पर्वत- पर्वतको कुश्मास्थित प्रादेशिक अस्पतालमा ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात तथा कुटपिट भएको छ। अस्पतालमा उपचाररत बिरामीका आफन्तले मादक पदार्थ सेवन गरी नर्सिङ कर्मचारीमाथि हातपात र दुर्व्यवहार गरेको अस्पताल प्रशासनले जनाएको छ।
अस्पताल प्रशासनका अनुसार २०८३ कात्तिक १५ गते बिहान १२ः०५ बजे अस्पतालको अन्तरंग विभागमा उपचाररत कुश्मा नगरपालिका–२ का एक बिरामीको उपचारका क्रममा उक्त घटना भएको हो। बिरामीका आफन्तले ड्युटीमा रहेका नर्सिङ कर्मचारीमाथि गालीगलौज गर्नुका साथै हातपात र कुटपिट गरेका थिए।
घटनालगत्तै अस्पतालको आन्तरिक सुरक्षा टोली र प्रहरी प्रशासनको सहयोगमा स्वास्थ्यकर्मीमाथि हातपात तथा अभद्र व्यवहार गर्ने मुख्य आरोपीलाई नियन्त्रणमा लिइएको अस्पतालले जनाएको छ। आरोपीलाई कानुनी कारबाहीका लागि प्रहरीको जिम्मा लगाइएको छ।
अस्पताल प्रशासनले ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि कार्यक्षेत्रमै हुने यस्ता हिंसात्मक गतिविधिको घोर भर्त्सना गरेको छ। चौबीसै घण्टा बिरामीको सेवामा खटिने स्वास्थ्यकर्मीमाथि हुने हिंसाले उनीहरूको मनोबल कमजोर बनाउने मात्र नभई समग्र स्वास्थ्य सेवा प्रवाहमै असर पार्ने अस्पतालको भनाइ छ।
उपचारका क्रममा कुनै जिज्ञासा वा गुनासो भए कानुनी तथा प्रशासनिक प्रक्रियामार्फत समाधान खोज्न सकिने भए पनि कानुन हातमा लिएर स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नु कुनै पनि अवस्थामा स्वीकार्य नहुने अस्पतालले स्पष्ट पारेको छ।
अस्पताल प्रशासनले घटनामा संलग्न दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०६९) बमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
साथै, अस्पतालले बिरामी, बिरामीका आफन्त तथा सम्पूर्ण सरोकारवालालाई संयमता अपनाउन र स्वास्थ्य संस्थालाई सुरक्षित कार्यस्थलका रूपमा कायम राख्न सहयोग गर्न अपिल गरेको छ।