राजविराज– राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेटबाहिरै एक महिलाले बच्चा जन्माएको घटनालाई लिएर अस्पताल प्रशासनमाथि प्रश्न उठेको छ। घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि स्वास्थ्य सेवामा मानवीय संवेदना, सेवा प्रवाह र जिम्मेवारीबारे प्रश्न उठाउँदै विभिन्न प्रतिक्रिया आएका छन्।
भदौ २५ गते सामाजिक सञ्जालमा सार्वजनिक भएको श्रव्यदृश्यमा अस्पतालको मूल गेटभन्दा बाहिर सडकपेटीमा एक महिलाले बच्चा जन्माएको देखिन्छ। बच्चा जन्मिसकेको र साल (प्लासेन्टा) समेत बाहिर निस्किसकेको अवस्थामा महिला सडकपेटीमा रहेको देखिएपछि घटनालाई लिएर सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएका हुन्।
घटनाप्रति अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रञ्जितकुमार झाले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै छानविन गर्ने बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत घटनाको वास्तविक सत्यतथ्य पत्ता लगाउन तत्काल छानविन समिति गठन गरी दोषी देखिएका कर्मचारी वा सम्बन्धित पक्षमाथि आवश्यक कानुनी तथा प्रशासनिक कारबाहीको प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
डा. झाले आफू अहिले काठमाडौंमा रहेको र घटनाबारे आवश्यक समन्वय गरिरहेको बताए।
‘बिरामीका लागि बेड तयार थियो। जाँचका लागि पठाइएको थियो। फर्किएर आउनुभएन भन्ने सुनेको छु,’ उनले भने, ‘म काठमाडौंमा छु। मिलाउँदैछु। बाँकी थप छानविन गरेर पत्ता लगाउँछु।’
महिलासँग पैसा नभएका कारण उपचार नगरिएको भन्ने विषयमा भने आफूलाई त्यस्तो जानकारी नभएको उनको भनाइ छ। ‘पैसाको इस्यु थियो भने भन्नुपर्ने थियो। त्यो कुरा नबताइएको मैले बुझेको छु,’ उनले भने।
घटनापछि सामाजिक सञ्जालमा अस्पतालको सेवा प्रवाह र सामाजिक सेवा इकाईको भूमिकाबारे समेत प्रश्न उठाइएको छ।
चिकित्सक डा सन्तोष पौडेलले घटनालाई ‘दयनीय’ भन्दै ‘मानवता र करुणा कहाँ गयो?’ भन्दै मेसु डा झामाथि प्रश्न गरेका छन्।
त्यस्तै, डा अनन्त अधिकारीले अस्पतालमा आफूले सामाजिक सेवा इकाईको अवस्था राम्रो देखेको उल्लेख गर्दै घटनामा ‘त्रुटि कहाँ र कुन स्टेपमा भयो?’ भनेर प्रश्न गरेका छन्। उनले घटनालाई दुःखद भएको बताएका छन्।
डा झाकै सामाजिक सञ्जालमा प्रतिक्रिया दिने रजा दासले घटना एउटा परिवारको पीडामा मात्र सीमित नरहेको भन्दै यसले मानवीय संवेदना र स्वास्थ्य सेवामाथि नै गम्भीर प्रश्न उठाएको प्रतिक्रिया दिएका छन्। उनले घटनाको निष्पक्ष र तत्काल सत्यतथ्य छानविन गर्न तथा दोषी देखिए कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।
उनले आर्थिक अभावका कारण कुनै पनि गर्भवती महिलाले अस्पतालको ढोकाबाट फर्किएर सडकमा बच्चा जन्माउनुपर्ने अवस्था फेरि आउन नहुने बताएका छन्।
अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता रामकुमार यादवले ‘कहिले नसुध्रिएको राजविराज अस्पतालको अवस्था’ भन्दै अस्पतालको सेवा अवस्थामाथि प्रश्न उठाएका छन्।
रमण मिश्रले विगतमा पनि गम्भीर गैरजिम्मेवार घटनामा देखावटी कारबाही हुने गरेको दाबी गर्दै यस घटनालाई ‘मानवतामाथिको निर्मम प्रहार’का रूपमा टिप्पणी गरेका छन्।
यस्तै, केही प्रतिक्रियामा घटनामा संलग्न कर्मचारीमाथि तत्काल कारबाही गर्नुपर्ने मागसमेत गरिएको छ। यद्यपि सामाजिक सञ्जालमा आएका यी प्रतिक्रियाहरू आरोप तथा जनधारणा हुन्। घटनाको वास्तविकता भने अस्पताल प्रशासनले गर्ने छानविनबाट स्पष्ट हुने देखिन्छ।
अस्पताल प्रशासनले पनि घटनाको सत्यतथ्य छानविन गरी दोषी देखिएका व्यक्ति वा पक्षमाथि आवश्यक कारबाही गर्ने जनाएको छ।