काठमाडौं– नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
भदौ २६ गते शुक्रबार सम्पन्न हस्पिटलको छैटौं वार्षिक साधारणसभाले २० प्रतिशत बोनस सेयर र २२ दशमलब १०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसमेत) वितरण गर्ने निर्णय गरेको हो।
साधारणसभाले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको २० प्रतिशत बराबरको सेयर बुक बिल्डिङ प्रक्रियामार्फत सर्वसाधारणका लागि निष्कासन गर्ने निर्णयसमेत गरेको छ। उक्त प्रक्रियाका लागि संस्थागत लगानीकर्तालाई वितरण गरिने विवरणपत्र स्वीकृत गर्नेलगायत आवश्यक कामका लागि सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि सभाले गरेको छ।
हस्पिटलको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा फार्मेसीबाहेक हस्पिटलको कुल आम्दानी २ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी रहेको छ। सो अवधिमा कुल खर्च २ अर्ब ३६ करोड रुपैयाँ र खुद नाफा ४७ करोड रुपैयाँभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख छ।
फार्मेसीसमेत जोड्दा हस्पिटलको कुल आम्दानी ३ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी पुगेको छ। कुल खर्च २ अर्ब ९९ करोड रुपैयाँभन्दा बढी र खुद नाफा ४७ करोड ८५ लाख रुपैयाँभन्दा बढी रहेको हस्पिटलले जनाएको छ।
प्रतिवेदनअनुसार नर्भिकले आर्थिक वर्ष २०८२/८३ मा ओपिडी सेवामार्फत १ लाख ७९ हजार, इनपेसन्ट (आईपिडी) सेवामार्फत ९ हजार र आकस्मिक सेवामार्फत ६ हजारभन्दा बढी बिरामीलाई उपचार सेवा प्रदान गरेको छ।
यस्तै, हस्पिटलले अस्ट्रेलिया, बेलायत, जापान, न्युजिल्यान्ड र पपुवा न्युगिनी जाने ४१ हजारभन्दा बढी सेवाग्राहीलाई इमिग्रेसन हेल्थ स्क्रिनिङ सेवा प्रदान गरेको जनाएको छ।