ललितपुर, एकान्तकुनास्थित रिदम साइक्याट्रिक न्युरो अस्पतालले आज तेस्रो वार्षिकोत्सव मनाउँदै छ। स्थापनाको तीन वर्षमा नै मानसिक स्वास्थ्यका क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल अस्पतालले नयाँ–नयाँ प्रविधि भित्र्याएर बिरामीको उपचार गर्ने योजना अघि सारेको छ। अस्पतालको विगत, वर्तमान र भावी योजनाका बारेमा अस्पतालका निर्देशक डा रितेश थापासँग स्वास्थ्यखबरकी सिर्जना खत्रीले गरेको कुराकानी:
मानसिक अस्पताल खोल्ने विचार कसरी आयो ?
स्कुल पढ्ने बेलादेखि मनोविज्ञानमा बढी रुचि थियो। त्यो बेलामा मनोविज्ञानसम्बन्धी पढाइ हुन्छ भन्ने थाहा थिएन। पछि एमबिबिएस पढ्न सुरु गरेपछि भने थाहा भयो, मनोविज्ञान विषयको पनि अध्ययन हुने रहेछ।
त्यो बेलादेखि नै मानिसले किन यस्तो सोच्छ?, व्यवहार किन भिन्न हुन्छ?, मान्छे विभिन्न प्रकृतिको किन हुन्छ भन्ने विषयमा लेखहरु खोजेर पढ्ने गर्थें। हाम्रो पालामा अहिले जस्तो इन्टरनेट थिएन। शिक्षकसँग जिज्ञासा राख्ने, फिलिम हेर्ने गर्थें। यसो गर्दागर्दै मानसिक स्वास्थ्यप्रति लगाव बढ्दै गयो।
घरपरिवार, साथीहरुले सुरुमा एमबिबिएस पढाइ सकिनासाथ तिमी सर्जन बन्नुपर्छ भन्नुहुन्थ्यो। म साइक्र्याट्रिक्स बन्छु भन्दा परिवार, साथीभाइहरु गिज्याउँथे। तर मैले साइक्याट्रिक पढाइलाई अगाडि बढाएँ।
पहिलादेखि नै यो विषयमा रुचि राख्ने भएकाले नेपालमा पनि मानिसक अस्पताल होस् भन्ने लाग्थ्यो। एमडी गर्ने बेलामा विभिन्न देशको मानसिक अस्पतालको बारेमा पढ्ने मौका मिल्यो। त्यहाँ मानसिक अस्पताल राम्रो चलेको थियो तर नेपालमा यो विषयलाई किन हेपेको महसुस भयो मलाई। त्यसैले प्राइभेट स्तरमा मानसिक अस्पताल खोल्ने योजना बनाएँ। मेरा साथी प्रभाकर पोखरेलसँग प्ररामर्ष लिएँ। उहाँ पनि मेरो कुरामा सहमत हुनु भयो। त्यसपछि हामीले मानसिक अस्पताल खोल्ने निणर्य गर्यौं।
३ वर्षमा तपाईंले लिएका लक्ष्य पूरा भए त?
हामीले अस्पताल खोल्ने समयमा यति छिटो सफलता पाउँला भनेर सोचेका थिएनौं। तर छोटो समयमा नै हामीले बिरामीको विश्वास जित्न सफल भएका छौं। तीन वर्ष अगाडि हामी अनुभव नभएका युवाहरु मिलेर यो अस्पताल खोलेका थियौं । सबै उद्देश्य त पूरा भएका छैनन् तर हामीले सोचेको भन्दा धेरै सफलता भने प्राप्त गरेका छौं।
मानसिक अस्पताल चलाउँदा भोगेका समस्या समस्या केके हुन्?
मानसिक ‘न्युरोसाइक्याट्रिक’ अस्पताल खोल्ने बेलामा हामीलाई सहयोग गर्ने थोरै मानिसमात्र हुनुहुन्थ्यो। म मानसिक अस्पताल खोल्दै छु भनेर जोजोसँग भनें उहाँहरु सबैले नाक खुम्च्याउनु हुन्थ्यो। युवा भएर किन खोल्नु पर्यो मानसिक अस्पताल, यसमा लगानी गर्नु भनेको लगानी डुबाउनु हो भन्ने धेरै हुनुहुन्थ्यो।
मानसिक अस्पताल खोल्न भनेर घर लियौं। तयारी सुरु गर्दा हामी नयाँ थियौं। हामीलाई अनुभव पनि थिएन। पहिला कसैले पनि नखोलेको हुनाले भौतिक पूर्वाधार के चाहिन्छ, जनशक्ति व्यवस्थापन कसरी गर्ने कुनै ज्ञान थिएन। त्यही पनि आँट गरेर सुरु गर्यौंै। सुरुमा धेरै कुरा बिग्रिए पनि गल्तीबाट सिक्दै यहाँसम्म आएका छौं।
बिरामीको चाप कत्तिको हुन्छ अस्पतालमा?
अस्पताल खोल्ने समयमा बिरामीले यति छिटो विश्वास गर्नु हुन्छ भन्ने लागेको थिएन। हामीले सोचेका थियौं– ६ महिना–वर्ष दिन अस्पताल खाली हुन्छ। तर ११ दिनदेखि नै बिरामी आउन सुरु गर्नुभयो। अहिलेसम्म अस्पताल खाली राख्नु परेको छैन।
कहाँकहाँबाट आउनुहुन्छ सेवा लिन?
अहिलेसम्म सेवा लिने बिरामी काठमाडौंभन्दा बाहिरबाट धेरै आउनुभएको छ। काठमाडौं बाहिरबाट यो अस्पतालको सेवा राम्रो छ भन्दै आउँदा खुसी पनि लाग्छ। देशभित्र साथै विदेशबाट पनि आउनुहुन्छ बिरामीहरु।
सरकारी स्तरबाट पनि सहयोग छ कि?
निजी अस्पताल भएकाले हामीले अनुदान लिने गरेका छैनौं। तर सेवा भने सहज रुपमै प्रदान गर्नु हुन्छ। कार्यक्रममा पनि उहाँहरुको प्रतिकृया सकारात्मक नै हुन्छ। हामीले महिनैपिच्छे जनस्वास्थ्यमा रिपोर्ट बुझाउछौं। तपाईंको अस्पताल सिस्टमेटिक छ, सेवा पनि राम्रो दिनुभएको छ, कुनै सहयोग चाहिएमा भन्नु होला भनेर हौसला प्रदान गर्नु हुन्छ।
भविष्यका योजनहरु के कस्ता छन् ?
मानसिकसम्बन्धी अरु अस्पताल पनि दर्ता भएका छन्। हाम्रो अस्पताल अन्य अस्पतालभन्दा भिन्न परिचय बनाइसकेको छ। मानसिक अस्पतालमा यति ठूलो लगानी अन्य अस्पतालले गरेका छैनन्। जनशक्ति पनि धेरै छ। ८ जना साइक्याट्रिकको ओपिडी सेवा सुरु हुँदैछ। चार जना साइकोलोजिस्टले परामर्श सेवा दिनुहुन्छ।
मानसिक अस्पतामा क्याबिनको पनि व्यवस्था छ। हाम्रो अस्पतालमा बिरामी कुरुवा बस्ने व्यवस्था पनि छ। बिरामीका आफन्तले भ्याउनु भएन भने अस्पतालले एक जना कुरुवा दिन्छ। दिउँसोको ओपिडी सेवा छ। २४ घण्टा सेवा पाउन सकिन्छ। हरेक महिनाको अन्तिम शनिबार नि:शुल्क रुपमा ओपिडी सेवा सुरु गर्दै आएका छौं तीन वर्षादेखि।
यी सेवाहरुलाई अझै विस्तार गर्दै जाने योजना छ। गाउँ गाउँमा पुगेर सेवा दिएका छौं। स्कुलमा पनि मानसिक समस्याको कक्षाहरु सञ्चालन गरेका छौं। मानसिक स्वास्थ्यसम्बन्धी कक्षा सुरु गरिदिनु भनेर धेरै जना आउने गर्छन्।
विभिन्न संस्थासँग मिलेर जेल तथा स्कुलमा निशुल्क सेवा दिने छौं। एक वर्षसम्म रिदमसँग मनका कुरा भनेर रेडियो कार्यक्रम सुरु गरेका थियौं। यो सेवालाई विस्तार गर्दै लैजाने योजना छ। बिरामीको चाप बढ्दै गएकाले २५ बेडको अस्पताललाई १०० बेडको बनाउने सोच बनाएका छौं।
साइक्याटिकसम्बन्धी पठनपाठन पनि विकास गर्ने योजना छ। हामी यो अस्पताललाई साइक्याट्रिक इन्स्टिच्युटको रुपमा विकास गर्दैछौं। तर यो योजना पूरा गर्न समय भने लाग्छ। अहिले विभिन्न कलेजका नर्स एचए, तालिममा आउनुहुन्छ। एकेडेमीमा आफ्नै कार्यक्रम नभए पनि तालिमहरु भएका छन्। अब आफ्नै कार्यक्रम बनाउने योजना छ।
नेपालमा पहिलो पटक आरटिएमएस सेवा ल्याउँछौं। यो ब्रेनलाई चुम्बकीय माध्यबाट उपचार गर्ने प्रविधि हो। यो नेपालमा नै पहिलो पटक हुँदैछ। लामो समयदेखि औषधि खाइरहेका बिरामी, औषधि खादाँखादाँ पनि ठिक नभएका डिप्रेसनका बिरामीलाई यो प्रविधिबाट निको बनाउन सकिन्छ। यो प्रविधिबाट विभिन्न मानसिक रोगको उपचार हुन्छ। अप्रेसन गर्नु पर्दैन, औषधि बन्द गर्नुपर्ने, थप औषधि दिएर उपचार गर्नुपर्ने केही गर्नु पर्दैन, टाउँकोबाट सेक्ने हो।
भर्ना भएर अस्पताल बस्नु पर्दैन। २५–३० मिनेटको काम हो। विश्वमा यो प्रविधि आएको ३०–३५ वर्ष भयो, एफडिएले प्रमाणित गरिसकेको छ। नेपालमा धेरै खर्चिलो भएको कारणले गर्दा ढिला भित्रियो।
रिदम नै किन?
रिदम अस्पतालमा घरको जस्तो वातवरण छ। यहाँ उपचार मात्र हुँदैन, परामर्श पनि गरिन्छ। बिरामी र उनका आफ्न्तहरुसँगै बसेर परामर्श गरिन्छ। पारिवारिक समस्याले गर्दा मानसिक समस्या भएको छ भने परामर्शबाट समस्याको समाधान गरिन्छ। मानसिक समस्याको सबै समाधान रिदममा हुन्छ। रिदम अस्पताललाई यो विषयका सबै उपचार पाउने उत्कृष्ट सेन्टरको रुपमा विकास गर्ने योजना छ। भविष्यमा यसमा काम गर्छौं। यो अस्पतालल सर्वसाधारणको पहुँचमा छ।