काठमाडौं- जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच स्वास्थ्य शिक्षा, सेवा तथा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ।
देशका दुर्गम तथा जटिल भौगोलिक क्षेत्रमा स्थापना भएका दुवै प्रतिष्ठानले आपसी सहकार्यमार्फत पछाडि परेका क्षेत्रको स्वास्थ्य अवस्था सुधार तथा विभिन्न विषयमा संयुक्त रूपमा काम गर्ने सम्झौता गरेका हुन्।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. अजयकुमार मिश्रको तर्फबाट रजिष्ट्रार प्रा. श्याम लम्साल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. सूर्यमान मेयान्ग्बोले सम्झौतामा हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार दुवै संस्थाले जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पारेको असर, त्यसबाट उत्पन्न स्वास्थ्य समस्या तथा समाधानका उपायबारे संयुक्त अनुसन्धान गर्नेछन्। साथै, हिमाली क्षेत्रमा पाइने जडीबुटीको अध्ययन तथा नेपालमै उपलब्ध जडीबुटीबाट आधुनिक औषधि उत्पादन गर्न सकिने सम्भावनाबारे समेत अनुसन्धान गरिने भएको छ।
वर्तमान समयमा जलवायु परिवर्तन तथा हिमाली जडीबुटीसम्बन्धी स्वास्थ्य अनुसन्धान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा समेत महत्वपूर्ण विषयका रूपमा रहेको दुवै प्रतिष्ठानले जनाएका छन्।
त्यसैगरी, दुर्गम क्षेत्रका स्वास्थ्यसम्बन्धी समस्या तथा चुनौतीमा संयुक्त अनुसन्धान सञ्चालन गर्दै स्वास्थ्य सेवा, स्वास्थ्य संरचना सुधार र स्वास्थ्य जनशक्ति व्यवस्थापनका क्षेत्रमा निरन्तर सहकार्य गर्ने सम्झौतामा उल्लेख छ।
दुवै प्रतिष्ठानले आवश्यकताअनुसार प्राविधिक तथा प्रशासनिक जनशक्तिको आदानप्रदान गर्ने प्रतिबद्धता समेत जनाएका छन्। यसबाट स्वास्थ्य सेवा प्रवाह, तालिम, शैक्षिक गतिविधि तथा अनुसन्धानका कार्यक्रम सञ्चालन गर्न थप सहज हुने अपेक्षा गरिएको छ।
सम्झौताले पिछडिएका तथा दुर्गम क्षेत्रको स्वास्थ्य सेवा सुधार गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
समान उद्देश्यका लागि उपलब्ध स्रोतसाधनको एकीकृत उपयोग गर्दै स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानसम्बन्धी गतिविधि सञ्चालन गर्न पनि यस सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने दुवै प्रतिष्ठानका पदाधिकारीहरूले बताएका छन्।