काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पतालमा अध्ययनरत रेजिडेन्ट चिकित्सकहरूलाई २४ घन्टे ड्युटीपछि अनिवार्य रूपमा बिदा दिने व्यवस्था लागू गरिएको छ।
न्याम्सका सहायक डीन प्रा. डा. विकास विक्रम सिंह अधिकारीले जारी गरेको परिपत्रअनुसार रेजिडेन्ट चिकित्सकहरूले २४ घन्टे ड्युटी पूरा गरेपछि बिहानको राउण्ड सकिएलगत्तै बिदा पाउनेछन्। उक्त व्यवस्था सम्बन्धित सबै विभाग तथा कार्यक्रमलाई कार्यान्वयनका लागि जानकारी गराइएको छ।
एमडी/एमएस/एमडीएस तथा डीएम/एमसीएच कार्यक्रमका संयोजकहरूलाई सम्बोधन गर्दै जारी गरिएको परिपत्रमा रेजिडेन्ट चिकित्सकहरूको कार्यघण्टा व्यवस्थापन तथा उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको उल्लेख छ।
चिकित्सा क्षेत्रमा लामो समयदेखि रेजिडेन्ट चिकित्सकहरूले अत्यधिक कार्यभार तथा लामो ड्युटी अवधि भोग्दै आएको गुनासो गर्दै आएका थिए। नयाँ व्यवस्थाले रेजिडेन्ट चिकित्सकहरूको कार्य वातावरण सुधार्न तथा बिरामी सेवाको गुणस्तर अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
न्याम्स प्रशासनले परिपत्र तत्काल कार्यान्वयनमा ल्याउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएको जनाएको छ।