काठमाडौं – नेपाल स्वास्थ्य व्यवसायी परिषद् (एनएचपिसी) ले सार्वजनिक गरेको १७ औँ नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजाले स्वास्थ्य शिक्षाको एउटा तितो यथार्थ सतहमा ल्याइदिएको छ। समग्रमा उत्तीर्ण प्रतिशत ६७.३१ देखिए तापनि, विभिन्न तहका १२ वटा प्राविधिक विषयमा एक जना पनि विद्यार्थी उत्तीर्ण हुन नसकी नतिजा शून्य (निल) आएको छ।
उच्च तहको अध्ययन पूरा गरेर पनि लाइसेन्स परीक्षामा एकै जना पनि सफल हुन नसक्नुले सम्बन्धित शिक्षण संस्थाहरूको शैक्षिक गुणस्तर र विद्यार्थीको दक्षतामाथि ठुलो प्रश्नचिह्न खडा गरिदिएको छ।
नतिजा शून्य (निल) आएका १२ विषयहरू
परिषद्ले उपलब्ध गराएको तथ्याङ्क अनुसार स्नातकोत्तर देखि प्रमाणपत्र तहसम्मका निम्न विषयहरूमा उत्तीर्ण संख्या 'शून्य' रहेको छ:
स्नातकोत्तर (Master's Degree) तह:
- मास्टर इन अप्टोमेट्री (M.OPT): ६ जना सहभागी, सबै अनुत्तीर्ण।
- मास्टर इन फिजियोथेरापी (कार्डियो-पल्मोनरी): १ जना सहभागी, अनुत्तीर्ण।
- मास्टर इन फिजियोथेरापी (हेल्थ प्रोमोसन एण्ड रिह्याबिलिटेसन): १ जना सहभागी, अनुत्तीर्ण।
- एम.एस्सी इन मेडिकल/क्लिनिकल बायोकेमेस्ट्री: ४ जना सहभागी, सबै अनुत्तीर्ण।
- मास्टर्स अफ साइन्स मेडिकल इमेजिङ टेक्नोलोजी (M.Sc. MIT): १ जना सहभागी, अनुत्तीर्ण।
स्नातक (Bachelor's Degree) तह:
- बी.एस्सी रिनल डायलाइसिस टेक्नोलोजी: ३ जना सहभागी, सबै अनुत्तीर्ण।
- ब्याचलर अफ होमियोप्याथिक मेडिसिन एण्ड सर्जरी (BHMS): २ जना सहभागी, सबै अनुत्तीर्ण।
- बी.एस्सी इन कार्डियाक टेक्नोलोजी: २ जना सहभागी, सबै अनुत्तीर्ण।
- ब्याचलर अफ साइन्स इन मेडिकल/क्लिनिकल बायोकेमेस्ट्री: ३ जना सहभागी, सबै अनुत्तीर्ण।
- ब्याचलर अफ साइन्स इन मेडिकल/क्लिनिकल माइक्रोबायोलोजी: १ जना सहभागी, अनुत्तीर्ण।
प्रमाणपत्र (PCL) तह:
- पिसिएल इन अकुपन्चर, अकुप्रेसर एण्ड मक्सिवस्सन : १ जना सहभागी, अनुत्तीर्ण।
- पिसिएल इन योग एण्ड नेचरौपेथी: ४ जना सहभागी, सबै अनुत्तीर्ण।
तथ्याङ्कमा परीक्षाको नतिजा
परिषद्का अनुसार १५ सिफ्टमा सञ्चालन गरिएको परीक्षामा कुल ४,४७० परीक्षार्थी सहभागी थिए। जसमध्ये ३,००९ जना (६७.३१ प्रतिशत) उत्तीर्ण भएका छन्।
स्नातकोत्तर तह: ५६ जना सहभागी भएकोमा २५ जना मात्र सफल (४४.६४%)।
स्नातक तह: ७२४ जना सहभागी भएकोमा ४२९ जना सफल (५९.२५%)।
प्रमाणपत्र तह: ३,६९० जना सहभागी भएकोमा २,५५५ जना सफल (६९.२४%)।
हेरौं नतिजा

