काठमाडौं– अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट नेपालका अध्यक्ष तथा संक्रामक रोग र उच्च हिमाली चिकित्सा क्षेत्रमा ख्यातिप्राप्त अनुसन्धानकर्ता डा. बुद्ध बस्न्यातलाई बीएमजे अवार्ड्स साउथ एसिया लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ।
चिकित्सा अनुसन्धानमा पुर्याएको उल्लेखनीय योगदान तथा नेपालको अनुसन्धान क्षमता विश्वमञ्चमा प्रस्तुत गर्न खेलेको भूमिकाको सम्मानस्वरूप डा. बस्न्यातलाई उक्त अवार्ड प्रदान गरिएको हो।
डा. बस्न्यात विश्वकै सबैभन्दा ठूलो टाइफाइड खोप परीक्षण सफलतापूर्वक सञ्चालन गर्ने अनुसन्धान टोलीमा समेत संलग्न थिए। उक्त अनुसन्धान चिकित्सा क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ।
संक्रामक रोग, उच्च हिमाली क्षेत्रमा स्वास्थ्य तथा क्लिनिकल अनुसन्धानका क्षेत्रमा डा. बस्न्यातले गरेको योगदानले नेपालको चिकित्सा अनुसन्धानलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेलेको छ।
उनलाई प्राप्त यो सम्मानले नेपाली चिकित्सा अनुसन्धानको क्षमता र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली अनुसन्धानकर्ताको योगदानलाई समेत उजागर गरेको छ।