आजको संसारमा स्वास्थ्य उपचार दिनानुदिन महँगो हुँदै गइरहेको छ। नयाँ नयाँ रोग, महामारी, कुपोषण, मानसिक तनाव तथा बदलिँदो जीवनशैलीले बालबालिकाको स्वास्थ्यमा समेत नयाँ चुनौती थपिरहेका छन्। यस्तो अवस्थामा रोग लागेपछि उपचार गर्नेभन्दा रोगसँग जुध्न सक्ने स्वस्थ शरीर र सक्षम पुस्ता निर्माण गर्ने रोगप्रतिरोध तथा स्वास्थ्य प्रवर्द्धनको अवधारणालाई प्राथमिकता दिनुपर्ने आवश्यकता बढेको छ।
नेपालमा पछिल्लो समय यही बहससँग जोडिएर एउटा पुरानो आयुर्वेदिक परम्परा पुनः चर्चामा आएको छ स्वर्णविन्दुप्राशन।
स्वर्णविन्दुप्राशन आयुर्वेदिक परम्परामा बालबालिकाको स्वास्थ्य, शारीरिक विकास, पाचन क्षमता, स्मरणशक्ति तथा रोगप्रतिरोधात्मक क्षमताको विकाससँग जोडिएको संस्कारका रूपमा वर्णन गरिएको पाइन्छ। संस्कृतका ‘स्वर्ण’ अर्थात् सुन र ‘प्राशन’ अर्थात् चटाउने वा खुवाउने कार्यबाट ‘स्वर्णप्राशन’ शब्द बनेको हो। नेपालमा यसलाई अहिले सरकारी स्वास्थ्य कार्यक्रमकै रूपमा विस्तार गर्ने प्रयास भइरहेको छ।
हजारौँ वर्ष पुरानो परम्पराको निरन्तरता
बालरोग चिकित्साका संवर्धक ऋषि काश्यपसँग सम्बन्धित काश्यप संहिता (वृद्धजीवकीय तन्त्र) मा बालबालिकाको स्वास्थ्य र विकाससँग सम्बन्धित विभिन्न आयुर्वेदिक विधिहरूको चर्चा पाइन्छ। स्वर्णप्राशन पनि त्यही परम्परासँग जोडिएको विषय हो।
आयुर्वेदिक साहित्यमा स्वर्णप्राशनलाई बालबालिकाको शारीरिक, मानसिक र बौद्धिक विकास तथा व्याधिक्षमत्व अर्थात् रोगसँग प्रतिरोध गर्ने क्षमतासँग सम्बन्धित गरिएको पाइन्छ। काश्यप संहिताको परम्परा प्राचीन भए पनि यसको वर्तमान पाठ विभिन्न कालखण्डमा सम्पादन र पुनःसंस्करण हुँदै आएको मानिन्छ। नेपालका इतिहास तथा आयुर्वेदसम्बन्धी विद्वान् राजगुरु हेमराज शर्माले काश्यप संहिताको प्राचीन पाण्डुलिपि सम्पादन गरी सन् १९३८ मा प्रकाशनमा ल्याएको इतिहास पनि उल्लेखनीय छ। तर यसको अर्थ आधुनिक विज्ञानले प्रमाणित गरिसकेको औषधि वा खोपको रूपमा यसलाई बुझ्नु हुँदैन। आयुर्वेदिक परम्परामा यसको महत्त्व स्थापित भए पनि यसको सुरक्षा, प्रभावकारिता र दीर्घकालीन परिणामबारे आधुनिक वैज्ञानिक मापदण्डअनुसार थप व्यवस्थित अनुसन्धान आवश्यक छ। यही अनुसन्धानले परम्परागत ज्ञानलाई अझ विश्वसनीय र विश्वव्यापी बनाउन सक्छ।
जातकर्म संस्कारदेखि स्वर्णविन्दुसम्म
हिन्दू तथा सनातन संस्कृतिमा शिशु जन्मिएपछि गरिने सोह्र प्रमुख संस्कारमध्ये जातकर्म संस्कार पनि एक हो। प्राचीन परम्परामा शिशु जन्मिएपछि सुनको टुक्रा वा सालाकाको प्रयोग गरी घिउ र मह चटाउने तथा शुभ मन्त्र उच्चारण गर्ने चलन रहेको पाइन्छ।
समयक्रममा यस्ता परम्पराहरूको स्वरूप परिवर्तन हुँदै गए। बालबालिकाको स्वास्थ्य र विकाससँग सम्बन्धित आयुर्वेदिक अवधारणासँग जोडिएर स्वर्णप्राशनको परम्परा विकसित भएको मानिन्छ।
आज प्रयोगमा आएको स्वर्णविन्दुमा सामान्यतः घिउ, मह र स्वर्णभस्मसँगै आयुर्वेदिक औषधीय द्रव्यहरूको प्रयोग हुने गरेको पाइन्छ। यसको मात्रा, मिश्रण र प्रयोग विधि भने चिकित्सकीय सल्लाह र सम्बन्धित निर्देशिकाअनुसार हुनुपर्छ।
पुष्य नक्षत्रसँग जोडिएको परम्परा
स्वर्णप्राशनको अर्को विशेष पक्ष हो पुष्य नक्षत्र। प्राचीन ज्योतिष तथा आयुर्वेदिक मान्यतामा पुष्य नक्षत्रलाई शुभ, पोषक र स्वास्थ्यका दृष्टिले अनुकूल मानिएको छ। त्यसैले प्रत्येक महिनाको पुष्य नक्षत्रका दिन बालबालिकालाई स्वर्णप्राशन गराउने परम्परा विकसित भएको पाइन्छ।
तर पुष्य नक्षत्रकै दिन सेवन गर्दा औषधीय प्रभाव वैज्ञानिक रूपमा अरू दिनभन्दा बढी हुन्छ भन्ने विषयलाई प्रमाणित गर्न थप अनुसन्धान आवश्यक छ। यथास्थितिमा भने परम्परागत विश्वास र वैज्ञानिक प्रमाणलाई छुट्टाछुट्टै बुझेर अघि बढ्नु नै उचित हुन्छ।
आधुनिक समयमा पुनरुत्थान
केही दशकअघिसम्म स्वर्णप्राशन भारत र नेपालका केही परम्परागत वैद्य तथा आयुर्वेदिक परिवारमा सीमित अभ्यासजस्तो थियो। पछिल्लो समय भने भारतका विभिन्न आयुर्वेदिक संस्थाहरू तथा कलेजहरूले यसलाई संस्थागत रूपमा सञ्चालन गर्न थालेपछि यसको चर्चा बढेको छ।
भारतका कर्नाटक, केरला र महाराष्ट्रलगायतका क्षेत्रमा यसको अभ्यास र प्रचार विस्तार भएको पाइन्छ। बालबालिकाको स्वास्थ्य प्रवर्द्धनसँग जोडेर गरिने यस्तो परम्परागत अभ्यासप्रति बढ्दो चासोले नेपालमा पनि यसको पुनरुत्थानका लागि वातावरण बनाएको छ। नेपालमा आयुर्वेद क्षेत्रका विज्ञहरूको पैरवी र सरकारी तहको पहलसँगै अहिले स्वर्णविन्दुप्राशनलाई संस्थागत कार्यक्रमका रूपमा अघि बढाउने काम भइरहेको छ।
सरकारी नीतिमा स्वर्णविन्दुप्राशन
नेपालमा २०८२ भदौ १ गतेको मन्त्रिस्तरीय निर्णयबाट स्वर्णविन्दुप्राशन सञ्चालन निर्देशिका २०८२ जारी भएको छ। यससँगै स्वर्णविन्दुप्राशनलाई सरकारी कार्यक्रमको संरचनाभित्र सञ्चालन गर्ने आधार तयार भएको छ।
नेपाल सरकारको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागअन्तर्गत नागरिक आरोग्य कार्यक्रम सञ्चालन निर्देशिका २०७६ अनुसार नागरिक आरोग्य सेवा केन्द्रमार्फत स्थानीय तहमा निःशुल्क आयुर्वेद सेवा, नेपाल सरकारबाट सूचीकृत अत्यावश्यक आयुर्वेदिक औषधि, योग ध्यान व्यायामसम्बन्धी परामर्श तथा अभ्यासलगायतका कार्यक्रम सञ्चालन भइरहेका छन्। यसै संरचनाभित्र स्वर्णविन्दुप्राशन कार्यक्रमलाई पनि अघि बढाइएको छ।
स्थानीय स्तरमा कार्यक्रमलाई प्रभावकारी बनाउन नागरिक आरोग्य समिति र वडास्तरमा नागरिक आरोग्य समूह गठन गर्ने व्यवस्था पनि गरिएको छ। यसले स्वास्थ्य सेवालाई अस्पताल र उपचार केन्द्रबाट मात्र नभई समुदाय र परिवारको तहसम्म पुर्याउने अवधारणालाई बल दिन सक्छ।
स्थानीय तहको उदाहरण : तारकेश्वर
सरकारी कार्यक्रम अघि बढेपछि धनुषाको हंसपुर नगरपालिकाले आफ्नै स्रोतबाट स्थानीय तहमा प्रारम्भिक रूपमा स्वर्णविन्दुप्राशन कार्यक्रम सञ्चालन गरेको उदाहरण प्रस्तुत गरेको छ। कपिलवस्तुको बाणगंगा, रूपन्देहीको बुटवल तथा काठमाडौंका बूढानीलकण्ठ, कीर्तिपुर र तारकेश्वरलगायतका पालिकाहरूले पनि यसलाई प्राथमिकताका साथ अघि बढाइरहेका छन्।
काठमाडौंको तारकेश्वर नगरपालिकामा यसको अभ्यास विशेष रूपमा उल्लेखनीय देखिन्छ। जनस्वास्थ्य विज्ञ तथा नगर स्वास्थ्य समितिका सदस्य डा. लक्ष्मीप्रसाद घिमिरेका अनुसार नगरपालिकाभित्र पाँच वर्षसम्मका बालबालिकाको संख्या करिब ११,८२३ रहेको छ। २०८३ साल जेठदेखि वडा नम्बर ११ स्थित आयुर्वेद स्वास्थ्य केन्द्रबाट प्रत्येक महिनाको पुष्य नक्षत्रका दिन बालबालिकालाई खाली पेटमा स्वर्णविन्दु सेवा उपलब्ध गराउन थालिएको छ। कार्यक्रममा जेठ महिनामा करिब १,७००, असारमा २,१०० श्रावणमा २,४०० र भदौमा १६०० बालबालिकाले सेवा लिएको विवरण दिइएको छ। कतिपयले चौथोपटक र कतिपयले पहिलोपटक सेवा लिएका बालबालिकाहरूको सङ्ख्या हालसम्म ७८०० पुगेको छ।
नगर आयुर्वेद अस्पताल तथा सम्बन्धित स्वास्थ्य संस्थाका चिकित्सक र कविराजमार्फत मौलिक चिकित्सा पद्धतिअनुसार सेवा उपलब्ध हुनु स्थानीय तहबाट परम्परागत स्वास्थ्य ज्ञानको संस्थागत प्रयोगको एउटा उदाहरण हो।
कार्यक्रमलाई निश्चित उमेर र वडामा सीमित नगरौँ
हाल कतिपय स्थानमा सीमित बजेट, स्थानीय तहको प्राथमिकता र उपलब्ध जनशक्तिका कारण स्वर्णविन्दुप्राशन निश्चित उमेर समूह वा निश्चित वडाका बालबालिकामा मात्र सीमित हुने अवस्था देखिन्छ। यस्तो कार्यक्रमलाई दीर्घकालीन स्वास्थ्य प्रवर्द्धनको दृष्टिले हेर्ने हो भने यसलाई बजेट र प्रशासनिक सीमाभन्दा माथि उठाएर निरन्तरता दिन आवश्यक छ। विशेषतः जन्मदेखि किशोरावस्थासम्म बालबालिकाको स्वास्थ्य विकासका विभिन्न चरण हुन्छन्। त्यसैले कुन उमेर समूहलाई, कति अवधिसम्म र कुन मात्रामा कार्यक्रम सञ्चालन गर्ने भन्ने विषय वैज्ञानिक प्रमाण, चिकित्सकीय मापदण्ड र सरकारी निर्देशिकाका आधारमा स्पष्ट हुनुपर्छ। कार्यक्रमलाई केवल लोकप्रियताका आधारमा विस्तार गर्नु पनि उचित हुँदैन।
परम्परागत ज्ञानलाई अनुसन्धानसँग जोडौँ
स्वर्णविन्दुप्राशनका पक्षमा शारीरिक, मानसिक, बौद्धिक र रोगप्रतिरोधात्मक क्षमतामा सुधार हुने विभिन्न दाबीहरू गरिन्छ। आयुर्वेदिक दर्शनमा ‘व्याधिक्षमत्वम्’ अर्थात् रोगसँग जुध्न सक्ने क्षमतालाई महत्त्व दिइएको छ। तर आधुनिक स्वास्थ्य नीतिले कुनै पनि कार्यक्रमलाई व्यापक बनाउनुअघि यसको प्रभावकारिता र सुरक्षा वैज्ञानिक अध्ययनबाट पुष्टि गर्न खोज्छ। त्यसैले नेपालका लागि अहिलेको सबैभन्दा महत्त्वपूर्ण काम प्रचारभन्दा पनि अनुसन्धान हो। स्वर्णविन्दुप्राशन नियमित रूपमा सेवन गरिरहेका बालबालिकाको स्वास्थ्य अवस्था, पोषण, संक्रमणको दर, विद्यालयीय उपस्थिती, शारीरिक विकास, संज्ञानात्मक क्षमता तथा सम्भावित प्रतिकूल प्रभावसम्बन्धी दीर्घकालीन अध्ययन गर्न सकिन्छ। विभिन्न उमेर समूहमा गरिएको तुलनात्मक अनुसन्धानले यसको वास्तविक प्रभावबारे वस्तुनिष्ठ निष्कर्ष निकाल्न मद्दत गर्नेछ।
यदि परिणाम सकारात्मक देखिए भने पूर्वीय सभ्यताले विकास गरेको यस परम्परागत ज्ञानलाई वैज्ञानिक प्रमाणसहित अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न सकिन्छ। यदि प्रभाव सीमित वा कुनै जोखिम देखिएमा त्यसअनुसार कार्यक्रम परिमार्जन गर्न पनि सकिन्छ। वैज्ञानिक परीक्षणबाट डराउनु होइन, त्यसलाई परम्परागत ज्ञानको शक्ति प्रमाणित गर्ने अवसरका रूपमा लिनुपर्छ।
महामारी र विपत्तिको पुस्ताका लागि लगानी
आज जन्मिएको पुस्ताले भूकम्प, बाढी, पहिरो, जलवायु परिवर्तन र कोभिड १९ जस्ता महामारी तथा प्राकृतिक विपत्तिको जोखिमसँगै जीवन बिताउनुपर्नेछ। यस्तो अवस्थामा बालबालिकाको शारीरिक स्वास्थ्यसँगै मानसिक सुदृढता, पोषण, सिकाइ क्षमता र रोगसँग जुध्ने क्षमतामा लगानी गर्नु राज्यको दीर्घकालीन दायित्व हो। तर यहाँ एउटा कुरा स्पष्ट हुनुपर्छ बालबालिकाको स्वस्थ विकासका लागि कुनै एक औषधि वा कार्यक्रम मात्र पर्याप्त हुँदैन। आमाको स्वास्थ्य र पोषण, स्तनपान, सन्तुलित आहार, खोप, सरसफाइ, सुरक्षित खानेपानी, पर्याप्त निद्रा, शारीरिक गतिविधि, मानसिक स्वास्थ्य, सुरक्षित वातावरण र गुणस्तरीय शिक्षा सबै समान रूपमा आवश्यक छन्।
त्यसैले स्वर्णविन्दुप्राशनलाई यी आधारभूत स्वास्थ्य सेवाको विकल्पका रूपमा होइन, प्रमाणित सुरक्षा र प्रभावकारिताको सीमाभित्र रहेर स्वास्थ्य प्रवर्द्धनका अतिरिक्त कार्यक्रमका रूपमा विकास गर्नु बढी उपयुक्त हुन्छ।
उपचारभन्दा स्वास्थ्य प्रवर्द्धनमा जोड
स्वास्थ्य उपचार महँगो हुँदै गएको अवस्थामा रोग लागेपछि मात्र अस्पताल पुग्ने संस्कृतिबाट स्वास्थ्य जोगाउने संस्कृतितर्फ जानु आवश्यक छ। राज्यले स्वास्थ्य क्षेत्रमा गर्ने लगानीको ठूलो हिस्सा उपचारमा मात्र खर्च गर्नुको सट्टा पोषण, रोग रोकथाम, स्वास्थ्य शिक्षा, बालस्वास्थ्य र समुदायमा आधारित स्वास्थ्य प्रवर्द्धनमा पनि लगानी बढाउनुपर्छ। कुपोषण, बालबालिकाको शारीरिक तथा बौद्धिक विकास, मानसिक स्वास्थ्य र रोगप्रतिरोधी क्षमता निर्माणजस्ता विषयमा दीर्घकालीन लगानीले भविष्यको स्वास्थ्य खर्चसमेत घटाउन सक्छ।
यद्यपि स्वर्णविन्दुप्राशनले कुपोषण, अटिजम वा शारीरिक तथा बौद्धिक अपाङ्गता रोक्छ वा उपचार गर्छ भन्ने निष्कर्षमा पुग्न पर्याप्त वैज्ञानिक प्रमाण आवश्यक हुन्छ। यस्ता संवेदनशील स्वास्थ्य दाबीलाई प्रमाणबिना प्रचार गर्नुको सट्टा अनुसन्धानमार्फत प्रमाणित गर्नु नै बालबालिकाको हितमा हुन्छ।
अबको प्राथमिकता : सेवा मात्र होइन, मूल्याङ्कन पनि
स्वर्णविन्दुप्राशन कार्यक्रम देशभर विस्तार हुँदै जांदा सेवा विस्तारसँगै प्रभावकारिता मूल्याङ्कनको चरण शुरु हुनुपर्छ।।कति बालबालिकाले सेवा लिए? कुन उमेर समूहका बालबालिका बढी सहभागी भए? नियमित र अनियमित सेवनकर्ताबीच के फरक देखियो? बालबालिकाको स्वास्थ्य सूचकमा कस्तो परिवर्तन आयो? कुनै प्रतिकूल प्रभाव देखियो कि देखिएन? अभिभावकको धारणा के छ? कार्यक्रमको लागत र उपलब्ध स्वास्थ्य परिणामबीच कस्तो सम्बन्ध छ?
यी प्रश्नको उत्तर तथ्यांकले दिनुपर्छ। यसका लागि स्थानीय तह, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, आयुर्वेद चिकित्सक, बालरोग विशेषज्ञ, जनस्वास्थ्य विज्ञ, विश्वविद्यालय तथा अनुसन्धान संस्थाबीच सहकार्य आवश्यक छ। स्थानीय तहमा सञ्चालन भइरहेका कार्यक्रमहरूलाई अनुसन्धानका लागि उपयोगी व्यवस्थित तथ्यांक केन्द्रमा रूपान्तरण गर्न सकियो भने नेपालले आफ्नै अनुभवबाट बलियो स्वास्थ्य नीति निर्माण गर्न सक्छ।
मौलिक ज्ञानलाई वैज्ञानिक प्रमाणसँग जोडौँ
स्वर्णविन्दुप्राशन केवल सुन, घिउ र महको मिश्रणको विषय होइन। यसको पछाडि रहेको मूल प्रश्न अझ ठूलो छ हामीले आफ्नै परम्परागत स्वास्थ्य ज्ञानलाई आधुनिक अनुसन्धानसँग कसरी जोड्ने? नेपालसँग आयुर्वेद, जडीबुटी, स्थानीय खाद्य परम्परा र समुदायमा आधारित स्वास्थ्य ज्ञानको लामो इतिहास छ। तर इतिहास हुनु मात्र पर्याप्त हुँदैन। त्यस ज्ञानलाई आजको वैज्ञानिक मापदण्डमा परीक्षण, प्रमाणीकरण र आवश्यक परिमार्जन गर्न सक्नुपर्छ।
स्वर्णविन्दुप्राशनको हकमा पनि यही बाटो उपयुक्त हुन्छ। न त प्रमाणबिना यसलाई चमत्कारी औषधि वा आधुनिक खोपको पूर्ण विकल्प घोषणा गर्नु उचित हुन्छ, न त अनुसन्धान नै नगरी पुरानो परम्परा भएकै कारण अस्वीकार गर्नु उचित हुन्छ।
प्रमाणको दस्तावेजीकरणले परम्पराको सम्मानलाई थप बल पुर्याउँछ। स्वर्णविन्दुप्राशन कार्यक्रमलाई यही दृष्टिकोणबाट अघि बढाउन सकियो भने सरकारले सञ्चालनमा ल्याएको यो कार्यक्रम बालस्वास्थ्य प्रवर्द्धनमा नयाँ सम्भावनाको कोसेढुङ्गा बन्न सक्छ। यो महत्वपूर्ण कार्यक्रमलाई सीमित संघीय सशर्त बजेट वा स्थानीय तहको तत्कालीन प्राथमिकतामा मात्र निर्भर नराखी आवश्यक मापदण्ड, पर्याप्त बजेट, दक्ष जनशक्ति, अभिलेख प्रणाली र वैज्ञानिक अनुसन्धानसहित दीर्घकालीन कार्यक्रमका रूपमा विकास गर्नुपर्छ। स्वस्थ बालबालिका नै स्वस्थ समाजको आधार हुन्। आज बालबालिकाको स्वास्थ्यमा गरिएको लगानी भोलिको अस्पताल खर्च मात्र घटाउने लगानी होइन, सक्षम, आत्मविश्वासी र स्वस्थ पुस्ता निर्माण गर्ने राष्ट्रिय लगानी पनि हो। त्यसैले स्वर्णविन्दुप्राशनलाई अन्धविश्वास र अन्धविरोध दुवैबाट मुक्त गरेर परम्परा, चिकित्सा, अनुसन्धान र जनस्वास्थ्यको साझा चौतारीमा उभ्याउनुपर्ने समय आएको छ। पूर्वीय ज्ञानले दिएको सम्भावनालाई वैज्ञानिक अनुसन्धानको कसौटीमा परीक्षण गरेर विश्वसामु प्रस्तुत गर्न सकियो भने त्यो केवल एउटा आयुर्वेदिक कार्यक्रमको सफलता हुनेछैन नेपालको मौलिक ज्ञान परम्परालाई आधुनिक विज्ञानसँग जोड्ने एउटा महत्त्वपूर्ण उदाहरणसमेत बन्न सक्छ।