हाम्रो शरीरमा दुई वटा मिर्गौला हुन्छन्। मिर्गौलाको मुख्य काम रगत सफा गर्ने हो। हामीले खाएको खानेकुरा प्राचन प्रणालीमा गएपछि पाचन र मेटावोलिजम प्रक्रिया हुन्छ र दुषित पदार्थ जम्मा हुन्छ। खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः लिन्छ भने २ प्रतिशतलाई पिसाबको रुपमा फाल्छ।
शरीरको शरीरको भित्री वातावरण तथा सोडियम, पोटासियम र एसिडको सन्तुलन मिलाउने काम मिर्गौलाले नै गर्छ। मिर्गौलाले रेनिन नामक एन्जाइम उत्पादन गर्छ, जसले रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ। साथै, मिर्गौलाले शरीरमा रगत बनाउन आवश्यक इरिथ्रोपोइटिन हर्मोन पनि उत्पादन गर्छ।
मिर्गौला रोगको लक्षण
कतिपय अवस्थामा मिर्गौला रोगको लक्षण नै नदेखिन पनि सक्छ। तर लक्षण देखिएको अवस्थामा क्रोनिक मिर्गौलाको रोग लागेमा पिसाबसम्बन्धी समस्या देखिन्छ। पिसाब दिनमा भन्दा राति बढी हुने, फिँज आउने र पिसाब कम हुँदै गएर शरीर सुन्निन थाल्छ। हात–खुट्टा वा मुख सुन्निने समस्या देखिन्छ। शरीरमा पानी जम्मा हुन थालेमा श्वासप्रश्वासमा पनि समस्या हुन थाल्छ।
मिर्गौलामा समस्या भइसकेपछि रगतको कमी हुन थाल्छ। जसले गर्दा काम गर्न जाँगर नलाग्ने, थोरै हिँड्दा पनि थकाइ लाग्ने, स्वाँ–स्वाँ हुनेजस्ता लक्षण देखिन्छन्।
युरिया र क्रियाटिनिनको मात्रा बढ्दै गएपछि खान मन नलाग्ने, वाकवाक लाग्ने, सास फेर्न गाह्रो हुने र सास फेर्दा पिसाबको गन्ध आउने लक्षण देखिन्छ। यस्तै दुब्लाउँदै जाने वा शरीर सुन्निएर मोटाएको जस्तो देखिन्छ। क्रियाटिनिन र युरियाको मात्रा बढ्दै गएमा मिर्गौला रोगले ब्रेनलाई पनि असर पुर्याउँछ।
मिर्गौला रोगको कारण
मिर्गौलामा मुख्य दुई खाले समस्या हुन्छ। एक्युट किड्नी इन्जुरी अर्थात् अचानक मिर्गौलामा क्षति र क्रोनिक किड्नी डिजिज अर्थात् दीर्घकालीन मिर्गौलाको रोग। तर हरेक एक्युट किड्नी इन्जुरी क्रोनिकमा परिणत हुनसक्छ।
एक्युट किड्नी इन्जुरीका कारण
–झाडापखाला
–संक्रमणका कारण सेप्सिस हुनु
–पेनकिरलको प्रयोग
–तीव्र ग्लोमेरुलोनेफ्राइटिस
क्रोनिक किड्नी इन्जुरीका कारणहरु
–मधुमेह
–उच्च रक्तचाप
–मिर्गौलाका फिल्टर सुन्निने
–मिर्गौलाको बीचको टिस्युको रोग
–जन्मजात मिर्गौलाको रोग
–मिर्गौलाको संरचनागत समस्या (एउटा मात्र मिर्गौला हुनु)
– जंक फुडको बढी प्रयोग
–कम पानी पिउने बानी
– शारीरिक व्यायाम नगर्ने बानी
–मोटोपन
– धूमपान र मदिरापान
–केही औषधिको प्रयोगको कारण
उच्च रक्तचापको बिरामीले नियमित औषधि नखाएमा पनि मिर्गौला बिग्रन सक्छ। अटोइम्युन र जन्मजात मिर्गौलाको रोग रोकथाम गर्न सकिँदैन। मिर्गौला बिग्रने अर्को कारण मिर्गौलामा पत्थरी हुनु पनि हो। यस्ता बिरामीले नियमित मिर्गौला जाँच र चिकित्सकको सल्लाह अनुसार पत्थरीको उपचार गराउनुपर्छ। एक्युट किड्नी इन्जुरी तत्काल उपचार गर्दा निको हुन्छ। यस्तै प्रोस्टेटमा पनि समयमै उपचार गरेर मिर्गौला जोगाउन सकिन्छ।
मिर्गौला रोग रोकथामका लागि जीवनशैली नै स्वस्थकर बनाउन आवश्यक छ। त्यसका लागि खानपिनमा ध्यान दिने, नियमित व्यायाम गर्ने, जंकफुड सकभर नखाने तथा शरीरको तौल नियन्त्रण गर्ने गर्नुपर्छ।
मिर्गौलाको जाँच कसरी गरिन्छ ?
पिसाबको जाँच
पिसाबमा एल्बुमिन अर्थात प्रोटिन र आरबीसी अर्थात् रगत छ कि छैन जाँच गरिन्छ। पिसाबमा यो देखिएमा मिर्गौला बिग्रिएको संकेत हुनसक्छ।
रगत परीक्षण
मधुमेह वा उच्च रक्तचापको बिरामीले आरएफटी वा केएफटी जाँच गर्नुपर्छ। यसमा युरिया, क्रियाटिनिन र सोडियम, पोटासियम जाँच गरिन्छ।
अल्टासाउण्ड
अल्टासाउण्डबाट मिर्गौलाको आकार र संरचना हेर्न सकिन्छ।
यी जाँचबाट मिर्गौलाको रोग पत्ता लगाउन सकिन्छ र समयमै उपचार सुरु गर्न सकिन्छ।
-(प्राडा राजेन्द्रकुमार अग्रवाल नर्भिक अस्पतालमा चिफ कन्सल्टेन्ट नेफ्रोलोजिस्टको रुपमा कार्यरत छन्।)