मानसिक स्वास्थ्यका विषयमा भन्दा शारीरिक स्वास्थ्यका विषयमा कुरा गर्न हामीलाई अझै सजिलो लाग्छ। शरीरको पीडा देखिन्छ, तर मनभित्र चलेको आँधी कसैले देख्दैन।
सबैको सोच, भावना, विचार र सहने क्षमता एउटै हुँदैन। त्यसैले शारीरिक स्वास्थ्यजत्तिकै मानसिक स्वास्थ्यलाई पनि महत्त्व दिन आवश्यक छ।
रुघाखोकी, ज्वरो, झाडापखाला आदि भएमा हामी सहजै भन्छौँ- 'अस्पताल जाऊ।' तर कसैले 'म थाकेँ', 'मर्न मन लाग्यो', 'यो संसार मेरो लागि होइन' भन्यो भने हामीमध्ये धेरैले 'यस्तो नसोच', 'चुप लाग' भनेर उसको कुरा रोकिदिन्छौँ। तर यस्ता अभिव्यक्तिलाई बेवास्ता गर्दा समस्या झन् गम्भीर बन्न सक्छ।
पछिल्लो समय यस्ता विषय खुल्दै आएका छन्। लुकाउने वा चुपचाप बस्नेभन्दा खुलेर कुरा गर्ने, बुझ्ने र सहयोग गर्ने संस्कृतितर्फ परिवर्तन देखिन थालेको छ। मानसिक स्वास्थ्यसम्बन्धी सचेतनाका प्रयास पनि अघि बढिरहेका छन्।
आत्महत्या मानसिक रोग भएकाको मात्र समस्या होइन
आत्महत्या मानसिक रोग भएका व्यक्तिको मात्र समस्या होइन। यसलाई रोकथाम गर्न पनि सकिन्छ। अहिलेको भागदौडपूर्ण जीवनशैली, बढ्दो तनाव र एकअर्कालाई सुन्ने समयको कमी पनि जोखिम बढाउने कारक बन्न सक्छन्। कसैलाई आफ्नो कुरा सुन्ने फुर्सद छैन, बरु आफ्नो तर्क दिन हतार छ।
यसको जटिलता धेरै आयाममा फैलिएको हुन्छ। सम्बन्धमा आएको खटपट, संकट, हिंसा, आर्थिक समस्या, सामाजिक समस्या, हानि–नोक्सानी, सामाजिक हेपाइ, बहिष्कार, भेदभावलगायत विभिन्न परिस्थितिले आत्महत्याको जोखिम बढाउन सक्छन्।
बाहिरबाट हेर्दा सामान्य देखिने व्यक्ति पनि भित्र गम्भीर पीडामा हुन सक्छ। उसले आफू परिवारका लागि बोझ बनेको महसुस गरिरहेको हुन सक्छ, संसार अँध्यारो देखिरहेको हुन सक्छ र आत्महत्याको उपाय वा अवसरबारे सोचिरहेको हुन सक्छ। तर त्यही व्यक्तिले “मलाई केही भएको छैन” पनि भन्न सक्छ।
त्यसैले उसको भनाइलाई हल्का रूपमा लिनु हुँदैन। जोखिम देखिएमा सम्बन्धित व्यक्ति वा सेवासँग जोड्नु र उसको ज्यान जोगाउन सहयोग गर्नु हामी सबैको जिम्मेवारी हो।
त्यो क्षणमा सबै कुरा अँध्यारो देखिन सक्छ
आत्महत्याको सोच आउने समयमा व्यक्तिले आफ्ना प्रियजन, परिवार र आफूले पाएको मायालाई समेत क्षणभरका लागि बिर्सिएजस्तो महसुस गर्न सक्छ। त्यो बेला समाधानभन्दा समस्या मात्र ठूलो देखिन सक्छ।
पूर्णिमाको उज्यालो रात पनि औँसीको कालो रातजस्तो लाग्न सक्छ।
'म मेरो परिवारको खम्बा हुँ' भन्ने सोचभन्दा 'म परिवारका लागि बोझ बनेँ' भन्ने नकारात्मक सोच हाबी हुन सक्छ। जति धेरै नकारात्मक सोच र ऊर्जा बढ्दै जान्छ, अवस्था त्यति नै जटिल बन्न सक्छ र व्यक्तिले मृत्यु नै अन्तिम समाधानजस्तो देख्न सक्छ।
त्यसैले प्रश्न उठ्छ- व्यवहारमा परिवर्तन आएको छ कि छैन?
सल्लाह दिनुभन्दा पहिले सुनौँ
सल्लाह दिनु ठूलो कुरा होइन, केवल सुनिदिनु पनि ठूलो सहयोग हुन सक्छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले आत्महत्यालाई बहुआयामिक जनस्वास्थ्य समस्या मानेको छ। यसमा व्यक्तिगत तथा मानसिक अवस्था, सामाजिक परिवेश, वातावरणलगायत विभिन्न पक्षको सम्बन्ध हुन्छ।
सन् २०२१ मा विश्वभर करिब ७ लाख २७ हजार मानिसको मृत्यु आत्महत्याका कारण भएको डब्ल्युएचओको तथ्यांक छ। आत्महत्या विशेषगरी न्यून तथा निम्न–मध्यम आय भएका देशहरूमा ठूलो समस्या बनेको छ र १५–२९ वर्ष उमेर समूहमा मृत्युको प्रमुख कारणमध्ये एक हो।
नेपालको सन्दर्भमा पनि आत्महत्या गम्भीर जनस्वास्थ्यको विषय हो। यद्यपि आत्महत्यासम्बन्धी तथ्यांक पूर्ण रूपमा रिपोर्ट नहुने सम्भावनाका कारण वास्तविक अवस्था अझ फरक हुन सक्छ।
'मलाई बाँच्न मन छैन' भने के गर्ने?
यदि कसैले 'मलाई बाँच्न मन छैन' भन्यो भने उसलाई चुप गराउने होइन, सुनिदिनुपर्छ।
दोष लगाउनेभन्दा, 'तिमी अहिले गाह्रो अवस्थामा छौ जस्तो लाग्छ। म तिम्रो कुरा सुन्न चाहन्छु।'
भन्न सकिन्छ।
उसले कुरा गरिरहेको बेला बीचमै काट्नु हुँदैन। जोखिम देखिएमा उसलाई एक्लै छोड्नु हुँदैन र परिवार, विश्वासिलो व्यक्ति वा मानसिक स्वास्थ्य सेवासँग जोड्नुपर्छ।
तर यहाँ एउटा महत्त्वपूर्ण कुरा छ- आत्महत्याको जोखिममा रहेको व्यक्तिसँग संवाद गर्दा प्रश्न गर्ने शैली र भाषा संवेदनशील हुनुपर्छ। असंवेदनशील, दोषारोपण गर्ने वा दबाब दिने संवादले उसको पीडा थप बढाउन सक्छ। त्यसैले संवाद सुरक्षित, सहानुभूतिपूर्ण र गैर–आलोचनात्मक हुनुपर्छ।
रोकथाम सबैको जिम्मेवारी
आत्महत्या रोकथाम मानसिक स्वास्थ्यका चिकित्सक वा मनोवैज्ञानिकको मात्र जिम्मेवारी होइन।
घरपरिवार, विद्यालयका शिक्षक, स्वास्थ्यकर्मी, सहकर्मी र समुदाय, सबैको भूमिका उत्तिकै महत्त्वपूर्ण हुन्छ। यसका लागि बहुपक्षीय सहयोग आवश्यक हुन्छ।
आत्महत्याको कुरा गर्नु हुँदैन भन्ने धारणा गलत हो। बरु सुरक्षित र जिम्मेवार ढंगले यसबारे जनचेतना फैलाउनु आवश्यक छ।
आत्महत्याको जोखिम घटाउन संकटका समयमा पहुँच हुने घातक साधनमा नियन्त्रण गर्नु पनि प्रभावकारी सार्वजनिक स्वास्थ्य उपायमध्ये एक मानिन्छ। उदाहरणका रूपमा, अत्यधिक विषालु कीटनाशकमा प्रतिबन्ध वा नियन्त्रण लागू गरिएका स्थानमा आत्महत्याको दर घटेको प्रमाण भेटिएको छ।
हामीले आफ्नो भाषा पनि परिवर्तन गर्नुपर्छ
आत्महत्याको प्रयास वा जोखिममा रहेको व्यक्तिलाई दोष दिने, “कठोर” वा “कमजोर” भनेर मूल्यांकन गर्ने तथा परिवारलाई दोषी देखाउने भाषाले समस्या झन् जटिल बनाउन सक्छ।
बरु, 'ऊ गम्भीर पीडामा रहेछ, उसलाई सहयोग आवश्यक रहेछ' भन्ने दृष्टिकोण विकास गर्नुपर्छ।
यसलाई चेन्जिङ द न्यारेटिभ अर्थात् कथ्य वा दृष्टिकोण परिवर्तनका रूपमा बुझ्न सकिन्छ।
दोष दिने, अन्धविश्वास गर्ने वा कलंकित गर्नेभन्दा बुझ्ने र सहयोगको हात अगाडि बढाउने वातावरण बनाउनुपर्छ।
उपचारपछि पनि व्यक्ति ठीक भयो भनेर मात्र छोड्नु हुँदैन। उसको अवस्था, व्यवहार र आवश्यक सहयोगबारे निरन्तर ध्यान दिनुपर्छ।
'अब त ठीक भइसक्यो' भन्ने भ्रम
आत्महत्याको प्रयासपछि उपचार पाएपछि व्यक्ति पूर्ण रूपमा सुरक्षित भइसकेको हुन्छ भन्ने सोच राख्नु उचित हुँदैन। पुनः जोखिम हुन सक्ने भएकाले आवश्यक निगरानी, निरन्तर सहयोग र मानसिक स्वास्थ्य सेवासँगको सम्बन्ध महत्त्वपूर्ण हुन्छ।
सानो–सानो कुरामै जीवन अड्किएको हुन सक्छ। कसैलाई बचाउन सधैँ ठूलो काम नै गर्नुपर्छ भन्ने छैन।
कहिलेकाहीँ एउटा राम्रो संवाद नै जीवन र मृत्युबीचको पुल बन्न सक्छ।
त्यसैले कसैले “म थाकेँ”, “मलाई बाँच्न मन छैन” वा यस्तै गम्भीर कुरा सुनायो भने त्यसलाई बेवास्ता नगरौँ।
चुप नलगाऔँ, सुनौँ। दोष नदिऔँ, बुझौँ। एक्लो नछोडौँ, सहयोगसँग जोडौँ।
आत्महत्या रोकथाम दिवसले हामीलाई यही कुरा सम्झाउँछ- मानसिक पीडा देखिँदैन भन्दै त्यसलाई कम नआँकौँ।
( नर्सिङ अधिकृत अनिता बुढाथोकी मास्टर इन काउन्सिल साइकोलोजी हुन्)