आयुर्वेदमा ऋतु सन्धिलाई निकै महत्त्वपूर्ण ज्ञानको रुपमा वर्णन गरिएको छ जसमा पुरानो ऋतुको सात दिन र आउने नयाँ ऋतुको पहिलो सात दिन समावेश गरिएको छ,उदाहरणको लागि हाल चलिरहेको ऋतु भदौको अन्तिम हप्ता र असोजको पहिलो हप्ता दुवैलाई जोड्ने हो भने यसलाई नै ऋतु सन्धि भनिन्छ।भदौ २४ देखि ३० गतेसम्म वर्षा ऋतुको अन्तिम सात दिन र असोज १ देखि ६ गतेसम्म सरद ऋतुको पहिलो सात दिनलाई ऋतुसन्धि बुझ्न सकिन्छ।
ऋतु सन्धीको महत्व र शारीरिक प्रभाव
ऋतु सन्धिलाई पाचन अग्नि (जठाराग्नी) कमजोर हुने समयको रुपमा वर्णन गरिएको छ। यस अवधिमा पुरानो ऋतुको प्रभावले जम्मा भएका दोष(वात-पित्त-कफ) अझै शरिरमा विद्यमान हुन्छन भने नयाँ ऋतुको गुणहरू भित्रिन थालेका हुन्छन्। यस दोहोरो प्रभावले शरीर संवेदनशील बन्छ र पाचनशक्ति लगायत रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर हुँदै जान्छ।
ऋतु सन्धि : आहार (खानपान)
पहिलो सात दिन (पुरानो ऋतुको अन्तिम सात) मा पुरानो ऋतु अनुकूलको आहारलाई बिस्तारै घटाउँदै जानुपर्छ भने नयाँ ऋतु अनुकूलको आहारलाई बढाउँदै जानुपर्छ। यस वर्षको वर्षा ऋतुको अन्तिम सात दिन भदौ २४ देखि ३० मा हल्का सजिलै पच्ने न्यानो खानेकुरा जस्तै सुप,पुरानो चामलको भात,घिउ,ओखर,हरियो सागपात,ताजा तरकारी आदिमा बढी जोड दिनुपर्छ।दोस्रो सात दिन(नयाँ ऋतुको पहिलो साता असोज १ देखि ६) मा शरद ऋतु अनुकूल को आहार मिठो,तितो र कषाय(टर्रो) स्वाद भएका खाना जस्तै घिउ,चामल,मुंगको दाल,करेला,अनार,अमला,हरियो तरकारी आदिमा बढी जोड दिनु पर्दछ।
ऋतु सन्धि : दिनचर्या(जीवनशैली)
ऋतुसन्धिमा बिहान सूर्योदय भन्दा पहिले उठ्ने बानी बसाल्नु पर्दछ। यस समयमा रुच्छताको वृद्धिको कारण शरीरमा तेलको (नरिवल तथा तिल तेल) प्रयोग फाइदा जनक हुन्छ,जसलाई अभ्यङ्ग भनिन्छ।यस समयमा दिवा स्वप्न निषेध गरिएको छ,किनभने यसले पाचन अग्निलाई झन् कमजोर बनाउँछ।हल्का व्यायाम,योग,प्राणायाम जस्तै (सूर्य नमस्कार कपालभाती अनुलोम बिलोम) गर्नु राम्रो मानिन्छ तर धेरै दौडधुप भारी व्यायाम अत्याधिक पसिना आउने काम गर्नु हुँदैन किनभने शरीर ऋतु सन्धिमा कमजोर हुन्छ।बिहान र साँझको समय १५ देखि २० मिनेट हिँड्नु उपयुक्त हुन्छ। राति चाँडै सुत्ने र सात आठ घण्टाको गहिरो निन्द्रा लिनु पर्दछ।
ऋतु सन्धि : मानसिक र अध्यात्मिक पक्ष
यस कालमा वातदोष तथा पित्त दोषको कारण मन एकदमै चञ्चल,तनाव,रिस,ईर्ष्या,चिन्ता आदि सजिलैसँग प्रकोप हुने गर्दछन्। यसकारण यसको नियन्त्रणको लागि ध्यान मन्त्र जप,प्रार्थना,पूजापाठ तुलसीको पूजा,गायत्री मन्त्रको जप आदि विषयहरू फाइदाजनक हुन्छ।
ऋतुसन्धि : शुद्धिकरण र पञ्चकर्म
यस समयमा संशोधन (शरीरबाट दोष हटाउने प्रक्रिया) कर्म कुनै योग्य आयुर्वेदिक चिकित्सकको परामर्श अनुसार गर्दा फाइदाजनक हुन्छ।
ऋतु सन्धिमा नगर्ने कुराहरू
चिसो खाना,चिसोपानी बरफ, आइसक्रिम, फ्रिजमा राखेको खानेकुरा, भुटेको, धेरै तैल, धेरै मिठो, धेरै अमिलो, धेरै नुनिलो, मासु, मदिरा, धुम्रपान, दिउँसो सुत्नु,राति अबेरसम्म जागरण, धेरै व्यायाम, अत्याधिक श्रम, मानसिक तनाव, रिस, झगडा, चिन्ता, एक्कासी नयाँ खाना, नयाँ बानी, अत्याधिक यौन सम्पर्क
सबै ऋतु र ऋतु सन्धिमा आहार र विहारलाई यसरी नै मिलाएर अगाडि बढ्न सकियो भने रोगबाट टाढा रहन सकिन्छ त्यसैले यो भदौ २४ देखि असोज ६ गतेसम्मको १५ दिने ऋतु सन्धिलाई गम्भीरतापूर्वकलिइ माथि वर्णन गरिएका सबै नियमहरु पालना गरियो भने सम्पूर्ण वर्ष शरीर,मन र आत्मालाई स्वस्थ र सन्तुलित राख्न सकिन्छ।
(डा भुषाल आयुर्वेदका कन्सल्टेन्टका रुपमा चिनमा कार्यरत छन्)