पोखरा- गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि स्वास्थ्य क्षेत्रतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। सोमबार गण्डकी प्रदेश सभाको बैठकमा आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले प्रस्तुत गरेको बजेट वक्तव्यमा विशेषज्ञ तथा विशिष्टीकृत स्वास्थ्य सेवा विस्तार, स्वास्थ्य पूर्वाधार विकास, मातृ तथा नवशिशु स्वास्थ्य सुधार, नसर्ने रोग नियन्त्रण तथा स्वास्थ्य बीमा कार्यक्रमलाई प्राथमिकता दिइएको छ।
बजेटअनुसार विशेषज्ञ तथा विशिष्टीकृत स्वास्थ्य सेवाको विस्तार तथा सुदृढीकरणका लागि प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल र गण्डकी आयुर्वेद अस्पताल, कास्कीको भवन निर्माणका लागि ६ करोड रुपैयाँ विनियोजन गरिएको छ।
त्यसैगरी, मध्यविन्दु प्रादेशिक अस्पताल नवलपुर र गोरखा अस्पतालमा सिटी स्क्यान मेसिन खरिदका लागि १० करोड रुपैयाँ छुट्याइएको छ। प्रदेश सरकार मातहतका अस्पतालका लागि एम्बुलेन्स खरिद गर्न ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको मन्त्री शेरचनले बताए।
प्रदेश सरकारले “वर्तमान स्वास्थ्य सरोकार, नसर्ने रोगको पहिचान र उपचार” अभियान तथा “हरेक बिहान योग र ध्यान” नारासहित नसर्ने रोगको समयमै पहिचान, उपचार र व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। योग, ध्यान, मानसिक स्वास्थ्य सचेतना तथा स्वस्थ जीवनशैली प्रवर्द्धनका लागि समेत आवश्यक बजेट व्यवस्था गरिएको छ।
“मातृ र नवशिशु स्वास्थ्यमा सुधार, समुन्नत भविष्यको मूल आधार” भन्ने ध्येयअनुसार मातृ तथा नवशिशु स्वास्थ्य सेवा विस्तार तथा स्वास्थ्य संस्था सुदृढीकरणलाई प्राथमिकतामा राखिएको छ। बालबालिकामा बाथ मुटुरोग पहिचान (रुम्याटिक हार्ट डिजिज स्क्रिनिङ) कार्यक्रम सञ्चालनका लागि पनि बजेट विनियोजन गरिएको छ।
महामारी तथा जनस्वास्थ्य जोखिमविरुद्धको पूर्वतयारी, प्रतिकार्य र स्वास्थ्य सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन समुदायस्तरसम्म एकीकृत निगरानी प्रणाली विस्तार गरिने भएको छ। यस कार्यक्रमका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहन रकमलाई निरन्तरता दिइएको छ भने रगत तथा रक्तजन्य पदार्थको निःशुल्क उपलब्धता, क्यान्सर रोग उपचारमा आर्थिक सहायता, स्वास्थ्य बीमा कार्यक्रम तथा जोखिममा परेका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धारका लागि ६ करोड ६० लाख रुपैयाँ छुट्याइएको छ।
नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निर्धारित मापदण्डका आधारमा आधारभूत अस्पतालमा मेडिकल अधिकृतको व्यवस्था, सामुदायिक नर्सिङ कार्यक्रम सञ्चालन तथा सुदृढीकरण, साथै स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि विभिन्न तालिम कार्यक्रम सञ्चालन गरिने बजेट वक्तव्यमा उल्लेख छ।
प्रदेश सरकारले स्वास्थ्य सेवा सुदृढीकरण, पूर्वाधार विकास र नागरिकको स्वास्थ्य पहुँच विस्तारलाई प्राथमिकता दिँदै स्वास्थ्य क्षेत्रका लागि कुल ३ अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ।

