काठमाडौं– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना नयाँ पदाधिकारी नियुक्त भएका छन्। प्रतिष्ठानकी सहकुलपति तथा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उपकुलपति डा. अजय मिश्रको सिफारिसमा डा. सुरेश बीके रसाइलीलाई निर्देशक, प्रा. श्याम लम्साललाई रजिस्ट्रार, प्रा. डा. रामनारायण मण्डललाई रेक्टर र डा. कृष्णकुमार झालाई डिन नियुक्त गरेकी हुन्।
प्रतिष्ठानका प्रशासनिक, शैक्षिक र अस्पताल सेवासँग प्रत्यक्ष जोडिएका महत्वपूर्ण जिम्मेवारीमा नयाँ पदाधिकारी आएपछि यसको संस्थागत व्यवस्थापन, चिकित्सा शिक्षा, अस्पताल सेवा र अनुसन्धान गतिविधिमा नयाँ गति आउने अपेक्षा गरिएको छ।
चारै जना पदाधिकारी स्वास्थ्य सेवा, चिकित्सा शिक्षा तथा प्रशासनमा लामो अनुभव भएका व्यक्ति हुन्। उनीहरूमध्ये कसैको मुख्य पृष्ठभूमि नेत्र चिकित्सा छ भने कसैले नर्सिङ शिक्षा, कार्डियोलोजी तथा प्याथोलोजीमा विशेषज्ञता हासिल गरेका छन्।
निर्देशकमा नेत्र रोग विशेषज्ञ डा. सुरेश बीके रसाइली
प्रतिष्ठानको निर्देशकको जिम्मेवारी पाएका डा. सुरेश बीके रसाइली नेत्र रोग विशेषज्ञ हुन्। उनले नेपालगञ्ज मेडिकल कलेजबाट एमबीबीएस तथा नेत्र विज्ञानमा एमडी गरेका छन्। त्यसपछि उनले नेत्रको अर्बिट, ओकुलोप्लास्टी, ल्याक्रिमल तथा ओकुलर अन्कोलोजी क्षेत्रमा क्लिनिकल फेलोसिप गरेका छन्।
रसाइलीले स्वास्थ्य क्षेत्रमा चिकित्सकका रूपमा मात्रै नभई अस्पताल व्यवस्थापन, शिक्षण र अनुसन्धानमा समेत काम गरेका छन्। उनले टीकापुर अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल अधिकृतका रूपमा काम गरेपछि राप्ती आँखा अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी सम्हालेका थिए।
सन् २०२४ देखि उनी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमै सहप्राध्यापक तथा नेत्र विज्ञान विभाग प्रमुखका रूपमा कार्यरत थिए। उपनिर्देशकको भूमिकामा उनले दैनिक प्रशासन, योजना कार्यान्वयन, प्रवक्ताको जिम्मेवारी तथा विभागीय विकासमा समेत काम गरेका छन्।
क्लिनिकलतर्फ फेकोइमल्सिफिकेसन, एसआईसीएस, ट्राबेक्युलेक्टोमी, प्टेरिजियम, ओकुलोप्लास्टिक सर्जरी तथा लेजर उपचारमा उनको अनुभव छ। उनले नेत्र चिकित्सासम्बन्धी अनुसन्धान तथा अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुति दिएका छन्। उनका नाममा विभिन्न वैज्ञानिक प्रकाशन छन् भने १६ अन्तर्राष्ट्रिय जर्नलका पाण्डुलिपि समीक्षा गरेको विवरण पनि सीभीमा छ।
यसअघि अस्पताल व्यवस्थापनको जिम्मेवारी सम्हालेको अनुभव भएका रसाइलीका लागि प्रतिष्ठानको निर्देशक पदमा अस्पताल सेवा, प्रशासन र संस्थागत व्यवस्थापनबीच समन्वय गर्नु प्रमुख चुनौती हुनेछ।
रजिस्ट्रारमा नर्सिङ शिक्षा हासिल गरेका प्रा. श्याम लम्साल
रजिस्ट्रार बनेका प्रा. श्याम लम्साल नर्सिङ शिक्षा र स्वास्थ्य प्रशासनमा लामो अनुभव भएका स्वास्थ्यकर्मी हुन्। उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस) मा स्टाफ नर्सबाट सेवा सुरु गरेर वरिष्ठ स्टाफ नर्स, नर्सिङ अधिकृत, सहायक प्राध्यापक, सहप्राध्यापक हुँदै प्राध्यापकसम्म पुगेका हुन्। सीभीअनुसार उनले त्यहाँ २२ वर्षभन्दा लामो सेवा अनुभव हासिल गरेका छन्।
लम्सालले भारतको पीजीआईएमईआर, चण्डीगढबाट सामुदायिक स्वास्थ्य नर्सिङमा स्नातकोत्तर गरेका छन् भने इटालीको मारियो नेग्री इन्स्टिच्युटबाट फेलोसिप गरेका छन्।
उनको प्रशासनिक अनुभव पनि उल्लेखनीय छ। उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा रजिस्ट्रारका रूपमा काम गर्नुका साथै कार्यवाहक उपकुलपतिको जिम्मेवारीसमेत सम्हालेका थिए। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमै सन् २०१९ मा डिनका रूपमा काम गरिसकेको अनुभव छ। हाल उनी बीपीकेआईएचएसको सामुदायिक स्वास्थ्य नर्सिङ विभाग प्रमुख तथा शैक्षिक समितिका सदस्यका रूपमा कार्यरत थिए।
रजिस्ट्रारको जिम्मेवारीमा प्रशासनिक अभिलेख, जनशक्ति व्यवस्थापन, शैक्षिक तथा संस्थागत समन्वयजस्ता काम महत्वपूर्ण हुन्छन्। लम्सालको नर्सिङ शिक्षा, पाठ्यक्रम विकास र स्वास्थ्य प्रणाली अनुसन्धानसँगको अनुभवले प्रतिष्ठानको प्रशासनिक तथा शैक्षिक संरचनामा उपयोगी भूमिका खेल्न सक्ने देखिन्छ।
उनले स्नातक नर्सिङ पाठ्यक्रम विकासमा समेत समन्वयकारी भूमिका खेलेका छन्।
रेक्टरमा कार्डियोलोजिस्ट प्रा. डा. रामनारायण मण्डल
रेक्टरको जिम्मेवारी पाएका प्रा. डा. रामनारायण मण्डल कार्डियोलोजी तथा इन्टरनल मेडिसिन विशेषज्ञ हुन्। उनले क्रिमिया स्टेट मेडिकल इन्स्टिच्युटबाट एमबीबीएस र एमडी, किर्गिज स्टेट मेडिकल एकेडेमीबाट कार्डियोलोजीमा एमबी र त्यसपछि कार्डियोलोजीमै पीएचडी गरेका छन्।
मण्डलले आफ्नो व्यावसायिक जीवनको ठूलो हिस्सा जानकी मेडिकल कलेजमा बिताएका छन्। उनी त्यहाँ हाउस अफिसरदेखि सहायक प्राध्यापक, सहप्राध्यापक हुँदै प्राध्यापक बनेका हुन्। इन्टरनल मेडिसिन विभागको नेतृत्व गर्नुका साथै अस्पताल निर्देशक, क्लिनिकल साइन्स समन्वयक र उपप्राचार्यको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
उनको विशेषज्ञता कार्डियोलोजीमा भए पनि अनुभव चिकित्सकीय सेवामा मात्र सीमित छैन। चिकित्सा शिक्षा, विभागीय नेतृत्व, परीक्षा व्यवस्थापन, पाठ्यक्रम पुनरावलोकन र संस्थागत समितिमा समेत उनले काम गरेका छन्।
उच्च रक्तचाप, एट्रियल फिब्रिलेसन, स्ट्रोक तथा हृदयसम्बन्धी जोखिमका विषयमा उनले अनुसन्धान गरेका छन्। उच्च रक्तचापमा हृदय जोखिम कारक, नेपालमा एट्रियल फिब्रिलेसन भएका बिरामीको क्लिनिकल प्रोफाइल तथा स्ट्रोक निदानलगायतका विषयमा उनका अनुसन्धान प्रकाशित छन्।
रेक्टरको मुख्य जिम्मेवारी प्रतिष्ठानको शैक्षिक तथा अनुसन्धान गतिविधिसँग जोडिने भएकाले मण्डलको लामो शिक्षण, विभागीय नेतृत्व र पाठ्यक्रमसम्बन्धी अनुभव नयाँ जिम्मेवारीमा महत्वपूर्ण हुने देखिन्छ।
डिनमा प्याथोलोजिस्ट डा. कृष्णकुमार झा
डिनको जिम्मेवारी पाएका डा. कृष्णकुमार झा विकृति विज्ञान अर्थात् प्याथोलोजीका प्राध्यापक हुन्। हालसम्म उनी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडामा प्याथोलोजी विभागका प्रमुख तथा प्राध्यापकका रूपमा कार्यरत थिए।
उनले चीनको झेङझाउ मेडिकल कलेजबाट एमबीबीएस तथा भारतको कस्तुरबा मेडिकल कलेज, मणिपालबाट एमडी (प्याथोलोजी) गरेका छन्।
झाको व्यावसायिक अनुभव १४ वर्षभन्दा बढीको रहेको छ। उनले विभिन्न मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षण, प्रयोगशाला सेवा र विभागीय नेतृत्वको जिम्मेवारी सम्हालेका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत सहप्राध्यापकका रूपमा काम गरेको उनको अनुभव छ।
उनको मुख्य विशेषज्ञता हिस्टोप्याथोलोजी, साइटोप्याथोलोजी, हेमाटोलोजी र रक्त बैंकिङमा छ। बायोप्सी तथा शल्यक्रियाबाट प्राप्त नमुनाको परीक्षण, एफएनएसी, प्याप स्मियर, बोन म्यारो परीक्षण तथा रक्त बैंक व्यवस्थापनमा उनी अनुभवी छन्। साथै चिकित्सा शिक्षा, विद्यार्थी मार्गदर्शन र प्रयोगशाला व्यवस्थापनमा समेत काम गरेका छन्।
डिनका रूपमा उनको जिम्मेवारी प्रतिष्ठानको चिकित्सा शिक्षा, शैक्षिक गुणस्तर, पाठ्यक्रम कार्यान्वयन तथा विद्यार्थी र शिक्षकसँग सम्बन्धित विषयमा केन्द्रित हुनेछ। प्याथोलोजी तथा प्रयोगशाला सेवाको अनुभवले प्रतिष्ठानमा निदानात्मक सेवाको गुणस्तर सुधारमा समेत भूमिका खेल्न सक्ने अपेक्षा गर्न सकिन्छ।