काठमाडौं– नेपाल गर्भवती महिला तथा नवजात शिशु समाज (पेसोन) को २९औँ स्थापना दिवसको अवसरमा निरन्तर चिकित्सा शिक्षा ( सिएमई) कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल गर्भवती महिला तथा नवजात शिशु समाज (पेसोन) र ग्लोबल हेल्थ रिसर्च एन्ड मेडिकल इन्टरभेन्सन्स इन्स्टिच्युट (ग्लोमेड) को संयुक्त आयोजनामा शनिबार भएको कार्यक्रममा प्रसूति तथा नवजात शिशुको स्वास्थ्यसँग सम्बन्धित विभिन्न विषयमा चिकित्सक तथा स्वास्थ्यकर्मीबीच छलफल भएको छ ।
पेसोनका अध्यक्ष प्राडा सुनिल राजा मानन्धरको अधयक्षतामा सम्पन्न भएको कार्यक्रममा पेसोनका महासचिव डा शैलेन्द्र वीर कर्माचार्यले पेसोनको वार्षिक गतिविधिबारे जानकारी गराएका थिए । कार्यक्रममा पेसोनको २९औं साधाण सभा सम्पन्न भएको छ । सो क्रममा पेसोनका कोषाध्यक्ष डा दीपक राजभण्डारीले संस्थाको आर्थिक प्रतिवदेन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा शोभा महर्जनले प्रसूति पश्चात् हुने अत्यधिक रक्तस्राव सम्बन्धी प्रस्तुतिकरण दिएकी थिइन् ।
उनले मातृ मृत्यु तथा जटिलता न्यूनीकरणका लागि प्रसूति पश्चात् हुने रक्तस्रावको समयमै पहिचान, रोकथाम तथा प्रभावकारी उपचार महत्वपूर्ण हुने बताइन् ।
कार्यक्रममा पेरिनेटल इन्फेक्सन सम्बन्धी सिएमई सत्र संचालन गरिएको थियो । उक्त सत्रमा ग्लोमेडका तर्फाबाट डा सुरज भट्टराईले प्रस्तुति दिएका थिए । कार्यक्रममा नवजात शिशुमा हुने संक्रमणबारे भएको अनुसन्धानबारे पनि छलफल भएको छ । कार्यक्रममा नेपालमा प्रसूति तथा नवजात शिशुको स्वास्थ्य सेवाको गुणस्तर सुधार, चिकित्सकीय ज्ञानको निरन्तर अभिवृद्धि तथा अनुसन्धानमा सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ ।