म बागलुङको धौलागिरी प्रादेशिक अस्पतालको बालरोग विभागमा विगत २ वर्षदेखि मेडिकल अधिकृतका रूपमा सेवा गर्दै आएको छु। दैनिक उपचारका क्रममा मैले एउटा गम्भीर र चिन्ताजनक समस्याको सामना गर्नुपरेको छ, बालबालिकामा बिना पर्ची एन्टिबायोटिक र स्टेरोइडको अनियन्त्रित प्रयोग।
यो समस्या अब कुनै एक परिवार वा गाउँमा सीमित छैन; यो बागलुङ जिल्लाभरिको सार्वजनिक स्वास्थ्यका लागि गम्भीर खतरा बन्दै गएको छ।
स्थानीय चिकित्सक भएको नाताले, ओपीडी बाहेक पनि बाहिरी सल्लाहका लागि हरेक दिन धेरैजसो अभिभावकहरू आफ्ना नानीबाबुहरूलाई साधारण ज्वरो, खोकी, पखाला भयो भन्दै भेट्न आउनुहुन्छ वा फोन/म्यासेजमार्फत सल्लाह माग्नुहुन्छ। धेरैजसोमा एउटा समान पृष्ठभूमि देखिन्छ :
“डाक्टर साहेब, हामीले पहिले नै फलानो फार्मेसी/पसलबाट औषधि खुवाएका छौँ, तर काम गरेन,”
वा “केही महिना अघि हजुरले चलाउनुभएको औषधि घरमै थियो, अहिले प्रयोग गर्यौँ, तर ठिक भएन।”
किन यस्तो भइरहेको छ भनेर सोध्दा, कारणहरू पनि प्रायः उस्तै हुन्छन् :
- ओपीडीमा लामो लाइन र ढिलाइ हुनु
- छिटो र सजिलो उपचारको चाहना
- बागलुङको ग्रामीण भेगमा गाडी छिटो छुट्ने बाध्यता
- “अघिल्लो पटक यही औषधिले ठिक गरेको” भन्ने विश्वास
- बजारमा अरू काम परेकाले अस्पताल देखाउन नभ्याउनु
तर म सधैं दोहोर्याएर भन्छु- “सजिलो र छिटो उपचार” को खोजीले हामी भोलि ठूलो स्वास्थ्य संकटतर्फ अघि बढिरहेका छौँ।
मुख्य कुरा के बुझ्न जरुरी छ भने करिब ६०–७० प्रतिशत बालबालिकाको ज्वरो र खोकी भाइरल संक्रमणका कारण हुन्छ, जहाँ एन्टिबायोटिकले कुनै काम गर्दैन। तर जाँचबिनै एजिथ्रोमाइसिन, सेफिक्सिम, एमोक्सिसिलिन जस्ता एन्टिबायोटिक प्रयोग गरिन्छ।
यसको परिणामस्वरूप :
- पखाला, बान्ता, पेट दुखाइ हुन्छ
- शरीरमा रहेका राम्रा ब्याक्टेरिया नष्ट हुन्छन्
- रोग भित्रभित्रै लुक्छ (Masked Infection)
सबैभन्दा गम्भीर कुरा, एन्टिबायोटिक प्रतिरोध (Antibiotic Resistance) बढ्छ, जसले निकट भविष्यमा साँच्चै आवश्यक पर्दा एन्टिबायोटिकले कामै नगर्न सक्छ
साधारण भाषामा भन्नुपर्दा, आज अनावश्यक रूपमा खाइने एन्टिबायोटिकले भोलि जीवन बचाउन आवश्यक पर्दा काम नगर्न सक्छ। भाइरल संक्रमणमा एन्टिबायोटिक खानु भनेको पूर्व जानुपर्ने मान्छे पश्चिमतर्फको बस चढेझैँ हो।
यति मात्र होइन, केही केसमा त अवस्था अझ चिन्ताजनक देखिन्छ। अभिभावकले फार्मेसीबाट ल्याएको “ज्वरो–खोकीको औषधि” मा डेक्सामेथासोन वा प्रेडनिसोलोनजस्ता स्टेरोइड मिसिएका हुन्छन्। यसले—
- बच्चाको प्रतिरोधात्मक क्षमता घटाउँछ
- संक्रमण भित्रभित्रै फैलिँदै जान्छ
भविष्यमा टीबी, निमोनिया जस्ता गम्भीर रोग लुक्ने जोखिम बढाउँछ
यहाँ म एकदम स्पष्ट हुन चाहन्छु। हाम्रो जस्तो हिमाली र दुर्गम जिल्लामा फार्मेसी र फार्मासिस्टहरू स्वास्थ्य सेवाका आधारस्तम्भ हुन्। दशकौँदेखि उनीहरूले समुदायलाई सेवा दिँदै आउनुभएको छ। डाक्टर नपुगेका ठाउँमा उनीहरू नै पहिलो सहारा बन्नुभएको छ। यस सेवालाई म व्यक्तिगत रूपमा सम्मानका साथ हेर्छु।
तर, जस्तै हरेक क्षेत्रमा हुन्छ, यहाँ पनि केही अपवादहरू छन्। केही फार्मेसीमा देखिएका गलत अभ्यासहरू यस्ता छन्-
- बिना चिकित्सकीय जाँच एन्टिबायोटिक दिनु
- अभिभावकको दबाबमा परेर शक्तिशाली औषधि बिक्री गर्नु
- “पहिले खाएको” भन्दै उही औषधि फेरि दिनु
- डाक्टरको पर्चीमा नभएका औषधि थपिदिनु
यी कुराले सम्पूर्ण फार्मासिस्ट समुदायलाई दोष लगाउने होइन, तर केही व्यक्तिका यस्ता अभ्यासले सम्पूर्ण पेशाको मान–सम्मानमाथि प्रश्न उठाएको छ। यसतर्फ हामी सबै सचेत हुनैपर्छ।
यदि आज सचेत भएनौँ भने, हामी बिस्तारै Post-Antibiotic Era (एन्टिबायोटिक पछिको युग) तर्फ जानेछौँ, जहाँ सानो संक्रमणले पनि ज्यान लिन सक्छ।
यसको जिम्मेवारी कुनै एक पक्षको मात्र होइन, हामी सबैको साझा दायित्व हो।
अभिभावकहरूलाई:
- सुरुमै ज्वरो आउँदा डराउनु पर्दैन
- सरकारी अस्पतालमा निःशुल्क पाइने प्यारासिटामोल घरमै राखेर सल्लाहअनुसार प्रयोग गर्नुहोस्
- प्रशस्त तरल पदार्थ खुवाउनुहोस् र आराम गराउनुहोस्
- फार्मेसीमा गएर आफैं एन्टिबायोटिक नमाग्नुहोस्
- २–३ दिनभन्दा बढी ज्वरो रहेमा डाक्टरलाई अवश्य देखाउनुहोस्
- सम्मानित फार्मासिस्ट साथीहरूलाई:
- हामी साथी हौँ, विपक्षी होइनौँ
- बालबालिकाको स्वास्थ्यसँग जोखिम नलिनुहोस्
- शंकास्पद केसहरू डाक्टरकहाँ पठाउनुहोस्
- बिना पर्ची एन्टिबायोटिक र स्टेरोइड बिक्री नगर्नुहोस्
- तपाईंहरूको इमानदार सेवाले समुदायको विश्वास अझ बलियो बनाओस्
स्थानीय प्रशासन र स्वास्थ्य निकायहरूलाई:
- औषधि व्यवस्था विभागमार्फत नियमित अनुगमन
- नीति कार्यान्वयनमा पारदर्शिता
- जनचेतनामूलक कार्यक्रमहरू सघन रूपमा सञ्चालन
बागलुङका साना केटाकेटीहरूको भविष्य तपाईं–हामी सबैको हातमा छ। फार्मासिस्ट, डाक्टर र अभिभावक, तीनै पक्षको सहकार्य नै यसको समाधान हो। हामी एक–अर्काका विरोधी होइनौँ, साथी हौँ।
आउनुहोस्, आजैदेखि सचेत बनौँ र सुरक्षित भविष्य निर्माण गरौँ।
(डा केसी धौलागिरी प्रदेश अस्पताल, बागलुङको बालरोग बिभागमा कार्यरत छन्)