्छ।
त्यस्तै, जोर्नी सुन्निने, दुख्ने र चलाउन कठिन हुने लक्षण पनि देखिन सक्छन्। यस्ता समस्या निरन्तर देखिए बाथरोग विशेषज्ञ वा चिकित्सकसँग परामर्श लिनुपर्छ।
जति छिटो रोग पहिचान हुन्छ र उपचार सुरु गरिन्छ, त्यति नै उपचार सहज हुन्छ। समयमै उपचार गर्दा जोर्नीमा हुने क्षति र रोगका जटिलता कम गर्न सकिन्छ।
बाथरोग वृद्धवृद्धामा मात्र देखिने समस्या पनि होइन। अस्टियोआर्थराइटिस उमेर बढ्दै जाँदा बढी देखिए पनि रुमेटोइड आर्थराइटिसलगायतका अन्य बाथरोग युवा अवस्थामा समेत सुरु हुन सक्छन्। बालबालिकामा पनि विशेष प्रकारका बाथरोग देखिन सक्छन्।
बाथरोग दीर्घकालीन भए पनि नियन्त्रण गर्न सकिन्छ
धेरैजसो बाथरोग दीर्घकालीन प्रकृतिका हुन्छन्। त्यसैले लामो समयसम्म उपचार र चिकित्सकीय निगरानी आवश्यक पर्न सक्छ। तर सबै बिरामीले एउटै प्रकारको उपचार वा जीवनभर एउटै मात्रामा औषधि खानुपर्छ भन्ने हुँदैन।
म बाथरोगलाई बुझाउन मधुमेहको उदाहरण दिने गर्छु। मधुमेहमा खानपान, शारीरिक सक्रियता र जीवनशैली सुधार गरेर रोग नियन्त्रणमा राख्न सकिएजस्तै बाथरोगमा पनि जीवनशैलीको महत्त्व हुन्छ। तर रोगको प्रकृति र गम्भीरताअनुसार औषधि आवश्यक पर्न सक्छ।
बाथरोगका केही प्रकारमा खानपान र जीवनशैली सुधारले उल्लेखनीय सहयोग गर्न सक्छ। उदाहरणका लागि गाउटका बिरामीले रातो मासु तथा मदिराको सेवन कम गर्ने, पर्याप्त पानी पिउने र चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्ने हो भने युरिक एसिड नियन्त्रणमा राख्न सकिन्छ। केही बिरामीमा लामो समयसम्म रोग नियन्त्रणमा रहेपछि चिकित्सकको निगरानीमा औषधि घटाउन वा बन्द गर्नसमेत सम्भव हुन सक्छ।
तर रुमेटोइड आर्थराइटिसजस्ता रोगमा लामो समयसम्म औषधि आवश्यक पर्न सक्छ। रोग नियन्त्रणमा आएको अवस्थामा पनि चिकित्सकको सल्लाहबिना औषधि बन्द गर्नु हुँदैन। रोग फेरि सक्रिय हुन सक्ने भएकाले नियमित परीक्षण र निगरानी आवश्यक हुन्छ।
बायोलोजिक्स र नयाँ औषधिले उपचारमा नयाँ सम्भावना
बाथरोगको उपचारमा पछिल्लो समय बायोलोजिक्स र टार्गेटेड थेरापीजस्ता आधुनिक औषधिको प्रयोग बढिरहेको छ। यी औषधिले रोग उत्पन्न गराउने प्रतिरक्षा प्रणालीका निश्चित प्रक्रिया वा अंशलाई लक्षित गरेर काम गर्छन्।
रुमेटोइड आर्थराइटिसको उपचारमा परम्परागत औषधि र आधुनिक औषधि गरी विभिन्न विकल्प छन्।
परम्परागत औषधिलाई कन्भेन्सनल सिन्थेटिक डिजिज मोडिफाइङ एन्टिर्युमेटिक ड्रग्स (सीएसडीएमएआरडी) भनिन्छ। मेथोट्रेक्सेट, लेफ्लुनोमाइड, हाइड्रोक्सिक्लोरोक्विन र सल्फासालाजिन यस समूहका प्रमुख औषधि हुन्। यी औषधि लामो समयदेखि प्रयोगमा छन् र नेपालमा पनि उपलब्ध छन्।
यी औषधिले रोग नियन्त्रण गर्न नसकेमा वा साइड इफेक्टका कारण प्रयोग गर्न नसकिने अवस्था आएमा चिकित्सकले बायोलोजिक औषधि प्रयोग गर्न सक्छन्। बायोलोजिक्स जीवित कोष वा जैविक प्रणालीको प्रयोगबाट उत्पादन गरिने जटिल औषधि हुन्। यिनले प्रतिरक्षा प्रणालीका निश्चित अंशलाई लक्षित गर्छन्।
त्यस्तै, टार्गेटेड सिन्थेटिक औषधिले पनि रोग उत्पन्न गराउने निश्चित जैविक प्रक्रियालाई लक्षित गर्छन्। टोफासिटिनिब यस समूहको औषधि हो। यो मुखबाट सेवन गर्न सकिने औषधि हो र केही प्रकारका बाथरोगको उपचारमा प्रयोग हुन्छ।
नेपालमा पनि बाथरोगका परम्परागत औषधि उपलब्ध छन्। बायोलोजिक र नयाँ लक्षित औषधि पनि बजारमा उपलब्ध हुन थालेका छन्। तर कतिपय औषधि महँगा भएकाले सबै बिरामीको पहुँचमा पुग्न सकेका छैनन्। विशेषगरी इन्जेक्सन वा इन्फ्युजनमार्फत दिइने बायोलोजिक औषधिको खर्च धेरै हुन सक्छ।
नेपालमा उपचारको सम्भावना नरहेको भन्ने होइन। सामान्यतया प्रयोग हुने धेरै औषधि नेपालमै उपलब्ध छन्। सबै बिरामीलाई सुरुबाटै महँगा औषधि आवश्यक पर्दैन। पहिले परम्परागत औषधिबाट उपचार गरिन्छ। त्यसले काम नगरेको अवस्थामा बिरामीको अवस्थाअनुसार अन्य विकल्प रोज्न सकिन्छ।
अमेरिकामा प्राथमिक स्वास्थ्य सेवाबाट विशेषज्ञसम्म पुग्ने प्रणाली
अमेरिका र नेपालको बाथरोग उपचार प्रणालीमा रहेको एउटा महत्त्वपूर्ण भिन्नता बिरामी विशेषज्ञ चिकित्सकसम्म पुग्ने प्रक्रियामा छ।
अमेरिकामा अधिकांश मानिसको नियमित सम्पर्कमा रहने प्राथमिक स्वास्थ्य सेवा चिकित्सक हुन्छन्। बिरामी भए पनि नभए पनि उनीहरू नियमित स्वास्थ्य परीक्षणका लागि प्राथमिक चिकित्सककहाँ जान्छन्। स्वास्थ्य समस्याको प्रारम्भिक मूल्यांकन त्यहीँ हुन्छ। जोर्नी दुख्ने वा बाथरोगको शंका लाग्ने समस्या देखिए प्राथमिक चिकित्सकले रुमाटोलोजिस्ट अर्थात् बाथरोग विशेषज्ञकहाँ पठाउँछन्।
मैले अमेरिकामा हेर्ने अधिकांश बिरामी प्राथमिक स्वास्थ्य सेवा चिकित्सकको सिफारिसमा आउने गर्छन्। यसले रोगको प्रारम्भिक पहिचानदेखि विशेषज्ञ उपचारसम्मको प्रक्रिया व्यवस्थित बनाएको छ।
नेपालमा भने बिरामीमा समस्या देखिएपछि मात्र अस्पताल जाने प्रवृत्ति बढी छ। प्राथमिक स्वास्थ्य सेवा र विशेषज्ञ सेवाबीचको समन्वय तथा रेफरल प्रणाली पनि अपेक्षाकृत कमजोर छ। धेरै बिरामी सीधै विशेषज्ञ चिकित्सककहाँ पुग्ने गरेका छन्।
अमेरिकामा नियमित स्वास्थ्य परीक्षण गर्ने संस्कार बलियो छ। म यसलाई गाडीको नियमित सर्भिसिङसँग तुलना गर्छु। गाडी बिग्रिएपछि मात्र मर्मत गराउने होइन, बिग्रन नदिन नियमित जाँच गरिन्छ। त्यसैगरी शरीरको स्वास्थ्य पनि नियमित परीक्षणमार्फत निगरानी गर्नुपर्छ। हाम्रो शरीर पनि एउटा मेसिनजस्तै हो। समस्या देखिएपछि मात्र अस्पताल जाने होइन, समस्या नदेखिँदै पनि नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ।
उपचारको पहुँच र औषधिको मूल्यमा भिन्नता
अमेरिकामा बाथरोग उपचारका आधुनिक औषधि र प्रविधिको उपलब्धता तुलनात्मक रूपमा राम्रो छ। त्यहाँ स्वास्थ्य बिमा प्रणालीले पनि उपचारको पहुँचमा महत्त्वपूर्ण भूमिका खेल्छ।
अमेरिकामा धेरै मानिसले आफूले काम गर्ने संस्थामार्फत स्वास्थ्य बिमा पाउने गर्छन्। रोजगारदाता संस्थाले उपलब्ध गराउने बिमाका कारण महँगा औषधि र विशेषज्ञ सेवाको खर्च बिरामीका लागि केही सहज हुन सक्छ। यद्यपि बिमाको प्रकार र योजनाअनुसार बिरामीले व्यहोर्नुपर्ने खर्च फरक हुन्छ।
नेपालमा भने बाथरोगको उपचारमा प्रयोग हुने केही आधुनिक औषधि उपलब्ध भए पनि तिनको मूल्य धेरै बिरामीका लागि चुनौती बनेको छ। सबै प्रकारका औषधिमा सहज पहुँच छैन। स्वास्थ्य बिमाले पनि महँगा औषधिको खर्च कति समेट्छ भन्ने विषय महत्त्वपूर्ण हुन्छ।
नेपालमा उपचारको सम्भावना र क्षमता विस्तार भइरहेको छ। भारतलगायत अन्य मुलुकबाट औषधि आयात हुनुका साथै स्थानीय बजारमा पनि नयाँ औषधिको उपलब्धता बढ्दै गएको छ। तर औषधिको पहुँच, मूल्य र स्वास्थ्य बिमाको प्रभावकारी व्यवस्थापनमा अझै काम गर्नुपर्ने देखिन्छ।
नेपालमा बाथरोग विशेषज्ञ जनशक्ति किन कम?
नेपालमा बाथरोगसम्बन्धी उपचार सेवाको विस्तार हुन नसक्नुमा विशेषज्ञ जनशक्तिको कमी पनि प्रमुख कारण हो। मेडिकल शिक्षाको पाठ्यक्रम र आवासीय तालिममा बाथरोगसम्बन्धी विषयलाई पर्याप्त प्राथमिकता नदिइएको मेरो अनुभव छ।
यो समस्या नेपालमा मात्र होइन, अमेरिकामा पनि बाथरोग विशेषज्ञको आवश्यकता र उपलब्धताबीच अन्तर छ। यसको एउटा कारण मेडिकल स्कुलदेखि आवासीय तालिमसम्म बाथरोगलाई पर्याप्त महत्त्व नदिनु हो।
जोर्नी दुख्ने समस्या अत्यन्तै सामान्य छ। तर मेडिकल शिक्षाको क्रममा यसबारे पर्याप्त पढाइ र व्यावहारिक तालिम हुँदैन। विद्यार्थीले बाथरोगबारे गहिरो ज्ञान र अनुभव हासिल गर्ने अवसर पाए मात्र यस क्षेत्रमा विशेषज्ञ बन्ने रुचि बढ्न सक्छ।
बाथरोगको प्रारम्भिक लक्षण पहिचान गर्न सक्ने जनशक्ति उत्पादन गर्नु पनि उत्तिकै आवश्यक छ। प्राथमिक स्वास्थ्य सेवामा कार्यरत चिकित्सकले बाथरोगका लक्षण पहिचान गरेर समयमै विशेषज्ञकहाँ पठाउन सके बिरामीले उपचारका लागि लामो समय कुर्नुपर्ने अवस्था कम हुन सक्छ।
यही उद्देश्यले नेपाल भ्रमणका क्रममा विभिन्न मेडिकल कलेज र अस्पतालमा चिकित्सक तथा विद्यार्थीलाई बाथरोगसम्बन्धी ज्ञान बाँडिरहेको छु। धुलिखेल अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान (न्याम्स) लगायतका संस्थामा चिकित्सक तथा आवासीय तालिममा रहेका विद्यार्थीलाई बाथरोगको पहिचान, लक्षण र उपचारका आधारभूत विषयमा जानकारी दिने अवसर पाएको छु।
नेपालभरका बाथरोग विशेषज्ञलाई एक ठाउँमा ल्याएर ज्ञान र अनुभव आदानप्रदान गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय सहभागितासहितको सम्मेलन आयोजना गर्ने पहलसमेत भइरहेको छ। यस्ता कार्यक्रमले चिकित्सकबीचको सहकार्य बढाउनुका साथै नयाँ पुस्तालाई यस विषयमा विशेषज्ञता हासिल गर्न प्रोत्साहित गर्ने विश्वास छ।
(अमेरिकामा कार्यरत नेपाली वाथरोग विशेषज्ञ डा अनन्त सुवेदीसँग डिबी खड्काले गरेको कुराकानीमा आधारित)
पूरा कुराकानी भिडियोमा हेर्नुहोस्