म पेशाले एक चिकित्सक हुँ। कर्मले पनि चिकित्सक हुँ। अध्ययनले पनि म चिकित्सक हुँ। तर, सधैंको लागि एउटा विद्यार्थी पनि हुँ। कुनै डिग्रीको कागज लिन बाध्य नहुने गरी विद्यार्थी हुन त मजा नै हुन्छ। तर एकपछि अर्को औपचारिक अध्ययनको दौडले आधा जीवन बितिसकेको कुरो बेलाबेला झल्यास्स हुन्छ। ऐनामा हेर्दा आफ्नो कपाल फुलेको देख्छु। फेसबुकले बेलाबखत सूचना दिन्छ। मेरा स्कुले साथीहरु कोही उद्यमी देख्छु। कसैलाई कुनै कार्यालयको हाकिम देख्छु। कसैलाई व्यापारी देख्छु। कसैलाई जागिरे देख्छु। तर कसैलाई विद्यार्थी मात्रै त देख्दिनँ!
सधैंजस्तो सामाखुसी चोकमा बिहान ७:४५ मा बस कुर्छु। बसमा चढेर गङालाल अस्पतालको गेट अगाडि झर्छु। सार्वजनिक यातायात आरामदायी नभएपनि यो दैनिक प्रक्रियामा कुनै बेखुशी छैन मलाई।
लाग्छ, म १८ वर्ष अगाडिको ठिटो केटो हुँ। जो काठमाडौंको सार्वजनिक यातायातमा यसैगरी पुतलीसडक जाने नेपाल यातायातको खचाखच भिडमा यात्रा गर्थें। त्यो समयमा पनि म आफ्नो परिचयपत्र देखाउँथे। र, अहिले पनि देखाउँछु । परिचयपत्रमा फरक केवल एउटा अक्षरको छ। उहिलेको विद्यार्थी शम्भु खनालबाट अचेल विद्यार्थी डा शम्भु खनाल बनेको छु। एक दिनको कुरा हो। भाडा लिने बेलामा गाडीको कन्डक्टरले मेरो परिचयपत्र ओल्टाइपल्टाई हेर्छ। म्याद हेर्छ। मलाई शिरदेखि पाउसम्म गहिरिएर हेर्छ। फेरि नाम पढ्छ। नामको अगाडि 'डा' देख्छ । र भन्छ 'डाक्टरले पनि विद्यार्थीको आइडी देखाउँछन् !' त्यो प्रश्न थियो वा कटाक्ष मैले बुझ्न खोजिनँ। मलाई अस्पताल प्रवेश गर्न हतार थियो।
त्यो कटाक्षले भने मलाई दिनभर सताइरह्यो। आफ्नो परिस्थितिप्रति पनि झस्काइरह्यो। दश कक्षापछि अठार वर्षसम्म पनि सधैं विद्यार्थी नै रहनुमा कारण त छन्। न आर्थिक प्रगति न सामाजिक प्रगति। विगत सम्झेर केलाउँदा डिग्रीको मात्रै प्रगति भएछ । नेपाल सरकारले एमबीबीएस पढेपछि दुई वर्ष अनिवार्य सेवा गरेपछि मात्र स्नातकोत्तर पढ्न दिन्छ। प्रशासनको नैसर्गिक भाषामा त कोहि व्यक्तिले ५ वर्ष छात्रवृत्तिमा पढ्यो भने १० वर्ष सेवा गर्नुपर्छ रे। त्यसरी हेर्ने हो भने स्नातकोत्तर गर्न त दस वर्ष कुर्नुपर्यो। कस्तो अव्यवहारिक हाम्रो प्रशासनिक कानुनको सोच! यो त्यति वैज्ञानिक नदेखिएकोले होला सर्वोच्चको अन्तरिम आदेशले दुई वर्ष सेवा पूरा गरेपस्चात उच्च अध्ययनको लागि योग्य हुन्छ। सोही रित अहिलेसम्म चलिरहेको छ। तर सरकारी सेवामा रहेका चिकित्सकलाई भने तीन वर्ष कायम छ । संघीयतामा कुनै कुनै प्रदेशमा फेरबदल भएको हुन सक्छ। तर स्वास्थ्यको हकमा सोच परिवर्तन भने भएको छैन।
सरकारी सेवामा रहेको चिकित्सकले स्नातकोत्तर ( एमडी/एमएस) तलबी अध्ययनविदामा अध्ययन गरेपछि तीन वर्षमा अर्को अध्ययन विदाको लागि योग्य मानिन्थ्यो। तर अचेल प्रशासनिक भाषामा सो व्यक्तिले ५ वर्ष सेवा नगरी अर्को विदा दिन मिल्दैन भन्ने भाष्य निर्माण भएको छ। त्यो ५ वर्ष भनेको निकै धेरै समय हो । जोश जांगर सबै क्षय भएर उच्च अध्ययन गर्न नै कठिन हुन्छ। यो चिकित्सकको पढाइ घरमा बसेर पढ्न मिल्ने कुरा पनि होइन। यसमा त नाइट ड्युटी पनि गर्नुपर्छ । उमेरले रात्रीकालीन ड्युटीलाई छुट दिने कुरो भएन। घरपरिवार आदिका जिम्मेवारी पनि सोही बेलामा पर्छ। आर्थिक संकट पनि त्यही बेलामा पर्छ । कुनै निश्चित सीमा-समय नतोकी पढ्न खोज्नेलाई निर्वाध छोड्नुपर्छ। सेवाको कबुलियतनामा पढाइ सकेपछि एकमुष्ट तिर्न मिल्ने गरेको खण्डमा विशेषज्ञ सेवा विस्तार पनि द्रूत हुन्छ। वितृष्णाले देश बाहिरको प्रयास पनि रोकिन्छ।
उच्च अध्ययन गर्नको लागि त कानुनले सहज गर्नुपर्ने हो । तर यहाँ त बन्धनमै राख्न खोजेको देखिन्छ।
एक त निश्चित समयपछि मात्रै अध्ययन गर्न पाइने भनेर रोकेको छ। स्नातकोत्तरभन्दा माथि विशिष्ट अध्ययन गर्नको लागि स्पष्ट तलबी अध्ययन विदाको व्यवस्था नै देखिन्न। त्यही पुरानै रितिअनुसार जम्माजम्मी ६ वर्ष पाइने अध्ययन विदामा पनि बेलाबेला रोकतोक देखिन्छ। संघीयता लागू भएपछि प्रदेश र स्थानीयको अध्ययन सम्बन्धी व्यवस्था अझै साँघुरिएको छ।
राज्यको लागि त सुपरस्पेसलिष्ट जनशक्ति जति छिटो तयार भयो त्यति नै लाभान्वित हुने हो। तर यहाँ कसैलाई मतलब छैन । न सरकारलाई चासो छ न अध्ययन गराउने संस्थालाई चासो छ। नाममात्रै आवासीय चिकित्सक भन्छन्। आवासको व्यवस्था छैन । तलबको स्पष्ट व्यवस्था पनि छैन । पढ्न जान पनि दस पटक सोचेर जानुपर्छ। विद्यार्थी हुन त राम्रै हो। तर परनिर्भर विद्यार्थी जीवन नै जिउन परे त विजोग नै हुन्छ।
यस्तैमा जोन एलियाको एउटा सायरी याद हुन्छ।
'तुम जब आओगी तो खोया हुआ पाओगी मुझे
मेरी तन्हाई में ख़्वाबों के सिवा कुछ भी नहीं
मेरे कमरे को सजाने की तमन्ना है तुम्हें
मेरे कमरे में किताबों के सिवा कुछ भी नहीं
इन किताबों ने बड़ा ज़ुल्म किया है मुझ पर
इन में इक रम्ज़ है जिस रम्ज़ का मारा हुआ ज़ेहन
मुज़्दा-ए-इशरत-ए-अंजाम नहीं पा सकता
ज़िंदगी में कभी आराम नहीं पा सकता ।'
घतलाग्दो सायरी सम्झेपछि मन फुरुङ्ग हुन्छ । सोचको बोझ हल्का हुन्छ । खुसी र सुखी हुनु व्यक्तिको मनोदशा हो।
यस्तै विचार गर्दै थिएँ। सामाखुसी चोक आइपुग्छ । विद्यार्थी परिचयपत्र निकाल्छु । बीस रुपैयाँ दिन्छु । पाँच रुपैयाँ फिर्ता पनि माग्छु।
उही, सधैंको विद्यार्थी ।