विदुर — नेपाल चिकित्सक संघले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा सहज बनाउन स्वास्थ्य सामग्री तथा औषधि सहयोग गरेको छ। संघले विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठलाई स्वास्थ्य सामग्री तथा औषधि हस्तान्तरण गरेको हो।
संघले बाढी प्रभावित नागरिकको स्वास्थ्य उपचारमा तत्काल आवश्यक पर्ने सामग्रीअन्तर्गत २५ थान ब्लड प्रेसर कफ, २५ थान स्टेथोस्कोप, २५ थान पल्स अक्सिमिटर र २५ थान थर्ममिटर उपलब्ध गराएको छ। त्यस्तै, प्रभावित क्षेत्रमा सुरक्षित खानेपानीको व्यवस्थाका लागि पानी शुद्धीकरण गर्ने ‘पीयूष’ केमिकल तथा आवश्यक औषधिसमेत उपलब्ध गराइएको संघले जनाएको छ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजालले बाढी तथा विपद्का कारण प्रभावित नागरिकमा शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यमा समेत समस्या आउन सक्ने भएकाले उपचारसँगै मनोपरामर्श सेवालाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए।
उनले विपद्पछि दूषित पानी र सरसफाइको अभावका कारण विभिन्न संक्रामक रोगको जोखिम बढ्न सक्ने भन्दै प्रभावित क्षेत्रमा स्वास्थ्य सचेतना, उपचार र औषधिको पहुँच विस्तार गर्न चिकित्सक संघ प्रतिबद्ध रहेको बताए।
बाढी प्रभावित क्षेत्रमा चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन गरी आवश्यक स्वास्थ्य परीक्षण, उपचार तथा मनोपरामर्श सेवा उपलब्ध गराएको डा. रिजालले जानकारी दिए।
विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले विपद्को समयमा नेपाल चिकित्सक संघबाट प्राप्त स्वास्थ्य सामग्री र औषधिले प्रभावित नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण सहयोग पुग्ने बताए। उनले प्राप्त सामग्रीलाई आवश्यकता बढी भएका बाढी प्रभावित क्षेत्रमा प्राथमिकताका आधारमा वितरण गरिने जानकारी दिए।