काठमाडौं- प्रेस काउन्सिल नेपालले आईसीयूमा उपचाररत व्यक्तिको अन्तर्वार्ता लिएर प्रसारण गरिएका सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलले यस्ता सामग्री पत्रकार आचारसंहिताको परिधिभित्र रहे–नरहेको विषयमा थप अध्ययन तथा अनुगमन गरिरहेको जनाएको हो।
काउन्सिलका अनुसार रसुवामा आएको बाढीबाट उद्धार गरिएका तथा अस्पतालको आईसीयूमा उपचाररत व्यक्तिसँग सम्बन्धित अन्तर्वार्ता सामग्री सामाजिक सञ्जाल तथा युट्युब च्यानलबाट प्रसारण भएको विषय काउन्सिलको जानकारीमा आएको छ।
त्यस्तै, माथिल्लो त्रिशूली–ए जलविद्युत आयोजनासँग सम्बन्धित घटनापछि १० दिनपछि फेला परेका र आईसीयूमा उपचाररत व्यक्तिसँग गरिएको अन्तर्वार्ता पनि युट्युब च्यानलबाट सम्प्रेषण भएको विषयमा काउन्सिलको ध्यानाकर्षण भएको छ।
यसअघि सगरमाथामा सम्पर्कविहीन भएको सातौँ दिनमा फेला परेका एक पथप्रदर्शक अस्पतालमा उपचाररत रहेको अवस्थामा आईसीयूबाटै अन्तर्वार्ता लिई बीबीसी नेपालीले प्रसारण गरेको भिडियो सामग्रीको विषयसमेत काउन्सिलको जानकारीमा आएको विज्ञप्तिमा उल्लेख छ।
काउन्सिलले यी सामग्रीको सम्बन्धमा पत्रकार आचारसंहिताको परिधिभित्र रहेर थप अध्ययन तथा अनुगमन गरिरहेको जनाएको छ। अध्ययनका क्रममा सम्बन्धित सञ्चारकर्मी, अस्पताल तथा मेडिकल काउन्सिलमा पत्राचारसमेत गरिएको काउन्सिलले जनाएको छ।
आईसीयूमा उपचाररत बिरामीको अन्तर्वार्ता लिने तथा त्यस्तो सामग्री सार्वजनिक गर्ने क्रममा बिरामीको स्वास्थ्य अवस्था, गोपनीयता, सहमति तथा मानवीय संवेदनशीलतालगायतका विषयसमेत जोडिने भएकाले काउन्सिलले घटनालाई गम्भीरतापूर्वक अध्ययन गरिरहेको जनाएको हो।
काउन्सिलले सम्बन्धित सञ्चारकर्मी, सञ्चारमाध्यम, अस्पताल तथा सरोकारवाला निकायलाई पत्रकार आचारसंहिताको पालना गर्दै संवेदनशील विषयमा जिम्मेवार र मर्यादित पत्रकारिता गर्नसमेत सचेत गराएको छ।
प्रेस काउन्सिल नेपालका सहप्रशासकीय अधिकृत तथा सहप्रवक्ता/सूचना अधिकारीद्वारा जारी विज्ञप्तिमार्फत उक्त जानकारी दिइएको हो।
