हामीलाई बाँच्नका लागि तीनवटा आधारभूत कुराको आवश्यकता पर्छ, हावा, पानी र खाना। यतिबेला वातावरणीय प्रदूषणका कारण यी तीनवटै वस्तु प्रदूषित हुन पुगेका छन्। वायुमण्डलमा यत्रतत्र फैलिएको धुवाँ र धुलोका कारण हामी स्वस्थ श्वासप्रश्वास गर्न सकिरहेका छैनौँ। जसका कारण धेरै मानिस फोक्सोसम्बन्धी रोग तथा दमका शिकार भइरहेका छन् भने छाला र आँखाका रोगीको सङ्ख्या पनि बढ्दो क्रममा छ।
त्यसैगरी हामीले पिउने पानी पनि पूर्ण रूपमा सुरक्षित छैन। बढ्दो सहरीकरणले निम्त्याएको अव्यवस्थित बसोबासका कारण सहरी क्षेत्रमा रहेका अधिकांश पानीका मुहान, स्रोत, ढुङ्गेधारा, कुवा तथा इनारहरू मासिँदै र लोप हुँदै गएका छन्। अर्को कुरा, वर्षौँअघि बिछ्याइएका पानीका पाइपहरू पुराना भई खिया लागेका छन् भने ठाउँ–ठाउँमा टुटफुट भएका कारण पानीमा फोहोर मिसिने गरेको छ। त्यसैले खानेपानी संस्थानले वितरण गर्ने पानी पनि निर्धक्कसँग पिउन योग्य मान्न सकिने अवस्था छैन।
यतिबेला काठमाडौँको हकमा भने मेलम्ची खानेपानी आयोजनाअन्तर्गत नयाँ पाइप बिछ्याइएकाले केही हदसम्म उक्त समस्या समाधान भएको छ। तर यो समस्या सहरको मात्र होइन। ग्रामीण भेगका पानीका मुहानसमेत बालीलाई किराबाट जोगाउन प्रयोग गरिने किटनाशक विषादीका कारण प्रदूषित भइरहेका छन्। अर्कोतर्फ, सहरी क्षेत्रमा वैकल्पिक पिउने पानीका रूपमा प्रयोग गरिने विभिन्न कम्पनीका सिलबन्दी बोतल तथा जारको पानीसमेत पूर्ण रूपमा शुद्धीकरण नभएको पाइन्छ। सम्बन्धित नियामक निकायबाट समय–समयमा गरिएको अनुगमनले पनि यो तथ्य पुष्टि गरिसकेको छ।
यसैगरी, खानाका रूपमा प्रयोग गरिने अधिकांश वस्तु स्वस्थ र शुद्ध भेटिन कठिन छ। चाहे खाद्यान्न होस्, तरकारी होस्, फलफूल होस् वा बजारमा पाइने अन्य खानेकुरा, सबैमा कुनै न कुनै समस्या देखिन्छ। बालीलाई किराबाट जोगाउन नर्सरी अवस्थादेखि नै विषादी छर्ने गरिन्छ। फल लाग्न थालेपछि वा उपभोगयोग्य अवस्थामा पुगेपछि पुनः विषादी प्रयोग गरिन्छ। यस्तो अवस्थामा त्यसबाट उत्पादित वस्तु पूर्ण रूपमा स्वस्थ रहने अपेक्षा गर्न कठिन हुन्छ।
अहिले त विषादीबिना उत्पादन नै हुँदैन र व्यापार चौपट हुन्छ भन्ने मानसिकता नै विकसित भइसकेको छ। यतिले मात्र नपुगेर छिटो आम्दानी गर्ने उद्देश्यले पूर्ण रूपमा परिपक्व नभएका तरकारीमा विभिन्न रासायनिक पदार्थ मिसाइएका घोल इन्जेक्सनका रूपमा प्रयोग गरी अप्राकृतिक रूपमा फुलाएर बजारमा बिक्री गर्ने प्रवृत्ति समेत देखिन्छ। यसरी उपभोक्ताको स्वास्थ्यमाथि प्रत्यक्ष खेलवाड भइरहेको छ।
अरू त परै जाओस्, सागमा समेत अघिल्लो दिन विषादी छरेर भोलिपल्ट बजारमा बिक्रीका लागि ल्याइन्छ। फलफूललाई ताजा र आकर्षक देखाउन विभिन्न किसिमका अखाद्य पदार्थ प्रयोग गरिन्छ। स्याउलाई चम्किलो र ताजा देखाउन मैन लगाइन्छ भने केरालाई समयभन्दा अगावै पकाउन रासायनिक पदार्थ प्रयोग गरिन्छ। त्यसैगरी आँप पनि प्राकृतिक रूपमा पाक्नुअघि टिपेर केमिकलको प्रयोगमार्फत पकाइन्छ।
खाद्यान्नको अवस्था पनि फरक छैन। दाल, चामल तथा गेडागुडीमा मिसावट हुने गरेको पाइन्छ। दालमा अत्यधिक पालिस गरिन्छ। कतिपय अवस्थामा दालजस्तै देखिने गरी रङ लगाइएका ढुङ्गासमेत मिसाइएका समाचार सार्वजनिक भएका छन्। चामलमा पनि यस्तै प्रकारका अखाद्य वस्तु मिसाइने गरेको भेटिएको छ। बेसारमा ढुटो र मसालामा काठको धुलो मिसाइने गरिएको पाइन्छ। हुँदाहुँदै नुनजस्तो आधारभूत खाद्यवस्तुमा समेत बालुवा मिसाइएका घटना सार्वजनिक भएका छन्।
बजारमा पाइने तयारी खानेकुराको अवस्था झन् चिन्ताजनक छ। तिनलाई बनाउने तरिका, प्रयोग हुने कच्चा पदार्थ, पकाउने भाँडावर्तन, भण्डारणको अवस्था र सरसफाइका मापदण्ड हेर्दा धेरै खानेकुरा स्वास्थ्यका दृष्टिले उपयुक्त देखिँदैनन्। मिठाइमा अखाद्य रङ मिसाइन्छ। समोसा, पकौडा लगायतका खानेकुरा एउटै तेल वा डाल्डा घिउमा पटक–पटक पकाइन्छ। यसरी बारम्बार तताइएको तेल ट्रान्सफ्याटमा परिणत भई स्वास्थ्यका लागि हानिकारक बन्न पुग्छ।
पकाउने तेल र घिउको गुणस्तर नै कमजोर भएको अवस्थामा त्यसलाई बारम्बार प्रयोग गर्दा त्यसले स्वास्थ्यमा कस्तो असर पार्ला भन्ने सहजै अनुमान गर्न सकिन्छ। समोसा, चाउमिन, पकौडा लगायतका परिकारमा प्रयोग गरिने सामग्रीको गुणस्तरबारे सम्बन्धित निकायले समय–समयमा गरेको अनुगमनले पनि धेरै प्रश्न उठाएको छ।
बजारमा पाइने माछालाई ताजा देखाउन फर्मालिनजस्ता रसायन प्रयोग गरिएको पाइएका घटनासमेत सार्वजनिक भएका छन्। फर्मालिन शव संरक्षणमा समेत प्रयोग हुने रसायन हो। मासु पनि सधैँ स्वस्थकर र गुणस्तरीय पाइन्छ भन्ने अवस्था छैन। दूध, दही तथा मोहीमा मिसावट हुने गरेको गुनासो बेलाबेलामा उठ्ने गरेको छ। कतिपय अवस्थामा दूधमा अत्यधिक पानी मिसाइने गरिएको समेत भेटिएको छ।
त्यति मात्र होइन, छिटो उत्पादन र बढी आम्दानीको चाहनाले अहिले खाद्यान्न, फलफूल र तरकारीमा हाइब्रिड जातको प्रयोग बढेको छ। उत्पादन वृद्धि सकारात्मक पक्ष भए पनि उपभोक्ताले स्वाद, गुणस्तर र पोषणका विषयमा चिन्ता व्यक्त गर्ने गरेका छन्। यसरी अखाद्य, अस्वस्थकर तथा अत्यधिक विषादीयुक्त खानेकुराका कारण शरीरलाई आवश्यक पर्ने भिटामिन, खनिज, कार्बोहाइड्रेट, प्रोटिन र फाइबरजस्ता पोषक तत्व पर्याप्त मात्रामा प्राप्त गर्न कठिन हुन थालेको छ।
यसका साथै जंकफुड र फास्टफुडजस्ता अस्वस्थकर खानपानप्रति हाम्रो आकर्षण बढ्दो छ। यस्ता खानेकुरामा चिनी, नुन र चिल्लोको मात्रा बढी हुन्छ। लामो समयसम्म सुरक्षित राख्न विभिन्न प्रकारका रासायनिक पदार्थसमेत प्रयोग गरिन्छ, जसले स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्छ।
अर्कोतर्फ, हुने खाने वर्गका मानिसहरू पनि सन्तुलित खानपानभन्दा बाहिरी भोजनतर्फ बढी आकर्षित हुन थालेका छन्। पाँचतारे होटल वा महँगा रेस्टुरेन्टमा गएर पिज्जा, बर्गर तथा मदिराजन्य पेय पदार्थ सेवन गर्नुलाई प्रतिष्ठाको विषय ठान्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ। यसले खानपानलाई अझ अव्यवस्थित बनाएको छ।
हाम्रो भान्सामा पनि खाना तयार गर्ने क्रममा विभिन्न कमजोरी देखिन्छन्। स्वादिष्ट बनाउने नाममा अत्यधिक चिल्लो प्रयोग गर्ने, मसला धेरै हाल्ने तथा खानेकुरा अत्यधिक डढाएर पकाउने गरिन्छ। यसले पनि स्वास्थ्यमा नकारात्मक असर पार्छ। खाना भण्डारण गर्ने स्थानको सरसफाइमा समेत धेरैले पर्याप्त ध्यान दिएका हुँदैनन्।
त्यति मात्र होइन, जिब्रो र इच्छामाथि नियन्त्रण गर्न नसक्दा हामी प्राकृतिकभन्दा अप्राकृतिक खानपानतर्फ आकर्षित भइरहेका छौँ। भुटेको, तारेको, झानेको तथा पोलेको खानेकुराप्रति मोह बढ्दै गएको छ। परिणामस्वरूप पिज्जा, बर्गर, सेकुवा, छोइला, कचेला, मम, चाउमिन, समोसा जस्ता खानेकुरा लोकप्रिय बन्दै गएका छन्। अर्कोतर्फ, रोटी, ढिँडो, मकै, भटमासजस्ता तुलनात्मक रूपमा स्वास्थ्यकर परिकारप्रति रुचि घट्दै गएको छ।
हाम्रो खानामा करिब ८० प्रतिशत क्षारीय र २० प्रतिशत अम्लीय तत्व हुनुपर्नेमा व्यवहारमा यसको ठीक उल्टो अवस्था देखिन थालेको छ। त्यसमाथि नकारात्मक सोच र अनावश्यक तनावले हाम्रो स्वास्थ्यलाई थप कमजोर बनाइरहेको छ। फलस्वरूप क्यान्सर, मधुमेह, हार्ट अट्याक, मिर्गौला फेल हुने समस्या, अल्जाइमर, माइग्रेन, ट्युमर, नसा च्यापिने समस्या, दम, खोकी, निमोनिया, ग्यास्ट्रिक, अल्सर, पायल्स, कब्जियत, मोतिबिन्दु, पिसाबसम्बन्धी सङ्क्रमण, प्रोस्टेटलगायतका विभिन्न रोग बढ्दै गएका छन्।
यी रोगको उपचारका लागि हामी लाखौँ रुपैयाँ खर्च गर्छौँ। विभिन्न उपचार पद्धति अपनाउँछौँ। नाम चलेका डाक्टर र अस्पताल धाउँछौँ। कतिपय अवस्थामा धामीझाँक्री तथा अन्य वैकल्पिक उपायको समेत सहारा लिन्छौँ। तर धेरै अवस्थामा रोग पूर्ण रूपमा निको नभई केही समय नियन्त्रणमा मात्र रहने अनुभव गरिन्छ। औषधि खाँदासम्म ठीक हुने र छाडेपछि पुनः समस्या दोहोरिने अवस्थाले धेरै मानिसलाई निराश बनाएको छ।
यही कारणले आज विश्वभरका मानिस वैकल्पिक उपचार पद्धतिको खोजीमा भौँतारिरहेका छन्। बाटोमा हिँड्दै गर्दा कसैले कुनै औषधिलाई अचुक उपचारका रूपमा प्रचार गर्यो भने धेरै मानिस त्यसतर्फ आकर्षित भइहाल्छन्। त्यसको प्रभाव, वैज्ञानिक आधार वा सम्भावित जोखिमबारे पर्याप्त जानकारी नलिई प्रयोग गर्ने प्रवृत्ति पनि देखिन्छ। किनकि मानिस रोगबाट पीडित छ र उसले समाधान खोजिरहेको छ।
म पनि यस्तै खोजीमा भौँतारिने बिरामीमध्ये एक थिएँ। खोजी गर्दै जाँदा मैले आफ्नो अनुभवका आधारमा केही उपाय फेला पारेँ। आज म पोषण तथा जडीबुटीजन्य उत्पादनको प्रयोगबाट आफूले भोग्दै आएका आधा दर्जनभन्दा बढी स्वास्थ्य समस्याबाट राहत पाएको अनुभव गर्छु। विशेष गरी हेल्दी लिभिङ नेपालले उत्पादन गरेको न्यूट्रिसनसम्बन्धी सामग्रीले मलाई लाभ पुगेको महसुस भएको छ।
अन्त्यमा, हामीले औषधिलाई खाना बनाउने होइन, खानालाई औषधिका रूपमा ग्रहण गर्ने संस्कार विकास गर्न आवश्यक छ। स्वस्थ, सन्तुलित र प्राकृतिक खानपान नै दीर्घकालीन स्वास्थ्यको आधार हो।