नयाँदिल्ली— विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशक तथा बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले पदबाट राजीनामा दिएकी छन्।
रायटर्सले हेरेको उनको राजीनामा पत्रअनुसार, संयुक्त राष्ट्रसंघीय निकाय डब्ल्युएचओ तथा बंगलादेशी अधिकारीहरूले उनीमाथि गरेको ठगीसम्बन्धी अनुसन्धानबीच वाजेदले बुधबार राजीनामा दिएकी हुन्।
वाजेदको प्रकरणले सन् २०२४ को मध्यतिर भएको हिंसात्मक जनविद्रोहपछि हसिनाको सत्ताच्युतिको असर उनको राजनीतिक सहयोगीहरूमात्र नभई परिवारका सदस्यसम्म पनि पुगेको देखाएको छ। हसिनाका कैयौँ सहयोगीमाथि बंगलादेशमा भ्रष्टाचारलगायतका आरोपमा आपराधिक मुद्दा चलिरहेको छ भने हसिना स्वयं स्वनिर्वासनमा रहेकी छन्।
वाजेदले सन् २०२४ को सुरुआतमा डब्ल्युएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशकको जिम्मेवारी सम्हालेकी थिइन्। उनको कार्यकाल पाँच वर्षका लागि तय गरिएको थियो।
तर डब्ल्युएचओले उनलाई गत वर्षको अन्त्यतिर तलबविहीन प्रशासनिक बिदामा पठाएको थियो। त्यसअघि बंगलादेशको भ्रष्टाचारविरोधी आयोगले मार्च २०२५ मा उनीविरुद्ध ठगी र कागजात किर्ते गरेको आरोपमा मुद्दा दायर गरेपछि जुलाई २०२५ मा उनलाई पहिलोपटक बिदामा पठाइएको थियो। ती आरोपहरू हसिनापछि बनेको अन्तरिम सरकारले अघि बढाएको थियो।