काठमाडौं– भोटेकोशीमा आएको बाढीले घरबार र उपचारका लागि वर्षौं लगाएर जम्मा गरेको सम्पत्ति बगाएपछि उपचारको संकटमा परेकी ४१ वर्षीया विष्णुकुमारी डंगोलले नयाँ जीवन पाएकी छन्।
काठमाडौं मेडिकल कलेज (केएमसी) मा निःशुल्क मिर्गौला प्रत्यारोपण गराएकी डंगोल उपचारपछि पूर्ण रूपमा स्वस्थ भएर अस्पतालबाट डिस्चार्ज भएकी छन्। उनलाई उनका पति राजकुमारले मिर्गौला दान गरेका हुन्। राजकुमार पनि पत्नीसँगै अस्पतालबाट डिस्चार्ज भएका छन्।
भदौ १० गते भोटेकोशीमा आएको बाढीले डंगोल दम्पतीको घरबार मात्रै बगाएन, मिर्गौला उपचारका लागि वर्षौं लगाएर जम्मा गरेको रकमसमेत बगाइदिएको थियो। आर्थिक अभावका कारण उपचार नै अनिश्चित बनेको अवस्थामा उनीहरूको अवस्थाबारे सामाजिक सञ्जालमार्फत जानकारी पाएपछि नेपाली कांग्रेसका नेता तथा केएमसीका सञ्चालक डा. सुनीलकुमार शर्माले सम्पूर्ण उपचार निःशुल्क गरिदिने घोषणा गरेका थिए।
शर्माको घोषणापछि केएमसीका चिकित्सक टोलीले डंगोलको मिर्गौला प्रत्यारोपण प्रक्रिया अघि बढाएको थियो। अस्पतालले बिरामी विष्णुकुमारी र मिर्गौला दाता उनका पति राजकुमारका लागि उपचारसँगै खानपिनको समेत व्यवस्था गरेको जनाएको छ।
सफल प्रत्यारोपणपछि घर फर्किइन्
केएमसीमा गरिएको मिर्गौला प्रत्यारोपण सफल भएपछि विष्णुकुमारीको स्वास्थ्यमा सुधार आएको चिकित्सकहरूले बताएका छन्। प्रत्यारोपणपछि उनी र उनका पति दुवैलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो।
अस्पतालबाट घर फर्किने क्रममा डंगोल दम्पतीले उपचारमा संलग्न ट्रान्सप्लान्ट सर्जन डा. सुरेश महर्जन, डा. विजयमानसिंह कटुवाल, डा. अनिल पोखरेललगायत सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरे।
बाढीले सर्वस्व गुमाएको पीडाबीच निःशुल्क उपचार पाएपछि राजकुमार भावुक बने। उनले आफूहरूले कठिन अवस्थामा मानवीय सहयोग पाएको बताए।
‘हाम्रो सर्वस्व बगायो भन्ने पीडा त छँदै थियो, तर आज भगवानरूपी सुनील सरले हामीलाई नयाँ जीवन दिनुभयो,’ उनले भने, ‘संसारमा सत्कर्म गर्ने मानिसहरू अझै जीवित छन् भन्ने महसुस गरेका छौँ। उहाँप्रति कोटी–कोटी नमन छ।’
केएमसीमा ८६औँ सफल मिर्गौला प्रत्यारोपण
केएमसीका अनुसार विष्णुकुमारी उक्त अस्पतालमा सफल मिर्गौला प्रत्यारोपण गराउने ८६औँ बिरामी हुन्। अस्पतालले हालसम्म गरिएका सबै मिर्गौला प्रत्यारोपण सफल भएको जनाएको छ।
विपद्का बेला आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले बाढीपीडितका लागि अस्पतालको सेवा निःशुल्क उपलब्ध गराउने घोषणा यसअघि नै गरिएको केएमसीले जनाएको छ।
डंगोलको उपचार पनि त्यही मानवीय पहलअन्तर्गत निःशुल्क गरिएको हो। बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीका लागि मिर्गौला प्रत्यारोपणपछि घर फर्किन पाउनु विपत्तिपछिको नयाँ सुरुवात बनेको छ।