काठमाडौं — राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त भएका छन्। प्रतिष्ठानकी सहकुलपति समेत रहेकी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपकुलपति डा. अजय मिश्रको सिफारिसमा पदाधिकारी नियुक्त गरेकी हुन्।
उपकुलपति डा. मिश्रले सिफारिस गरेका तीन जनामध्येबाट पदाधिकारी छनोट गरिएको जनाइएको छ।
नियुक्तिअनुसार डा. सुरेश विके रसाइलीलाई निर्देशक, श्याम लम्साललाई रजिस्ट्रार, डा. रामनारायण मण्डललाई रेक्टर र डा. कृष्णकुमार झालाई डिन नियुक्त गरिएको छ।
प्रतिष्ठानका महत्वपूर्ण प्रशासनिक तथा शैक्षिक जिम्मेवारीमा नयाँ पदाधिकारी नियुक्त भएसँगै प्रतिष्ठानको व्यवस्थापन र शैक्षिक गतिविधिले थप गति लिने अपेक्षा गरिएको छ।
नवनियुक्त पदाधिकारीहरूले प्रतिष्ठानको सेवा, शिक्षण तथा प्रशासनिक सुधारलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।