काठमाडौं — स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मानव अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षमा डा. सम्पूर्णमान तुलाधरलाई नियुक्त गरेको छ। मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णयबाट उनलाई उक्त जिम्मेवारी प्रदान गरेकी हुन् ।
डा तुलाधरले शल्यचिकित्सा तथा कार्डियोथोरासिक शल्यचिकित्सामा विशेषज्ञता हासिल गरेका छन्। उनले एमबीबीएस, एमएस (जनरल सर्जरी), एमआरसीएस तथा कार्डियोथोरासिक सर्जरीमा फेलोसिप गरिसकेका छन्।
मन्त्रालयले गत २५ असारमा सूचना प्रकाशन गरी समितिको अध्यक्ष पदका लागि आवेदन मागेको थियो। सोही सूचनाका आधारमा दर्ता भएका दरखास्तहरूमध्येबाट डा. आरती राई, डा. एकानन्द सिंह, डा. पुकार चन्द्र श्रेष्ठ, डा. महेश बहादुर अधिकारी, डा. मुकुन्द राज जोशी, डा. शैलेन्द्र श्रेष्ठ र डा. सम्पूर्णमान तुलाधरलाई प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि छनोट गरिएको थियो।