कुनै समय यस्तो थियो, जब प्यान्क्रियाटिक क्यान्सर भएको खबर सुन्नु भनेको उपचारका सम्भावनाहरू अत्यन्त सीमित हुनुजस्तै मानिन्थ्यो। यो रोग लागेपछि बिरामी र परिवारका लागि भविष्य धेरै हदसम्म अनिश्चित र निराशाजनक देखिन्थ्यो। आज पनि प्यान्क्रियाटिक क्यान्सर चिकित्सा विज्ञानका लागि ठूलो चुनौती नै हो। तर वैज्ञानिकहरूको निरन्तर अनुसन्धान, नयाँ औषधिको विकास र व्यक्तिगत उपचारतर्फ (Precision medicine)) बढिरहेको चिकित्सा विज्ञानका कारण यो रोगलाई अझ प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिने र भविष्यमा निको पार्ने सम्भावनासमेत बढ्दै गएको आशा देखिन थालेको छ।
यही सन्दर्भमा गत महिना द न्यू इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित एक अनुसन्धानले क्यान्सर विज्ञानको संसारमा ठूलो चर्चा सिर्जना गर्यो। विश्वका ६ देशका ५९ अस्पतालमा करिब पाँच सय बिरामीमा गरिएको RASolute 302 परीक्षणले प्यान्क्रियाटिक क्यान्सरका बिरामीलाई दिइएको नयाँ औषधि daraxonrasib ले परम्परागत उपचारको तुलनामा उल्लेखनीय रूपमा राम्रो नतिजा दिन सक्ने देखायो।
यो सामान्य वैज्ञानिक उपलब्धि मात्र होइन। दशकौँदेखि निराशाजनक मानिएको रोगको उपचारमा नयाँ ढोका खोल्न सक्ने सम्भावनाका रूपमा यस अनुसन्धानलाई हेरिएको छ।
किन यति घातक छ प्यान्क्रियाटिक क्यान्सर?
प्यान्क्रियाज पेटको पछाडिपट्टि रहेको एउटा महत्त्वपूर्ण अंग हो, जसले पाचनका लागि आवश्यक इन्जाइम र शरीरमा चिनीको मात्रा नियन्त्रण गर्ने इन्सुलिन उत्पादन गर्छ। यस अंगमा क्यान्सर सुरु हुँदा धेरैजसो अवस्थामा कुनै स्पष्ट लक्षण देखिँदैन। न त सुरुमै विशेष दुखाइ हुन्छ, न त शरीरमा देखिने कुनै गाँठो। त्यसैले रोग लामो समयसम्म चुपचाप बढिरहन सक्छ।
समस्या के हो भने, जब बिरामीले पेट वा ढाड दुख्ने, भोक कम लाग्ने, अकारण तौल घट्ने, वा आँखा र छाला पहेँलो हुने जस्ता लक्षण अनुभव गर्न थाल्छन्, त्यतिबेलासम्म रोग प्रायः धेरै अगाडि बढिसकेको हुन्छ। यही कारण प्यान्क्रियाटिक क्यान्सरलाई समयमै पहिचान गर्न कठिन मानिन्छ।
विश्वव्यापी तथ्यांकअनुसार प्यान्क्रियाटिक क्यान्सर लागेका बिरामीमध्ये करिब १३ प्रतिशत मात्र पाँच वर्षसम्म जीवित रहन्छन्, जसले यस रोगको गम्भीरता स्पष्ट रूपमा देखाउँछ।
प्यान्क्रियाटिक क्यान्सर: केही महत्त्वपूर्ण तथ्य
■ पाँच वर्षे जीवित रहने दर: १३ प्रतिशत
■ शल्यक्रिया सम्भव हुने बिरामी: १५–२० प्रतिशत
■ KRAS उत्परिवर्तन देखिने दर: करिब ९० प्रतिशत
■ Daraxonrasib परीक्षणमा सहभागी बिरामी: ५००
■ mRNA खोपको प्रारम्भिक अध्ययन: १६ बिरामी
शल्यक्रिया अझै केन्द्रमा
अहिलेसम्मको अवस्थामा प्यान्क्रियाटिक क्यान्सरबाट निको हुने सम्भावना दिने प्रमुख उपचार शल्यक्रिया नै हो। तर सबै बिरामीमा यो सम्भव हुँदैन।
निदानका बेला केवल १५–२० प्रतिशत बिरामीमा मात्र शल्यक्रिया गर्न मिल्ने अवस्था हुन्छ। बाँकीमा रोग वरपरका रक्तनली वा शरीरका अन्य अंगमा फैलिसकेको हुन्छ।
Whipple अपरेसन जस्ता जटिल शल्यक्रियाहरूले केही बिरामीलाई दीर्घकालीन जीवन दिन सक्छन्, तर आधुनिक उपचार अब शल्यक्रियामा मात्र सीमित छैन।
बदलिँदो सोच: अपरेसनअघि नै उपचार
पछिल्ला वर्षहरूमा एउटा ठूलो परिवर्तन देखिएको छ। पहिले क्यान्सर देखिएपछि तुरुन्त शल्यक्रिया गरिन्थ्यो। अहिले धेरै बिरामीलाई शल्यक्रियाअघि नै कीमोथेरापी दिइन्छ।
यसले ट्युमर सानो बनाउन, शरीरमा लुकेका क्यान्सर कोशिकालाई नियन्त्रण गर्न र शल्यक्रियाको सफलता बढाउन मद्दत गर्छ।
'आजको क्यान्सर उपचारमा प्रश्न केवल ‘अपरेसन गर्न मिल्छ कि मिल्दैन’ भन्ने होइन। प्रश्न यो हो- बिरामीका लागि सबैभन्दा सही समयमा, सही क्रममा, सही उपचार के हो?'
एकल चिकित्सकबाट टोलीगत उपचारतर्फ: 'एमडीटी'को किन छ महत्त्व?
विश्वका प्रमुख क्यान्सर केन्द्रहरूमा अहिले मल्टीडीसीप्लीनरी टीम (एमडीटी) प्रणाली मानक बनिसकेको छ।
सर्जन, मेडिकल अन्कोलोजिस्ट, रेडियोलोजिस्ट, पाथोलोजिस्ट र रेडिएसन विशेषज्ञहरू एउटै टेबलमा बसेर प्रत्येक बिरामीबारे छलफल गर्छन्।
अनुसन्धानहरूले देखाएका छन् कि यस्तो टोलीगत निर्णयले उपचारको गुणस्तर र दीर्घकालीन नतिजा सुधार गर्छ।
जिनेटिक परीक्षणले बदल्दैछ उपचार
प्यान्क्रियाटिक क्यान्सरका अधिकांश बिरामीमा KRAS जिनमा उत्परिवर्तन हुन्छ। BRCA1/2 वा MSI-H जस्ता अन्य आणविक परिवर्तनहरूले पनि उपचारको दिशा निर्धारण गर्न सक्छन्।
यसैले अहिले उपचारको केन्द्रबिन्दु “सबैलाई एउटै उपचार” होइन, “प्रत्येक बिरामीलाई उसको ट्युमर अनुसारको उपचार” बन्दै गएको छ। यसलाई नै Precision Medicine भनिन्छ।
Daraxonrasib: दशकौँको खोजीपछि प्राप्त उपलब्धि
RASolute 302 परीक्षणमा सहभागी बिरामीहरू पहिले नै उपचार गरिसकेका थिए, तर रोग फेरि बढिरहेको थियो। यस्तो अवस्थामा उपचार विकल्प सीमित हुन्छ।
यस्ता बिरामीमध्ये एक समूहलाई daraxonrasib र अर्को समूहलाई परम्परागत कीमोथेरापी दिइयो। नतिजाले धेरैलाई चकित बनायो।
Daraxonrasib समूहमा मध्य जीवित अवधि १३.२ महिना रह्यो, जबकि कीमोथेरापी समूहमा यो ६.६ महिना थियो।
साथै बिरामीहरूले कम साइड इफेक्ट भोगे र दैनिक जीवन अपेक्षाकृत सहज रूपमा बिताउन सके।
यस औषधिको विशेषता के हो भने यसले KRAS pathway लाई लक्षित गर्छ- जसलाई लामो समयसम्म “undruggable target” मानिएको थियो।
किन यो अनुसन्धान महत्वपूर्ण छ?
पहिलो पटक KRAS pathway लाई प्रभावकारी रूपमा लक्षित गर्ने औषधिले ठूलो चरण-३ परीक्षणमा सफलता देखाएको छ।
यसले भविष्यमा अन्य KRAS-सम्बन्धित क्यान्सर उपचारका लागि पनि मार्ग खोल्न सक्छ।
खोपले शरीरलाई आफ्नै क्यान्सरसँग लड्न सिकाउँदै
न्युयोर्कको मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरका डा. विनोद बालाचन्द्रन र उनकी टोलीले अर्को रोचक बाटो रोजे।
उनीहरूको प्रश्न सरल थियो- किन केही बिरामी लामो समयसम्म बाँच्छन्?
अध्ययनले देखायो कि ती बिरामीहरूमा ट्युमरविरुद्ध सक्रिय T-cells धेरै थिए। यही आधारमा प्रत्येक बिरामीको ट्युमरको DNA विश्लेषण गरेर व्यक्तिगत mRNA खोप बनाइयो। यो खोपले शरीरको प्रतिरक्षा प्रणालीलाई सिकाउँछ- क्यान्सर कोशिकालाई चिन र नष्ट गर।
१६ बिरामीमा गरिएको प्रारम्भिक अध्ययनमा ८ जनामा बलियो प्रतिरक्षा प्रतिक्रिया देखियो। तीमध्ये ७ जना चारदेखि ६ वर्षसम्म जीवित रहेको रिपोर्ट गरिएको छ।
यद्यपि यो प्रारम्भिक अध्ययन हो र यसको प्रभावकारिता पुष्टि गर्न ठूलो परीक्षण आवश्यक छ।
'क्यान्सर उपचारको भविष्य केवल क्यान्सर काटेर निकाल्नुमा सीमित नहुन सक्छ; भविष्य शरीरलाई क्यान्सर चिन्न र आफैं लड्न सिकाउने दिशातर्फ पनि जाँदैछ।'
नेपालका लागि सन्देश
यी उपचारहरू अहिले नेपालमा उपलब्ध छैनन्। तर यसको अर्थ नेपालले केही गर्न सक्दैन भन्ने होइन।
समयमै रोग पहिचान गर्नु, बहु-विशेषज्ञ टोलीमार्फत उपचार गर्नु, र आवश्यक अवस्थामा जिनेटिक परीक्षणलाई उपचार योजनामा समावेश गर्नु- यी कदमले अहिले नै ठूलो फरक पार्न सक्छन्। पेट दुख्ने, तौल घट्ने, आँखा पहेँलो हुने वा अचानक मधुमेह देखिने जस्ता लक्षणलाई बेवास्ता गर्नु हुँदैन।
अन्त्यमा
प्यान्क्रियाटिक क्यान्सर अझै पनि चिकित्सा विज्ञानका सबैभन्दा कठिन चुनौतीहरूमध्ये एक हो। तर दशकौँदेखि निराशाजनक देखिएको यो क्षेत्रमा अहिले नयाँ आशाका किरणहरू देखिन थालेका छन्।
नयाँ लक्षित औषधि, व्यक्तिगत खोप, र जिनेटिक आधारमा गरिने उपचारले सम्भवतः आगामी दशकमा प्यान्क्रियाटिक क्यान्सरको उपचारको स्वरूप नै परिवर्तन गर्न सक्छ।
विज्ञानले अन्तिम उत्तर अझै दिएको छैन। तर धेरै वर्षपछि पहिलो पटक प्रश्नहरूभन्दा आशा बढी देखिन थालेको छ।
-(ग्यास्ट्रोइन्टेस्टाइनल तथा हेपाटोप्यान्क्रियाटोबिलियरी सर्जन डा लौडारी काठमाडौं मेडिकल कलेज, सिनामंगलमा कार्यरत छन्।)