बाढी र पहिरो आउँदा हाम्रो ध्यान स्वाभाविक रूपमा उद्धार, राहत र सुरक्षित स्थानमा मानिसलाई सार्नेतर्फ केन्द्रित हुन्छ। यो आवश्यक पनि हो। तर विपद्को तत्कालीन संकट व्यवस्थापन गरिसकेपछि अर्को संकट आउन सक्छ भन्ने कुरालाई हामीले बिर्सनु हुँदैन। त्यो हो- स्वास्थ्य संकट।
बाढीको पानी घट्दैमा जोखिम घट्छ भन्ने हुँदैन। कतिपय अवस्थामा पानी घटेपछि नै सरुवा रोगको जोखिम बढ्न सक्छ। दूषित पानी, असुरक्षित खानेकुरा, सरसफाइको अभाव, पानी जमेको ठाउँ, बढ्दो लामखुट्टे र ठूलो संख्यामा विस्थापित मानिसहरू एउटै स्थानमा बस्नुपर्ने अवस्थाले विभिन्न संक्रमण फैलिनका लागि वातावरण तयार गर्न सक्छ।
बाढीपछि हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब टाइफस तथा हावाबाट सर्ने संक्रमणको जोखिमलाई हामीले गम्भीरतापूर्वक लिनुपर्छ।
शवभन्दा शवमा आकर्षित हुने जीव बढी जोखिमपूर्ण हुन सक्छन्
बाढीमा मानिस वा पशुचौपायाको मृत्यु हुँदा शव व्यवस्थापन महत्वपूर्ण विषय हो। तर शव देख्नेबित्तिकै त्यसबाट प्रत्यक्ष रूपमा महामारी फैलिन्छ भन्ने बुझाइ पूर्ण रूपमा सही होइन।
समस्या अर्को ठाउँमा पनि छ। लामो समयसम्म शव व्यवस्थापन हुन नसक्दा त्यसमा मुसा, किराफट्याङ्ग्रा तथा अन्य जीवजन्तु आकर्षित हुन सक्छन्। यिनै जीवमार्फत संक्रमण फैलिने अप्रत्यक्ष जोखिम बढ्छ।
उदाहरणका लागि, संक्रमित मुसाको पिसाबबाट लेप्टोस्पाइरोसिस फैलिन सक्छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र व्यवस्थापनमा खटिएका मानिसहरू यस्ता स्रोतको सम्पर्कमा आउन सक्छन्। विस्थापित मानिसहरू पनि जोखिममा पर्न सक्छन्।
त्यसैले शव व्यवस्थापनलाई केवल मानवीय र सामाजिक दायित्वका रूपमा मात्र हेर्नु हुँदैन। यो जनस्वास्थ्यसँग पनि प्रत्यक्ष जोडिएको विषय हो।
दूषित पानी : बाढीपछिको सबैभन्दा ठूलो चिन्ता
बाढीपछि मेरो सबैभन्दा ठूलो चिन्तामध्ये एउटा सुरक्षित खानेपानीको उपलब्धता हो।
बाढीले पानीका स्रोत दूषित बनाउन सक्छ। मानिसहरू विस्थापित अवस्थामा हुन्छन्। कतिपय ठाउँमा खानेपानीको नियमित आपूर्ति हुँदैन। यस्तो अवस्थामा सुरक्षित पानी नपाउँदा मानिसहरू बाध्य भएर असुरक्षित पानी प्रयोग गर्न सक्छन्।
त्यसपछि हैजा, झाडापखाला, टाइफाइड र कमलपित्तजस्ता पानीजन्य रोगको जोखिम बढ्छ।
यस्ता रोग फैलिन धेरै ठूलो कारण आवश्यक पर्दैन। एउटा असुरक्षित पानीको स्रोत, कमजोर सरसफाइ र ठूलो संख्यामा मानिसहरूको जमघटले संक्रमण फैलिन पर्याप्त वातावरण बनाउन सक्छ।
त्यसैले बाढीपछि राहत सामग्रीमा खानेकुरा र कपडासँगै सुरक्षित पानीलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्छ।
शौचालयको अभाव सामान्य समस्या होइन
विस्थापित मानिसहरू अस्थायी आश्रयस्थलमा बस्दा शौचालयको उचित व्यवस्था नहुन सक्छ। हामीले यसलाई सामान्य व्यवस्थापनको समस्या भनेर बेवास्ता गर्नु हुँदैन।
कतिपय संक्रामक रोग लागेका व्यक्तिमा सुरुमा कुनै लक्षण नदेखिन सक्छ। बाहिरबाट हेर्दा मानिस स्वस्थ देखिए पनि उसको दिसा वा पिसाबबाट संक्रमण बाहिर निस्किरहेको हुन सक्छ।
अब कल्पना गरौँ– धेरै मानिस एउटै ठाउँमा बसिरहेका छन्, पर्याप्त शौचालय छैन, पानीको व्यवस्था कमजोर छ र सरसफाइमा समस्या छ। यस्तो अवस्थामा एउटा व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण फैलिन कति सजिलो हुन्छ।
त्यसैले बाढी प्रभावित क्षेत्रमा शौचालय कुनै अतिरिक्त सुविधा होइन, स्वास्थ्य सुरक्षाको आधारभूत आवश्यकता हो।
साबुनपानीको व्यवस्था पनि त्यत्तिकै महत्वपूर्ण छ। खाना खानुअघि र शौचालय प्रयोग गरेपछि साबुनपानीले हात धुने बानीले धेरै प्रकारका संक्रमणबाट जोगाउन सक्छ।
पानी जम्यो भने लामखुट्टेको जोखिम बढ्छ
बाढीपछि अर्को समस्या लामखुट्टेको हो।
पानी जम्ने ठाउँ बढेपछि लामखुट्टेका लागि प्रजनन गर्ने वातावरण तयार हुन्छ। त्यसले डेंगु र मलेरियाको जोखिम बढाउन सक्छ।
पछिल्लो समय झाडापखाला र ज्वरोका बिरामी बढिरहेका छन्। लामखुट्टेको संख्या पनि बढिरहेको छ। डेंगुका बिरामी फाट्टफुट्ट देखिने क्रम जारी छ। यस्तो अवस्थामा बाढीपछि स्वास्थ्य चुनौती थपिन सक्छ।
त्यसैले बाढीको समयमा लामखुट्टे नियन्त्रणलाई पनि विपद् व्यवस्थापनकै एउटा महत्वपूर्ण हिस्सा मान्नुपर्छ। पानी जम्ने ठाउँको व्यवस्थापन र जोखिमयुक्त क्षेत्रमा निगरानी आवश्यक हुन्छ।
बालबालिका र गर्भवतीलाई छुट्टै प्राथमिकता चाहिन्छ
विपद्को समयमा सबै मानिस समान रूपमा जोखिममा हुँदैनन्। बालबालिका र गर्भवती महिलालाई विशेष ध्यान दिनुपर्छ।
बालबालिकामा सामान्य संक्रमण पनि गम्भीर बन्न सक्छ। त्यसैले उनीहरूलाई सुरक्षित पानी र खानेकुरा उपलब्ध गराउनुका साथै व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ। जथाभावी खानेकुरा खान दिनु हुँदैन।
गर्भवती महिलाको आवश्यकता अझ फरक हुन्छ। उनीहरूलाई औषधि मात्र दिएर स्वास्थ्य सुरक्षा सुनिश्चित हुँदैन। आवश्यक पोषणयुक्त खानेकुरा, नियमित स्वास्थ्य सेवा र आवश्यक औषधिको पहुँच पनि सुनिश्चित गर्नुपर्छ।
विपद्को समयमा राहत वितरण गर्दा पनि यी फरक आवश्यकतालाई ध्यान दिनुपर्छ।
बिरामी देखिएपछि होइन, जोखिम देखिएपछि तयारी
बाढी प्रभावित क्षेत्रमा कसैलाई झाडापखाला, ज्वरो वा अन्य संक्रमणका लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा पुर्याउनुपर्छ। उपचारमा ढिलाइ गर्नु हुँदैन।
तर हाम्रो तयारी बिरामी देखिएपछि मात्र सुरु हुनु हुँदैन।
कुन क्षेत्रमा कति मानिस विस्थापित भएका छन्? उनीहरू कहाँ बसिरहेका छन्? खानेपानीको अवस्था कस्तो छ? शौचालय पर्याप्त छन् कि छैनन्? लामखुट्टेको अवस्था कस्तो छ? स्वास्थ्य संस्था कति टाढा छ? औषधि पर्याप्त छ कि छैन?
यी प्रश्नको उत्तर पहिल्यै खोजिनुपर्छ।
प्रभावित क्षेत्रमा कति मानिस छन् भन्ने आधारमा स्वास्थ्यकर्मी परिचालन गर्नुपर्छ। औषधि र स्वास्थ्यकर्मी पठाएर मात्र पुग्दैन। स्थानीय वातावरणको अवस्था बुझेर आवश्यक स्वास्थ्य सेवा व्यवस्थापन गर्नुपर्छ।
तीन तहका सरकारको समन्वय अपरिहार्य छ
यस्तो अवस्थामा संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय हुनुपर्छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सरकारी र गैरसरकारी निकायबीच पनि सहकार्य आवश्यक हुन्छ।
कुन ठाउँमा कति मानिस प्रभावित छन् र कहाँ कस्तो सहयोग चाहिन्छ भन्ने आकलन गरेर स्रोत र जनशक्ति परिचालन गर्नुपर्छ।
यो काम कुनै एउटा निकायले मात्र गर्न सक्दैन। एकीकृत र समन्वयात्मक रूपमा अघि बढ्न सके स्वास्थ्य जोखिमलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ।
स्वास्थ्यलाई ‘पछि’ राख्ने गल्ती नगरौँ
विपद्को समयमा गाँस, बास र कपास पहिलो आवश्यकता हुन्। तर त्यसको अर्थ स्वास्थ्यलाई पछाडि राख्नुपर्छ भन्ने होइन।
बरु यही समयमा स्वास्थ्यलाई अझ बढी प्राथमिकता दिनुपर्छ।
व्यक्तिगत सरसफाइ, सुरक्षित पानी, सुरक्षित खानेकुरा, शौचालय र साबुनपानीको व्यवस्था जस्ता कुरा सामान्य लाग्न सक्छन्। तर विपद्को समयमा यिनै सामान्य कुराले ठूलो स्वास्थ्य संकट रोक्न सक्छन्।
बाढी–पहिरोका कारण हाम्रो ध्यान खोजी, उद्धार र राहतमा केन्द्रित हुनु स्वाभाविक हो। तर त्यस क्रममा स्वास्थ्य सेवातर्फको ध्यान कम भएर अर्को समस्या नआओस् भन्नेमा सचेत हुनुपर्छ।
प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या नहोस् र त्यहाँबाट सरुवा रोग अन्य क्षेत्रमा नफैलियोस् भन्ने विषयमा सबै तहबाट सतर्क हुनुपर्छ।
प्राकृतिक विपद् कहिले आउँछ भन्ने कुरा हाम्रो नियन्त्रणमा नहुन सक्छ। तर त्यसपछि आउन सक्ने स्वास्थ्य जोखिमको पूर्वानुमान र तयारी भने गर्न सकिन्छ।
त्यसैले बाढी आएपछि रोगको प्रतीक्षा नगरौँ। सम्भावित जोखिम पहिचान गरौँ, निगरानी बढाऔँ र रोकथामका उपाय तत्काल सुरु गरौँ।
बाढीको पानी घटेपछि हाम्रो जिम्मेवारी सकिँदैन। त्यहीँबाट जनस्वास्थ्यको अर्को परीक्षा सुरु हुन्छ।
(डा पुनसँगको कुराकानीामा आधारित)