स्वदेश तथा विदेशबाट अस्पताल व्यवस्थापनसम्बन्धी ज्ञान–सीप हासिल गरेका दक्ष जनशक्तिको योगदानलाई बेवास्ता गर्दै नेपाल सरकारले २० वर्षपछि प्रस्ताव गरेको संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षणमा अस्पताल व्यवस्थापक पदलाई समावेश नगर्नु गम्भीर विषय हो। के यसले योग्य जनशक्तिलाई 'देशमा तिमीहरूको आवश्यकता छैन, विदेश जाऊ' भन्ने सन्देश दिन खोजिएको हो?
नेपाल वा विदेश जहाँ भएपनि अस्पताल सञ्चालनको उद्देश्य एउटै हो- बिरामीलाई उचित तथा गुणस्तरीय सेवा प्रदान गर्नु। अस्पताल संवेदनशील क्षेत्र हो, जसको सफल सञ्चालनका लागि विविध विधाका दक्ष जनशक्तिको समन्वय अत्यावश्यक हुन्छ, जस्तै, चिकित्सक, नर्स, परामेडिक्स, सरसफाइ कर्मचारी, इन्जिनियरिङ प्राविधिक र प्रशासनिक व्यवस्थापकहरू।
यिनैमध्ये अस्पताल व्यवस्थापकको भूमिका झनै महत्वपूर्ण हुन्छ। बिरामीले अस्पताल प्रवेश गरेदेखि निस्किएसम्म प्राप्त गर्ने सम्पूर्ण सेवा सुव्यवस्थित बनाउने कार्य व्यवस्थापककै काँधमा हुन्छ। उपचार वातावरण सुनिश्चित गर्न, स्रोत व्यवस्थापन गर्न, सेवा गुणस्तर मापन गर्न, र कर्मचारी व्यवस्थापन गर्न योग्य अस्पताल व्यवस्थापकको खाँचो हुन्छ।
हाल देशभर संघीय र प्रदेश तहका ४५ भन्दा बढी अस्पतालमा करार सेवामा अस्पताल व्यवस्थापक कार्यरत छन्। यिनीहरूले अस्पताल सेवालाई व्यवस्थित तथा गुणस्तरीय बनाउन ठोस भूमिका निभाएका छन्। कतिपय अस्पतालहरू न्यूनतम मापदण्डमा ‘उत्कृष्ट’ ठहरिनु यसको प्रमाण हो। तर, यति ठूलो योगदान हुँदाहुँदै पनि अस्पताल व्यवस्थापन विषयलाई सरकारी संरचनाबाट बेवास्ता गरिनु दुःखद हो।
नेपालमा सन् २००० देखि सुरु भएको अस्पताल व्यवस्थापन शिक्षा अन्तर्गत हालसम्म करिब ४ हजार जनशक्ति उत्पादन भइसकेका छन्। यीमध्ये थुप्रै दक्ष जनशक्ति स्थायी अवसरको अभावमा विदेशिन बाध्य छन्। लोक सेवा आयोगमार्फत अस्पताल व्यवस्थापक पद नखुल्नु, करारमै सीमित राखिनु र हालैको ओएण्डएम सर्वेक्षणमा पद समावेश नहुनु नेपाल सरकारद्वारा यस विषयको अपहेलना हो।
अस्पतालको सेवा गुणस्तर चिकित्सक वा उपकरण मात्रले भरिँदैन। व्यवस्थापन प्रणाली प्रभावकारी नभएसम्म सेवा चुस्त र भरपर्दो हुँदैन। ५० सैय्याभन्दा माथिका अस्पतालहरूमा अस्पताल व्यवस्थापक राख्नुपर्ने अस्पताल संचालन निर्देशिकामा स्पष्ट प्रावधान भए पनि यसको कार्यान्वयन सरकारी तहबाट कमजोर देखिएको छ।
हाम्रो माग स्पष्ट छ—सरकारले अस्पताल व्यवस्थापन शिक्षा र दक्ष जनशक्तिको महत्वलाई बुझोस्, लोक सेवा आयोगमार्फत स्थायी पद सृजना गरोस् र योग्य व्यवस्थापकहरूलाई संस्थागत रुपमा समावेश गरोस्। यसबाट मात्र गुणस्तरीय सेवा प्रवाह, स्वास्थ्य क्षेत्रको सुधार, र दक्ष जनशक्तिको पलायन नियन्त्रण सम्भव छ।
सम्पूर्ण स्वास्थ्यकर्मी तथा व्यवस्थापकको सम्मान गरौं। अस्पताल संवेदनशील क्षेत्र हो, यसका लागि योग्य जनशक्तिको सशक्त व्यवस्थापन अपरिहार्य छ। दक्ष जनशक्तिलाई देशमै रहने वातावरण बनाऔं।
(अधिकारी हाल मणिपाल शिक्षण अस्पतालमा कार्यरत छन्)