काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको रिक्त उपाध्यक्ष पदको नियुक्तिमा भएको ढिलाइप्रति गम्भीर आपत्ति जनाएका छन्। आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले सरकार विभिन्न स्वार्थ समूहको प्रभावमा परेको आरोप समेत लगाएका छन्।
उनले सो पदमा तत्काल निष्पक्ष र योग्य व्यक्तिको नियुक्ति नगरिए पुनः सत्याग्रह सहितका आन्दोलनका कार्यक्रम सुरु गर्ने चेतावनी दिएका छन्।
डा. केसीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर तथा सबै नागरिकको समतामूलक पहुँच सुनिश्चित गर्न आयोगको नेतृत्व सक्षम हुनुपर्नेमा जोड दिएका छन्। राजनीतिक दल वा निजी चिकित्सा संस्थाहरूसँग आबद्ध भई 'स्वार्थ बाझिने' उम्मेदवारहरू सो पदका लागि आफूलाई कुनै पनि हालतमा स्वीकार्य नहुने उनले स्पष्ट पारेका छन्।
'सो पदमा निष्पक्ष रूपमा योग्यता, दक्षता, अनुभव र स्वच्छ छविका आधारमा मात्र छनोट भएका व्यक्तिलाई अविलम्ब नियुक्त गर्न सरकारको पुनः गम्भीर ध्यानाकर्षण गराउँदछु,' विज्ञप्तिमा भनिएको छ, 'अन्यथा सत्याग्रहसहितका आन्दोलन गर्न बाध्य हुने कुरा जानकारी गराइन्छ।'
लामो समयदेखि शिक्षा, स्वास्थ्य, सुशासन र सामाजिक न्यायका लागि संघर्षरत रहेको स्मरण गराउँदै डा. केसीले देशको स्वास्थ्य र शिक्षा क्षेत्रका चुनौती र तिनको समाधानका उपाय समेटेर यसअघि नै प्रधानमन्त्री, सम्बन्धित मन्त्रीहरू र संसदीय समितिमा ज्ञापनपत्र बुझाइसकिएको बताएका छन्। उनले उक्त ज्ञापनपत्र उपर अविलम्ब आवश्यक कारबाही अगाडि बढाउन समेत सरकारसँग जोडदार माग गरेका छन्।
हेरौं डा केसीको विज्ञप्तिको पूर्णपाठ
प्रेस विज्ञप्ति
चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर र त्यसमा सबै नेपाली नागरिकहरूको समतामूलक पहुँचको सुनिश्चितता गर्न बनेको चिकित्सा शिक्षा आयोगको रिक्त रहेको उपाध्यक्षको पदको नियुक्तिमा ढीलाइले बालेन सरकार विभिन्न स्वार्थ समूहको प्रभावमा परेको प्रस्ट अनुभव हुन्छ।
राजनीतिक र निजी संस्था लगायत अन्य स्वार्थपरक समूहसँग आबद्ध उम्मेदवारहरू (स्वार्थ बाझिने) हामीलाई स्वीकार्य हुने छैन। तसर्थ सो पदमा निष्पक्ष रूपमा योग्यता, दक्षता, अनुभव र स्वच्छ छविका आधारमा मात्र छनोट भएका व्यक्तिलाई अविलम्ब नियुक्त गर्न सरकारको पुन: गम्भीर ध्यानाकर्षण गराउँदछु। अन्यथा सत्याग्रह सहितका आन्दोलन गर्न बाध्य हुने कुरा पुन: जानकारी गराइन्छ।
हामी लामो समयदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारलगायत सुशासन र सामाजिक न्यायको लागि पनि संघर्षरत रहेको तथ्य सरकारलाई पुन: अवगत गराउन चाहन्छौँ।
नेपालका स्वास्थ्य र शिक्षा क्षेत्रका वस्तुस्थिति, चुनौती र समाधानका लागि सल्लाह, सुझाव र मागहरू समेत समेटेर प्रधानमन्त्री, सम्बन्धित मन्त्रीहरू र संसदीय समितिमा बुझाइएको ज्ञापनपत्र उपर आवश्यक कारबाही अगाडि बढाउन सरकारलाई अनुरोध गरिन्छ।
प्रा.डा.गोविन्द केसी,
काठमाडौं,
२०८३ जेठ ३१।