यौनका कुरा अझै नगर्ने? यसलाई अझै पनि स्वास्थ्य र जीवनसँग नजोड्ने? किन हामी यति लाचार भएका छौँ यस विषयमा बोल्न, लेख्न, यस विषयमा शालीन ढङ्गले चर्चा–परिचर्चा गर्न? अझ कति बालिका, कति किशोरी, कति महिला, अझ लुकेको पाटो त कति पुरुषहरूलाई यही कारणले बलि चढ्न बाध्य बनाउने?
यौन भनेको जीवनको अत्यन्त महत्वपूर्ण शाश्वत सत्य हो। जति महत्वपूर्ण भोक, तिर्खा, निद्रा हुन्छन् मानव जातिका लागि, यौन पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ। त्यो महत्वलाई हामी सबैले अन्तरमनले बुझेका पनि हुन्छौँ। तर दुःखद्, हामीमा द्वैध चरित्र यति व्याप्त छ कि हामी स्वीकार गरेकै कुरालाई “उजागर गर्नु हुँदैन” भनिरहन्छौँ।
यौन अङ्ग, यौनसम्बन्धी तर्कना, विचार नभएका मानिस हुँदैनन्। यदि यौन भन्ने कुराको अस्तित्व हुँदैनथ्यो भने मानव जाति आजको मितिसम्म अस्तित्वमा पनि रहँदैनथ्यो। यौन अङ्ग छन्, यौनको चाहना छ, तर यस विषयमा कसैले पनि स्पष्टसँग सिकाउँदैनन्। यसका सम्बन्धमा सदाचार के हो भन्नेसम्म कसैले बताइदिँदैनन्। अनि अपराध नभएर के हुन्छ त? यौन अङ्गहरू त चलाउनै नसिकाइएका हतियार प्रमाणित हुँदै गएका छन् हाम्रो समाजमा आज।
हामी सधैँ यौनका सम्बन्धमा यस्तै डबल स्ट्यान्डर्ड थिएनौँ। यसलाई बिस्तारै हाम्रो पूर्वीय सभ्यताबाट टाढा पार्दै लगिएको हो। पूर्वीय संस्कारअनुसार जीवनकालको ब्रह्मचर्याश्रम चरणमा अनेकन विषयमा शिक्षा दिइन्थ्यो र त्यसमध्ये यौनशिक्षा पनि एक हुने गर्दथ्यो। हामीसँग कामसूत्र, कोकशास्त्र, वाजीकरण तन्त्र, रतिमञ्जरी लगायतका शास्त्रहरू थिए। गुरुकुलहरूमा यी शास्त्रहरूको नियमित पठनपाठन हुन्थ्यो। यौन जीवनको आचारलाई महत्व दिएर यस सम्बन्धमा स्पष्ट ज्ञान र धारणाको निर्माण गर्न पूर्वीय जगत् सक्षम थियो।
तर, जसै भारतवर्षमा बाह्य शक्तिहरूको अधिपत्य हुँदै गयो, सामाजिक अक्षुण्णतालाई बिथोलेर शक्ति सञ्चय गर्नुपर्ने सो समयको राजनीतिक आवश्यकताले गर्दा हाम्रा धरोहरहरू समयक्रमसँगै ध्वस्त पारिँदै गए। फलस्वरूप यौनजस्तो महत्वको विषयलाई विचार–विमर्श र चर्चा–परिचर्चाहरूबाट लुप्त बनाउँदै लगियो। आजको समयमा त्यसबेलाका ती विघ्न महत्वपूर्ण ग्रन्थहरूसमेत हामी घरमा बसेर अध्ययन गर्न नसक्ने बनाइएका छौँ।
आधुनिक समाजले समेत यौनलाई अन्धविश्वास र संकोचबाट मुक्त हुनुपर्ने, जैविक, मानसिक र भावनात्मक स्वास्थ्यसँग जोडिएको एक स्वाभाविक मानवीय व्यवहारका रूपमा अङ्गालेको छ। सम्बन्धहरूमा सहमति, पारस्परिक सम्मान, सुरक्षाको जिम्मेवारी र लैङ्गिक विविधतालाई स्वीकारेको छ।
हामी अनुशरण गर्ने मात्र रहिरह्यौँ। न आफैँले अध्ययन गर्यौँ, न आफूसँगै भएका महत्वपूर्ण बौद्धिक सम्पत्तिलाई स्वीकार्न सक्यौँ। अझ वैज्ञानिक रूपमा स्थापित हुँदै गरेका आधुनिक मान्यताकै अनुशरणसम्म पनि गर्न सकेका छैनौँ।
बाल्यकालदेखि उमेरअनुसार प्राप्त गर्दै जानुपर्ने यौनसम्बन्धी व्यवहारिक जानकारीहरू कतैबाट पाउन नसकेको व्यक्ति यौनका दृष्टिले परिपक्व एउटा वयस्क हुँदासम्म पनि त्यस विषयमा रनभुल्ल रहिरहन्छ हामीकहाँ। यौनका सन्दर्भमा के ठीक, के बेठीक निर्णय गर्ने असमर्थताकै बीच जीवन व्यतीत गर्छ। यसको अर्थ, यौनका दृष्टिकोणले हाम्रो शतप्रतिशत जनसंख्या रुग्ण छ भन्नु अतिशयोक्ति हुँदैन। अझ यौनसम्बन्धी धारणाको विविधता त कति छ कति।
हाम्रा बच्चाहरूले ज्वरो आएको, पेट दुखेको, चोट लागेको, आँखामा कसिङ्गर परेको कुरा स्पष्टसँग परिवारजनसँग, विद्यालयमा शिक्षक–शिक्षिकासँग, छरछिमेकीसँग भन्न सकेजस्तै यौनसम्बन्धी उनीहरूका जिज्ञासा, अस्पष्टता, दुखाइ तथा समस्याहरूको चर्चा गर्न सक्नुपर्दैन? यस सम्बन्धमा सामाजिक धारणा ठीक नभएको कुरा सही हो भने हाम्रो प्रयास यहाँ केन्द्रित हुनुपर्दैन? यस कुराले महत्व पाउनुपर्दैन?
यौनसम्बन्धी सदाचारयुक्त र स्वस्थ आगामी पुस्ता तयार पार्ने हो भने बाटाघाटा, भौतिक निर्माणभन्दा पहिले यस सम्बन्धी सामाजिक जागरण, विद्यालयीय शिक्षा तथा परिवार तहसम्म प्रभावकारी हस्तक्षेपको नीति राज्यले लियोस्। एउटा परिवारमा परेको घटनामा राज्यले समानुभूति प्रकट गरेर देखाउन अहिले त सम्भव होला, तर आउँदो समयमा टोल–टोलमा यस्ता घटना हुन सक्ने गरी यौनसम्बन्धी हीन व्यवहार नहोला भन्न सकिने स्थिति रहेन। त्यो समयमा राज्य घर–घर पुग्ने, त्यतै व्यस्त भएको जनाउ दिने हो कि घर–घरमा यौनसम्बन्धी स्वस्थकर एवं शालीन आचरणको नियोजित विस्तार गर्ने हो, सोच्न ढिला हुन थालेको हो।