काठमाडौं– नेपालमा स्त्रीरोग उपचारमा अत्याधुनिक प्रविधिको प्रयोग र न्यूनतम चिरफारमा आधारित शल्यक्रियालाई थप विस्तार गर्ने विषयमा विशेषज्ञ चिकित्सकहरूले छलफल गरेका छन्। नेपाल सोसाइटी फर गाइनोकोलोजिक इन्डोस्कोपी (एनएसजीई) र इन्टरनेशनल सोसाइटी फर गाइनोकोलोजिक इन्डोस्कोपी (आईएसजीई) को सहकार्यमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा रोबोटिक शल्यक्रियासहित आधुनिक उपचार प्रविधिबारे अनुभव आदानप्रदान गरिएको हो।
शनिबार काठमाडौंमा आयोजित सम्मेलनमा नेपालसहित विभिन्न देशका स्त्रीरोग विशेषज्ञले ल्याप्रोस्कोपी, हिस्टेरोस्कोपी, भीएनओटीईएस (भी-नोट्स) तथा रोबोटिक शल्यक्रियाका पछिल्ला अभ्यास र प्रविधिबारे प्रस्तुति दिएका थिए।
सम्मेलनका क्रममा ठूलो फाइब्रोइड भएको पाठेघरको लाइभ रोबोटिक शल्यक्रिया समेत प्रदर्शन गरिएको थियो। चितवन मेडिकल कलेजमा गरिएको उक्त शल्यक्रियाको काठमाडौंमा प्रत्यक्ष प्रसारण गरिएको आयोजकले जनाएको छ।

स्त्रीरोग तथा क्यान्सर विशेषज्ञ डा. वीरेन्द्र भगतले उक्त जटिल शल्यक्रिया गरेका थिए। भारतको मेदान्ता अस्पतालमा कन्सल्टेन्टका रूपमा काम गरेपछि नेपाल फर्किएका डा. भगतले नेपालमै आधुनिक स्त्रीरोग उपचार सेवा विस्तारमा काम गरिरहेको आयोजकले जनाएको छ।
पहिलोपटक रोबोटिक शल्यक्रियाको तालिम
एनएसजीईका अध्यक्ष प्रा. डा. गणेश दङ्गालले नेपालमा आयोजना भएको अन्तर्राष्ट्रिय स्त्रीरोगसम्बन्धी सम्मेलनमा पहिलोपटक रोबोट सहायता प्राप्त शल्यक्रियाको प्रदर्शन तथा तालिम गरिएको बताए।
उनका अनुसार सम्मेलनको मुख्य उद्देश्य आधुनिक प्रविधिबारे चिकित्सकलाई जानकारी दिनुका साथै प्रत्यक्ष अभ्यास र अनुभव आदानप्रदानमार्फत नेपालमा न्यूनतम चिरफारमा आधारित शल्यक्रियाको क्षमता विस्तार गर्नु हो।
मुख्य सम्मेलनअघि चिकित्सकका लागि विभिन्न प्रि–कंग्रेस कार्यशाला आयोजना गरिएको थियो। सेप्टेम्बर १६ मा चितवन मेडिकल कलेजमा रोबोटिक शल्यक्रियासम्बन्धी कार्यशाला सञ्चालन गरिएको थियो।
त्यस्तै, सेप्टेम्बर १७ र १८ मा काठमाडौं मोडल अस्पतालमा अडभान्स हिस्टेरोस्कोपी र अडभान्स ल्याप्रोस्कोपीसम्बन्धी तालिम दिइएको थियो। सेप्टेम्बर १८ मा सोही अस्पतालमा भी-नोट्स अर्थात् भ्याजाइनल नेचुरल ओरिफिस ट्रान्सलुमिनल इन्डोस्कोपिक सर्जरीसम्बन्धी कार्यशाला सञ्चालन गरिएको आयोजकले जनाएको छ।

३०० भन्दा बढी नेपाली चिकित्सक सहभागी
मुख्य सम्मेलनमा नेपालका विभिन्न स्थानबाट ३०० भन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी भएका थिए। आयोजकका अनुसार करिब १०० जना अन्तर्राष्ट्रिय विशेषज्ञ चिकित्सक प्रत्यक्ष तथा अनलाइन माध्यमबाट सम्मेलनमा सहभागी भएका थिए।
सम्मेलनमा स्त्रीरोग उपचारमा प्रयोग भइरहेका न्यूनतम चिरफारमा आधारित शल्यक्रियाका नयाँ प्रविधि, रोबोटिक शल्यक्रिया, ल्याप्रोस्कोपी, हिस्टेरोस्कोपीलगायत उपचार विधिबारे विशेषज्ञहरूले प्रस्तुति दिएका थिए।
‘विशेषज्ञता विस्तारसँगै प्रविधि पनि आवश्यक’
सम्मेलनलाई सम्बोधन गर्दै पूर्वस्वास्थ्यमन्त्री प्रा. डा. सुधा शर्माले चिकित्सा क्षेत्रमा सुपर स्पेसियालिटी र सब–स्पेसियालिटीको भूमिका बढ्दै गएको बताइन्।
नेपालको स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि विशेषज्ञता विस्तारसँगै आधुनिक प्रविधिको प्रयोग र दक्ष जनशक्ति आवश्यक रहेको उनको भनाइ थियो।
उनले गुणस्तरीय क्लिनिकल केयरलाई प्राथमिकता दिँदै स्वास्थ्य सेवाको वर्तमान अवस्थालाई थप प्रभावकारी बनाउनुपर्ने बताइन्। बदलिँदो चिकित्सा प्रविधिअनुसार चिकित्सक तथा स्वास्थ्य संस्थाले आफ्नो क्षमता र विशेषज्ञता निरन्तर विस्तार गर्नुपर्नेमा उनले जोड दिइन्।
नेपालमै रोबोटिक शल्यक्रियाको अभ्यास र तालिम सुरु हुनु जटिल स्त्रीरोगसम्बन्धी शल्यक्रियाका लागि आधुनिक उपचार प्रविधिको पहुँच विस्तार गर्ने दिशामा महत्वपूर्ण कदम भएको आयोजकको भनाइ छ।