मानसिक स्वास्थ्य समस्या कम चर्चा भइरहेको तर अहिले बढ्दो अवस्थामा रहेको विषय हो। जसले समाजका धेरै पक्षहरूलाई प्रभाव पारिरहेको छ। विश्वको तथ्यांक केलाउने हो भने हरेक वर्ष ८ लाख मानिसले आत्महत्या गर्छन्, जसको अर्थ हरेक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्छन्। नेपालको सन्दर्भमा भने, हरेक दिन करिब २० जनाले आत्महत्या गर्ने गरेको चिकित्सक बताउँछन्। एउटा आत्महत्याका घटनाले प्रत्यक्ष रूपमा ६ जना मानिसलाई प्रभावित पार्छ।
पाटन मानसिक अस्पतालका पूर्व निर्देशक समेत रहेका मानसिक रोग विश्षज्ञ डा अनन्त अधिकारीका अनुसार हरेक व्यक्तिले आफ्नो जीवन समाप्त पार्ने सोच बाहिर ल्याउनु भनेको सहयोगको याचना गर्नु हो र यो अत्यन्त संवेदनशील विषय हो। 'प्रकृतिले हरेक प्राणीमा जिजीबिषा दिएको हुन्छ र अत्यधिक पिडाको अनुभूति नभई व्यक्तिले आत्महत्याको सोच ल्याउँदैन,' उनी भन्छन्।
सनसनीखेज किन बनाउनुहुँदैन ?
सनसनीपूर्ण तरिकाले आत्महत्याका घटनाहरूलाई प्रस्तुत गर्दा, ब्रेकिङ न्युजको होडबाजीमा लाग्दा वा सामाजिक सञ्जालमा सेयर गर्दा पीडितहरूलाई थप पिडा हुने उनले बताए। 'प्रतिष्ठित व्यक्तिले आत्महत्याको सोच सेयर गरेको वा आत्महत्या गरेको घटनालाई बढाइचढाई गरेर प्रसारण गर्दा भोलिपल्ट आत्महत्याको दर ह्वात्तै बढेका घटनाहरू छन,' उनले भने, ' नेपालमै पनि पोहोरतिर सार्वजनिक स्थलमा आत्मदाहको घटनापछि आत्महत्याको दर बढेको थियो। यस्तो तरिकाले समाचार सम्प्रेषण गर्दा आत्महत्याको सोच भएका व्यक्तिहरूलाई आत्महत्या गर्न उद्यत गराउने सम्भावना हुन्छ।'
हुबहु सुसाइड नोट प्रसारण गर्दा पढ्ने व्यक्तिले पनि त्यस्तै पिडा भोगिरहेका हुनसक्छन् र उनीहरूलाई आत्महत्यातर्फ प्रेरित गराउने सम्भावना बढी हुने उनले बताए।
के गर्ने ?
- कुनै पनि आत्महत्यासम्बन्धी घटनालाई सनसनीपूर्ण नबनाउने।
- छापा माध्यममा भए भित्रपट्टि तलपट्टि साना अक्षरमा राख्ने।
- आत्महत्या गर्ने तरिकाहरू वा विधिहरू नदेखाउने।
- फोटोहरू प्रदर्शन नगर्ने।
स्वास्थ्यकर्मीमा किन बढी समस्या ?
स्वास्थ्यकर्मीहरूमा मानसिक स्वास्थ्य समस्या विश्वका आंकडा हेर्दा स्वास्थ्य क्षेत्रका मानिसहरूमा आत्महत्या गर्ने दर बढी देखिएको छ। यसबारे डा अधिकारी भन्छन्, 'चिकित्सक वा स्वास्थ्यकर्मी पनि सर्वप्रथम मानिस हुन्, उनीहरूमा पनि भावना, संवेग र आवेग हुन्छन्। उनीहरूले पनि अरू मानिसले जस्तै तनाव झेल्नुपर्छ। यसको कारणमा कडा खालका विषादी पदार्थहरूमा सहज पहुँच, बिरामीको जीवनमरणसँग जोडिएको, समुदायमा प्रतिष्ठाको कुरा गासिएको र स्थापना हुन कठिन हुनेजस्ता कारणले गर्दा यो पेसा अत्यधिक तनावपूर्ण हुनु पनि हुन सक्छ।'
सार्वजनिक वा पेसागत जीवनमा कहिलेकाहीँ षड्यन्त्रको भावना आउनु सामान्य हो, तर जब यसले दैनिक जीवनमा अप्ठ्यारो पार्छ, कार्यशैलीमा असर गर्छ, व्यक्ति भाग्न थाल्छ वा षड्यन्त्रविरुद्ध अर्को षड्यन्त्र बुन्न थाल्छ भने त्यो मानसिक स्वास्थ्य समस्या हुन सक्ने उनी बताउँछन्।
शिक्षितमा पनि किन उपचारमा हिचकिचाहट ?
उपचारमा हिचकिचाहट र सामाजिक कलंक मानसिक स्वास्थ्य समस्यासम्बन्धी समाजमा धेरै भ्रमहरू रहेको उनी बताउँछन्।
'शिक्षित वर्गमा पनि आफ्नो अधिकार र जिम्मेवारीबाट वञ्चित भइने हो कि भन्ने डरत्रास र सामाजिक प्रतिष्ठामा आँच आउने कुराको ठूलो डर हुन्छ। टिबी र कुष्ठरोगलाई पहिले घृणाको दृष्टिकोणले हेरिए पनि बिस्तारै कम हुँदै गएको जस्तै, मानसिक रोगी वा आत्महत्याको प्रयास गरेर बाँच्न सफल भएका व्यक्तिहरूलाई समाजले हेर्ने दृष्टिकोणमा अझै पनि सुधारको खाँचो छ।'मानसिक स्वास्थ्य उपचार वा मनोपरामर्श लिन हिचकिचाउन नहुने उनी बताउँछन्।
मानसिक स्वास्थ्य समस्याका लक्षण तथा संकेत कसरी थाहा पाउने ?
कुनैपनि व्यक्तिमा मानसिक स्वास्थ्य समस्या आएको कुरा निम्न लक्षणहरूबाट थाहा पाउन सकिन्छ:
- आफ्नो पेसा वा व्यवसायमा मन नजानु।
- दैनिक रूपमा आउने तनावहरू व्यवस्थापन गर्न कठिन हुनु।
- पीडाको अनुभूति हुनु।
- चरम निराशा वा एक्लोपन महसुस गर्नु।
- आफूलाई एक्ल्याइएको वा षड्यन्त्रको भुमरीमा पारिएको भन्ने सोच आउनु।
- यस्ता सोचले दैनिक जीवन र सामाजिक तथा व्यावसायिक कार्यमा अप्ठ्यारो पार्नु।
- मनस्थितिमा तलमाथि हुनु र समाजलाई हेर्ने दृष्टिकोण निराशाजनक हुनु।
- पहिला सहजै व्यवस्थापन गर्न सक्ने सामान्य तनावहरू झेल्न नसक्नु।
- भविष्य राम्रो नभएको जस्तो सोच व्यक्त गर्न थाल्नु।
- एकाएक लागुपदार्थको दुर्व्यसनीमा फस्नु वा मात्रा बढाउनु।
आफन्त र साथीभाइले कसरी थाहा पाउने ?
- घर व्यवहारको आर्थिक पाटो बिस्तारै अरूलाई जिम्मा लगाउँदै जानु।
- 'म कति बाँचुला र', 'तिमीहरूले यसो गर्नु', 'फलानोसँग ऋण यति छ अथवा धन यति छ' भन्दै कुरा सेयर गर्नु।
- जीवनको निरर्थकताको बारेमा धेरै बहस गर्नु।
- कसरी आत्महत्या गर्ने वा सहजैसँग जीवन समाप्त पार्ने भनी सामाजिक सञ्जाल वा प्रविधिमा खोजी गर्नु।
डा अधिकारीसँग विशेष अन्तर्वार्ता हेर्न/सुन्न क्लिक गर्नुहोस् :